(गल्ती सबैबाट हुन्छ । त्यो गल्तीबाट पाठ सिक्ने मान्छे सुखी हुन सक्ला । गल्तीबाट अगाडि बढ्ने मान्छेले प्रगति गर्न सक्ला । अनुभूति नगर्ने मानिसका दुःख नजाने निश्चित छ । पहिले गल्ती गरेर पछि पाठ सिक्नेमा पर्छन् सुमन लामा तामाङ । पढ्न छाडेपछि कामको खोजी गर्दा जे भेटे त्यही गरे । पहिलेको गल्ती सुधारेर अहिले लाइनमा छन् । २६ वर्षे उदयपुरका युवा सडक पाइलट सुमनले हालैमात्र यात्रुबाहक बस चलाएका छन् । सुमनले साँघु प्रतिनिधिसंग सडक पाइलटसंगको अन्तरंगमा अहिलेसम्मको जिन्दगी यसरी खोलेका छन् –सम्पादक)
० गाडीलाइनमा कहिलेदेखि हुनुहुन्छ ?
–भयो १० वर्षजति ।
० कसरी आउनु भयो गाडी लाइनमा ?
–घर उदयपुर हो । ८ कक्षासम्म पढियो । त्यसपछि पढ्न मन लागेन । साथीहरूको संगतले पढिएन । घरमै बसिरहेको थिएँ । त्यसपछि साथीहरूसंग घुम्न भनेर काठमाडौं आइयो । यहाँ आएपछि फर्किन मनले मानेन । भिनाजु गाडी लाइनमा हुनुहुन्थ्यो । उहाँले नै छिराउनु भयो गाडीलाइनमा ।
० के गर्नुभयो पहिले ?
–पहिले त उही त हो सीप थिएन । ढोकामा बसियो । टिपरमा काम गरियो ६ महिना । काठमाडौंदेखि मेलम्ची चल्ने टिपर थियो । त्यसपछि आफै सिकेर चलाउन थालें ।
० के चलाउनु भयो ?
–मैले पहिले माइक्रोबस एक बर्षजति काठमाडौंमा चलाएँ । त्यसपछि सुमो गाडी चलाएँ एक वर्षजति । काठमाडौं–रामेछाप–सोलु चलाएँ । त्यसपछि मैले ६ वर्षजति इशान गाडी (टिपर) चलाएँ । अनि अहिले बस चलाउँदैछु । यो त भर्खरै चलाइरहेको हुँ । एक हप्ता पनि भएको छैन ।
० त्यति लामो समय चलाएको टिपर किन छोड्नु भयो त ?
–खानीको काम हो । खानी पनि बन्द भयो । काम हुँदै भएन । निरन्तर बिना काम बस्नुभन्दा भनेर टिपर छाडें । १०–१२ दिन गाउँमा गएँ । त्यहाँ काम पनि थियो । अनि आएर खाली बस्न हुन्न भनेर बा १ ख ८२८७ नम्बरको यात्रुबाहक बचाउन थालेको हुँ । अब बस नै चलाउने ।
० चलाउन टिपर मज्जा कि बस ?
–मज्जा त टिपर नै हुन्छ नि । यात्रुहरूको अधिनमा चलाउनु पनि पर्दैन । आफ्नै रुट हुने आनन्द । यात्रु बोक्नु सजिलो काम हैन । जस्ता पनि हुन्छन् यात्रु । पहिले पनि हैरान भएर छाडेर टिपरमा आइयो । टिपर नै बन्द भएपछि फेरि पुरानैमा नफर्किइ भएन । पछुतो मानेर हैन सामना गरेर अगाडि बढ्ने हो । लामो रुटमा भने आनन्द नै हुन्छ यात्रु बोक्दा पनि । लामो रुटमा एउटा नियम र रोक्ने निश्चित स्थान हुन्छ । सानो रुटमा छिनछिनमा यात्रुसंग सम्पर्क भइरहनु पर्दा कठिन ।
० ट्राफिक प्रहरीको ब्यवहार कस्तो छ नि ?
ट्राफिक प्रहरी त हामीलाई कसरी कार्वाही गर्न सकिन्छ भनेर सोचिरहन्छ । भनेको ठाउँमा रोक्न पाइँदैन । मान्छे पनि राख्न पाइँदैन । कोटेश्वरमा हेर्नुभयो भने त मान्छे झार्न पनि दिँदैन । मान्छे चढाउन त परैको कुरा ।
० ट्राफिक प्रहरीसंग लेनदेन पनि हुन्छ र ?
–पहिले हुन्थ्यो । सानो गल्ती भयो कि लेनदेनले मिलाइन्थ्यो । आजकल सीधै चिट काट्छ ।
० के रैछ ड्राइभरको जिन्दगी ?
–के हुनु नि सडकमा दुनियाँको गाली खायो गाडी चलायो । यस्तो लाग्छ कि (हाँस्दै) दुनियाँको गाडी खाँदै बित्ने भो जिन्दगी । सेवा गरेअनुसार हामीलाई पनि सम्मान हुनुपर्ने हो । त्यस्तो छँदै छैन । पहिले पहिले नयाँ नयाँ रुटमा जाँदा भने खुवै सम्मान गर्दथे । विशेषगरी मन्थलीतिर । सोलुतिर । आजकल कहीं पनि छैन सम्मान ।
० कसका कारणले छैन सम्मान ?
–गाडीलाइन नै यस्तै भएर होला । आफ्नै कारणले । पहिला राम्रो हुनु र अहिले बिग्रिनु त आफ्नै कारणले । स्कूलमा सरले पढाउँदा विद्यार्थीले राम्रो पढ्थे । सरकारले सम्मान पाउँथे । पछि विद्यार्थी अलिअलि जान्ने भएपछि त्यो सम्मान दिन छाड्दै गए । घाटा विद्यार्थीलाई नै भयो ।
० कमाइ चाहिं कस्तो छ त ?
–पहिले जस्तो छैन । छैन भनेर पछि हट्ने कुरा भएन । जानेको सीप यही हो । यसलाई राम्रो बनाएर लैजाने हो । विदेश पनि जाने सोच छैन ।
० कति छन् सन्तान ?
–एउटा छोरी एउटा छोरा । अब यिनीहरूलाई पढाउने हो । आफूले त पढिएन । त्यसैले मिलाएर गर्नुपर्छ ।
० भोलिका दिनमा के गर्नुहुन्छ ?
–सोच त अब आफैले गाडी किनेर चलाउने हो । तर, लाइन अहिले अलमल छ । गाडी धेरै भए । आम्दानी कम छ । सरकारले खासै केही गर्ने हैन । यो लाइनमा मान्छे पनि मिश्रित छन् । त्यसैले सम्मान पनि कम छ । धेरैजसो घाँसखाने पनि छन् । त्यसैले होला दुर्घटना पनि बढी भएको । तर आफू त केही खाइन्न पनि दुर्घटना अहिलेसम्म भएको छैन पनि । अब मिलाएरै काम गर्नुपर्छ ।




