🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अब नेपाली जाग्नुपर्छ, विदेशी जागेर हुँदैन

( नेकपाका अध्यक्ष केपी ओलीको नेतृत्वको सरकारले विदेशी लगानी भित्र्याउन २०७५ चैत १५ र १६ गते लगानी सम्मेलन ग¥यो । सम्मेलनमा उल्लेख्य लगानीकर्ताहरूको उपस्थिति रहेको र प्रतिबद्धता आएको भन्दै सरकार उत्साहित देखिएको छ । तर, यसअघिका लगानी सम्मेलनको नियति दोहोरिने चिन्ता पनि उत्तिकै देखिएको छ । यसपटकको लगानी सम्मेलन खासमा कस्तो रह्यो ? के विदेशी लगानीकर्ताको मन नेपालले जितेको हो ? समृद्ध नेपाल, सुखी नेपालीको सरकारी नारालाई यो सम्मेलनले भरथेग गर्ला ? यिनै र यस्तै प्रश्नको वरिपरि रहेर हामीले नेपाल भ्रमण वर्ष–२०२० का कोअर्डिनेटर तथा नेपाल उद्योग बाणिज्य महासंघका पूर्वअध्यक्ष समेत रहेका वरिष्ठ उद्योगी सुरज वैद्यसँग कुराकानी गरेका छौं । प्रस्तुत छ, कुराकानीको सम्पादित अंशः सम्पादक)

० लगानी भित्र्याउन सरकारले आयोजना गरेको २ दिने लगानी सम्मेलन सकिएको छ । सहभागिताको दृष्टिले यो कस्तो रह्यो ?

–म पनि यो कमिटीमा सक्रिय थिएँ । सुरुमा हामीलाई सम्मेलन उत्साहप्रद होला या नहोला भन्ने द्विविधा थियो । हामीसँग समय पनि पर्याप्त थिएन । उता संसद् पनि चलिरहेको थियो । सरकारी साथीहरूले पर्याप्त समय नदिने हुन् कि भन्ने भय हामीमा थियो । तर, छोटो अवधिमै सम्मेलन भव्य बन्यो । 

० सम्मेलन भव्य बन्यो भन्नुभयो । त्यसका केही आधार पनि छन् कि ?

–यसभन्दा अगाडि सन् २०१७ को लगानी सम्मेलनलाई नै हेरौं । त्यतिबेला २५० लगानीकर्ता जुटेका थिए । तर, यसपटक ७३३ लगानीकर्ता सहभागी बनेको तथ्यांक आएको छ । यसअघि २५ वटा मुलुक सहभागी भएकोमा यसपटक यो बढेर ४० पुगेको छ । यति मात्रै होइन, स्वदेशी लगानीकर्ताहरूको उपस्थिति पनि उत्तिकै उल्लेख्य रह्यो । त्यसैले सहभागिताको दृष्टिले यो सफल भएको मेरो विश्लेषण छ । 

० वामपन्थीहरूको सरकार बनेपछि विदेशी लगानी कम आएको खबरहरू प्रकाशमा आएका थिए । विदेशी लगानीकर्ता विश्वस्त बनेका हुन् अब ? 

–हो, विगतमा अन्योलता थिए । हामी नेपालमै बस्नेहरूलाई पनि देशको संक्रमणकाल देखेर सोच विचार गरेर मात्रै काम गर्नुपर्ने अवस्था थियो । तर, अब राजनीतिक संक्रमण अन्त्य भएको छ । संविधानको कार्यान्वयनमा हामी प्रवेश गरेका छौं । प्रदेश र स्थानीय तहहरूले धमाधम काम गरिरहेका छन् । यसले साँच्चै विश्वास जागृत गराएको छ । यसपटकको लगानी सम्मेलनलमा पनि अविश्वासको बादल हटेर विश्वास जागृत भएको देखिएको छ । 

० लगानी सम्मेलनमा छिमेकी मुलुक चीन र भारतको उल्लेख्य सहभागिता देखियो । तर बेलायत, अमेरिकालगायत देशहरूको उपस्थिति अलि न्यून रह्यो । यसलाई कसरी बुझ्ने ? 

–छिमेकीले बढी र टाढाका मुलुकले कम चासो देखाउनु स्वभाविक नै हो । अरु मुलुकमा पनि छिमेकी देशहरूकै लगानी बढी हुन्छ । जस्तो युरोपियन युनियनको लगानी युरोपभित्र नै रहन्छ । त्यहाँ राम्रै विकास भएको हामी देख्न सक्छौं । नेपालमा पनि चीन र भारतका लगानीकर्ताले चासो देखाएका छन्, यो सकारात्मक छ । 

० हाम्रा छिमेकीका नियतसँग जोडेर पनि पनि प्रश्न उठाउने गरिन्छ नि ? 

–भारत र चीनका लगानीकर्ता नेपालमा आउँछु भन्नु राम्रो कुरा हो । छिमेकीको यो सहभागिताले राम्रो सन्देश दिएको छ । यसमा अनावश्यक शंका पाल्न जरुरी छैन । बरु छिमेकीको लगानी गर्ने उत्सुकतालाई भरपूर प्रयोग गर्न लाग्नु सबैको हितमा छ ।  

० भनेपछि अब लगानी ओइरिने भयो नेपालमा ? 

लगानी गर्न तयार छौं भनेर लगानीकर्ताहरू आउनु भएको छ । ७० भन्दा बढी परियोजनाहरू हामीले दिएका थियौं । मैले बुझेअनुसार, २० वटामा साथीहरूले उत्सुकता देखाउनु भएको छ । यसर्थ उपस्थिति र चासो उत्साहजनक रह्यो । यसको मतलब अब लगानी आइहाल्छ भनेर हामी ढुक्क भएर बस्न हुँदैन । त्यसका लागि निरन्तरको प्रयत्न जरुरी हुन्छ । 

० यो सम्मेलनको सबैभन्दा ठूलो उपलब्धि के–के हुन् ? 

–नेपालमा लगानी नभित्रिनुको कारण महँगो जग्गा पनि हो । महँगो जग्गा त्यो पनि पर्याप्त नहुँदा लगानीकर्ता विकर्षित भइरहेका थिए । यसपटक प्रदेश सरकारहरू आफैंले परियोजनाहरू पठाएका छन् । यसमा जग्गा उपलब्ध गराउनेदेखि अन्य स्रोत र साधन उपलब्ध गराउने प्रतिबद्धता आएको छ । यस पटकको यो राम्रो पक्ष हो । काठमाडौंमा गरिएको यो सम्मेलनमा सबै प्रदेशका मुख्यमन्त्रीहरू पनि आउनु भयो ।

यसअघि निजगढको मात्रै कुरा आएको थियो । तर यसपटक धनगढी र विराटनगरका परियोजनाहरूको पनि कुरा आयो । कृषिदेखि सिमेन्ट उद्योगसम्मका प्रस्ताव आउनु र उद्योगलाई जग्गा दिने प्रतिबद्धता मिल्नु ठूलो उपलब्धि हुन् । हरेक काम गर्दा केही न केही कमजोरी हुन्छ । तर विदेशी लगानीकर्ता भित्र्याउनका लागि यो सम्मेलन कोशेढुंगा भएको छ । 

० लगानीकर्ताहरूबाट प्रतिबद्धता आउने तर त्यसअनुरुप लगानी नआउने रोग विगतदेखि नै रहँदै आएको छ । यसअघिको लगानी सम्मेलनमा जति प्रतिबद्धता जनाइयो त्यो अनुरुप लगानी आएन । यसपटकको सम्मेलन पनि त्यस्तै हुने हो कि ? 

–हामीले लगानी भित्र्याउने चाहेका हौं भने सबैभन्दा पहिले नेपाली जाग्नु पर्छ । विदेशी जागेर हुँदैन । हामीले अब पटक पटक विदेशीलाई लगानी गर्नूस् भनेर आह्वान गर्नुपर्छ । विगतमा विदेशी लगानी नआउनमा विभिन्न समस्याले काम गरेका थिए । ती समस्यालाई हल गर्नेतर्फ पनि उत्तिकै चनाखो हुनुपर्छ । मन्त्रालयहरूले समयमा काम नगर्ने समस्या पनि रहँदै आएको छ । कसैले लगानी गर्न चाहन्छ भने त्यसलाई तत्कालै सहजीकरण गर्ने काम सरकारले गर्नुपर्छ । 

० प्रतिबद्धताअनुरुपका लगानी भित्र्याउन सरकारले अब गर्नुपर्ने कामहरू के–के होलान् ? 

–यो सम्मेलन अपेक्षाअनुरुप सफल भएको छ । यसमा धेरै प्रतिबद्धताहरू आएका छन् । आएका प्रतिबद्धताहरूलाई व्यवहारमा उतार्न गम्भीरतापूर्वक लाग्नुपर्छ । पहिलो त आएका परियोजना अघि बढाउन एउटा फलोअप कमिटीको ब्यवस्था तत्कालै गर्नुपर्छ । विभिन्न खालका लगानीकर्ताहरूले नेपालमा लगानीको इच्छा देखाएका छन् । उनीहरूलाई कसरी अगाडि बढाउने भन्ने विषयमा रणनीति बनाउन जरुरी छ ।

प्रतिबद्धता जनाएका लगानीकर्ताहरू लगानीका लागि नआउने प्रवृत्ति थियो । सरकारले पनि प्रतिबद्धता जनाएका लगानीकर्ताहरू नआउँदा खोजीनीति गर्ने काम गरेको थिएन । यसले प्रतिबद्धता अनुरुपको लगानी भित्र्याउन नकारात्मक भूमिका खेलेको थियो । अब रणनीति बदल्नु पर्छ । यदि प्रतिबद्धता जनाएका कुनै लगानीकर्ता आएनन् भने उहाँहरूकै देशमा गएर भए पनि पुनः लगानीका लागि आह्वान गर्न पनि हामी पछि पर्नु हुँदैन । फलोअप कमिटीमार्फत निरन्तर आएका प्रतिबद्धतामाथि निगरानी हुनेछ भन्ने विश्वास मैले लिएको छु ।

० विदेशी लगानी भित्र्याउन तामझाम गरेको सरकारले स्वदेशी लगानीकर्तालाई कम आँकेको गुनासो पनि सुनिन्छि । यो गुनासोबारे तपाईंको धारणा के छ ? 

–बिलकुल गलत धारणा हो । सरकारले लगानीका लागि स्वदेशी लगानीकर्तालाई भाउ दिएन भन्नेहरूलाई मेरो प्रश्न छ– सरकारले हामी नेपालीलाई लगानी नगर भनेर कहिले भनेको छ ? कहिल्यै पनि भनेको छैन । त्यसैले यो निजी क्षेत्रको गुनासो मात्रै हो । 

० आत्मनिर्भर रहेका कतिपय क्षेत्रमा लगानी भित्र्याइयो । यसो नगरेको भए हुन्थ्यो भन्ने तर्कको जवाफ कसरी दिनुहुन्छ ? 

–मैले पनि यदाकदा यस्तो गुनासो सुन्ने गरेको छु । वास्तवमा यो कुनै वस्तुसंगत तर्क होइन । यदि आत्मनिर्भर थियो भने त्यसमा नेपालीले किन लगानी गरेनन् त ? यहाँ नदीमा पानी बगेकोबग्यै छ । ८६ हजार मेगावट विद्युत्त उत्पादन गर्ने क्षमता नेपालसँग छ भने आज किन यो केही हजारमा मात्रै  सीमित भयो ? यदि हामी आत्मनिर्भर थियौं भने त्यो किन बनाएनौं ? आजको नेपालमा जसरी बाटो बनेको छ, के त्यसमा हामी सफल भएका छौं त ? एउटा बाटो र एयरपोर्ट बनाउन किन वर्षौं लागिरहेको छ ? त्यसैले हामीले कसरी काम गर्दा जनतालाई फाइदा पुग्छ भनेर हेर्न जरुरी छ । 

० त्यसो त विदेशीले जिम्मा लिएका योजनाहरूको हालत पनि त उस्तै छ नि त होइन र ? 

–केही आयोजनाको प्रगति अपेक्षा अनुरुप नभएका होलान् । तर, समग्रमा विदेशी लगानीकर्तामाथि प्रश्न उठाउने ठाउँ म देख्दिनँ । विश्वका धेरै देश विदेशी लगानीकर्ताले बनाएकाले हामीले उनीहरूप्रति विश्वास गर्नुपर्छ ।

० तपाईंको मतलब हामी स्वदेशी लगानीकर्ता पूर्णरुपमा सक्षम छैनौं भन्ने हो ? 

–नेपाली लगानीकर्ता असक्षम छन् भनेर मैले भन्न खोजेको होइन । तर नेपाली निजी क्षेत्र गुनासो मात्रै गर्ने खालको छ । नेपालको खरीद ऐनमै नेपालमा बनेको सामग्री महँगो भए पनि यहीँको किन्ने भन्ने उल्लेख छ । नेपाल सरकारले स्वदेशी उद्यमीको संरक्षणका लागि ऐनमा यस्तो व्यवस्था गरेको हो । तर हामी आफ्नो गुणस्तर वृद्धि गर्न छाडेर गुनासो मात्रै गरिरहेका छौं । यो गलत भयो ।

० विदेशी लगानी ल्याउँदा स्वदेशी लगानीकर्ता डराउनुपर्ने अवस्था छैन उसो भए ? 

–विलकुल छैन । हामीमा अरुभन्दा राम्रो गर्न सक्छौं भन्ने बल जाग्ने हो भने हामीलाई कसैको प्रवेशले कुनै असर पर्नेवाला छैन । फेरि हामी नेपाली भाषा बोल्छौं, यहाँको रहनसहन बुझ्छौं । विदेशीले भन्दा हामीले नेपालका कुना–कन्दरा, शहर, बजार बुझेका छौं । त्यसैले यहाँ अरुले भन्दा बढी हामीले नै गर्न सक्छौं । अब मसँग क्षमता छैन, केही गर्न सक्दिनँ भनेर कुण्ठा पाल्ने हो भने केही गर्न सकिँदैन । यसर्थ विदेशीको प्रवेशलाई लिएर नेपाली डराउनुपर्ने म कुनै कारण देख्दिनँ । सिंगापुरकै कुरा गर्नुस्, त्यो विदेशीले नै बनाएका हुन् ।

० सरकारले सुखी नेपाली समृद्ध नेपालको नारा लिएको छ । यो नाराले सार्थकता पाउला त अब ? 

–यो पनि हामीमै भर पर्छ । यो सरकारले भन्दा पनि हामीमा  भर पर्छ । हामी जिम्मेवार भएर सरकारले ल्याएको सुखी नेपाली समृद्ध नेपालको नारा सार्थक पार्न लाग्यौं भने सार्थक रुप लिनेछ । यदि यसमा सबै वर्ग नलाग्ने हो, हातमा हात र काँधमा काँध राखेर अघि बढौं । यसरी अघि नबढ्ने हो भने सरकार एक्लैले भनेर नेपाल समृद्ध हुँदैन ।