काठमाडौं कात्तिक १८। कात्तिक १५ गते काठमाडौंमा बुधबार दुईजना भारतीयहरुलाई अटोमेटेड अत्याधुनिक पेस्तोल र त्यसमा लाग्ने प्रसस्त गोलीहरु सहित नेपाल प्रहरीले पक्राउ गरेको घटनाका बारेमा राष्ट्रिय जन मोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एक बक्तब्य जारी गर्दै बह्नेका छन्–''प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सुरक्षाको संवेदनशीलताको बेलामा ती दुई जना भारतीयहरुले हतियारले फायरिङग गरेको अवस्थामा भेटिनु गम्भीर कुरा हो । यसले राज्यको कमजोर सुरक्षा स्थितिलाई बताउँछ । सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन हामीले जोड दिन्छौं ।''
''नेपालका लागि भारतीय राजदूत मनजीव सिंह पुरी यतिबेला २ नं. प्रदेशका जिल्लाहरुमा निर्वाचनलाई प्रभावित पार्न सक्रिय भएका समाचारहरु आइरहेका छन् । यो सबैलाई थाहा भएको कुरा हो कि भारतीय विस्तारवादले नेपालको राजनीतिमा हस्तक्षेप गर्दै आएको छ । नेपाली जनताले बनाएको संविधान अहिलेसम्म त्यसले स्वीकार गरेको छैन । यो संविधानलाई कार्यान्वयन हुन नदिन र यसअन्तर्गत हुने निर्वाचनलाई असफल बनाउन वा मधेशवादीसहितको नेपाली कांग्रेसको गठबन्धनलाई सहयोग गर्न भारत सक्रिय रहेको छ । पहाडबाट तराईलाई अलग गराउन दबाव दिन नाकाबन्दी ग¥यो । ५ नं. प्रदेशका तराईका जिल्लाहरुलाई पहाडबाट अलग गर्न ठूलो कसरत ग¥यो । यी कुरामा भारत असफल बन्दै गएको छ । गत स्थानीय चुनावमा भारतीय विस्तारवादका अग्रदस्ता बनेका मधेशवादीहरुलाई मधेशी जनताको कति समर्थन रहेछ प्रष्ट भएको छ ।''
''नेपाली कांग्रेससहितको गठबन्धनलाई जिताउनको लागि राजदूत पुरी सक्रिय भएका हुन् । भारतीय विस्तारवादको हस्तक्षेपकारी भूमिकालाई नेपाल सरकारले रोक्नुको सट्टा त्यसबारे अमूक रहनुको अर्थ हो त्यसलाई मौन समर्थन गर्नु । सरकारले यसप्रकारको कार्यलाई मौन समर्थन गर्ने कुराप्रति हाम्रो गम्भीर आपत्ति छ र त्यसको हामीले विरोध गर्दछौं । सुरक्षाको स्थिति मजबुत पार्न र राजदूत पुरीका त्यसप्रकारका क्रियाकलाप तत्काल रोक्न हामी सरकारसंग आग्रह गर्दछौं'' राष्ट्रिय जन मोर्चाका अध्यक्ष चित्र बहादुर केसीले १८ गते प्रकाशित बक्तब्यमा उल्लेख गरेका छन्।



