काठमाडौं, १० बैशाख । अस्थायी शिक्षक केन्द्रीय संघर्ष समिति–२०६९ ले राज्यले तीसौं हजार अस्थायी शिक्षकहरुलाई रोजगारविहीन बनाएको भन्दै थप आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ ।
मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै समितिले कुनैपनि बहानामा अस्थायी शिक्षकहरुलाई विस्थापित नगर्न र पटक–पटक आन्तरिक परीक्षा दिने व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।
आफूहरुले अघि सारेका मागहरु तत्काल सम्बोधन गर्नुपर्ने समितिको जिकिर छ । समितिले माग पूरा गराउनको लागि अनवरत रुपमा चल्दै आएको भद्रकाली (काठमाडौं) को धर्ना कार्यक्रम यथावत राखेको र बैशाख ११ र १२ गते शिक्षा मन्त्रालयलगायत सम्बन्धित निकायमा ध्यानाकार्षण पत्र बुझाउने कार्यक्रम राखेको जानकारी दिएको छ ।
त्यस्तै, समितिले यही बैशाख १३ गते शुक्रबार काठमाडौंको भद्रकालीदेखि नयाँ बानेश्वरसम्म विशाल जुलुस प्रदर्शन गर्ने र आन्दोलनका थप कार्यक्रम बैशाख १३ गते घोषणा गर्नेपनि जनाएको छ ।



