काठमाण्डौ ११ बैशाख । सरकारले २०७५ फागुन २८ गते प्रतिबन्ध लगाएपछि विप्लव नेतृत्वको नेकपा रक्षात्मक अवस्थामा पुगेको छ ।
प्रतिबन्ध लगत्तै नेकपाविरुद्ध प्रहरीले चलाएको धरपकडको अभियानका क्रममा १ सय ८० जना नेता तथा कार्यकर्ता पक्राउ परेको प्रहरीले बताएको छ । पक्राउ पर्नेमा मध्ये कमाण्ड इन्चार्ज तथा स्थायी समिति सदस्य हेमन्त प्रकाश ओली ‘सुदर्शन’ पोलिटब्यूरो सदस्य मोहन कार्की‘जीवन्त’ केन्द्रीय सदस्य बसन्त श्रेष्ठ ‘प्रज्वल’ र बन्धु चन्दलगायतका नेता रहेका छन भने अन्य जिल्ला तथा स्थानीय नेता तथा कार्यकर्ताहरु रहेका छन् ।
नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले धमाधम पक्राउ गर्न थालेपछि नेकपामा रक्षात्मक अवस्था आएको एकजना केन्द्रीय नेताले सा“घुलाई बताए । उनले भने ‘जिल्ला मुनिका अधिकांश कार्यकर्ताहरुको भावना एक्सनमा जाने हुँदाहुँदै पनि नेतृत्वले निर्णय गर्न नसक्दा स्थिति जटिल बनेको छ ।’ सानातिना एक्सनले पार्टीको बद्नाम मात्र भएको बताउदै ती नेताले भने ‘चन्दा उठाउन एक्सन ग¥यो भन्ने बुझाई बलियो हुन थालेकाले पार्टीभित्रै अलमल छ ।’
महासचिव विप्लवमाथि यतिबेला सरकारसंग वार्ता गर्न दवाव बढेको स्रोतको भनाई छ । प्रतिबन्धपछि सांगठनिक अवस्था कमजोर हुँदै गएको, कार्यकर्ताहरुलाई सेल्टरको समेत समस्या भएको जस्ता समस्याहरु देखिन थालेकाले एक पटक वार्तामा बस्ने कि भनेर छलफल सुरु भएको स्रोतको दाबी छ । सरकारसंग वार्ताका लागि पोलिटब्यूरो सदस्य पदम राईको नेतृत्वमा केही केन्द्रीय सदस्यहरुले महासचिव विप्लवलाई दबाव दिइरहेका छन ।
प्रहरीले पक्राउ गरेपछि केही महिना जेलमा बसेर सर्वोच्च अदालतको आदेशले रिहा भएका दोस्रो बरियताका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ माथिको आन्तरिक कारबाही फुकुवा गरेर जिम्मेवारीमा फर्काउनु पर्ने माग पनि प्रकाण्ड निकटले गरेको खबर छ ।
प्रकाण्ड निकटहरुले उनलाई मध्ये कमाण्डको इन्चार्ज बनाएको हल्ला फैलाउने गरेका छन । तर, प्रकाण्ड माथिको कारबाही फुकुवा भयो भने उनलाई मध्य कमाण्डकै जिम्मेवारी दिन सक्ने सम्भावना प्रवल रहेको नेकपा निकट एक नेताले बताए ।
पार्टीभित्र गुट निर्माण गरेर विवादमा आएका प्रकाण्ड २०७५ साउन २२ गते ललितपुरको चाल्नाखेलबाट पक्राउ परेर २०७६ असोज ९ गते रिहा भएका थिए ।
विभिन्न उद्योगपति, व्यवसायीलगायतबाट अवैधरुपमा करीव ७ करोड चन्दा असुल गरेको आरोपमा प्रहरीले प्रकाण्डलाई पक्राउ गरेको थियो । प्रकाण्डबाट प्रहरीले गोप्य दस्तावेजहरु पनि बरामद गरेको थियो । तिनै गोप्य दस्तावेजका आधारमा प्रहरीले नेकपाका विप्लव समूहका धेरै गोप्य कुराहरु थाहा पाउदा पार्टीलाई नोक्सान भएको बुझाई नेता तथा कार्यकर्तापंक्तिको थियो ।
पार्टी महासचिव विप्लवले हाललाई राजधानी काठमाण्डौ नजान सुझाएका थिए । तर, प्रकाण्डले महासचिवको सुझावलाई समेत लत्याउदा पक्राउ परेको पार्टीमा चर्चा चलेको थियो ।




