काठमाडौं । महाराजा श्री ५ महेन्द्र शाहको क्रान्तिकारी भूमिसुधार ऐन लागू भएपछि रसुवा जिल्ला हाकु गाविसका स्वयम्भू घ्याङ गुठीका मोहिया वा गुठी जमिन कमाउनेहरूले कुत तिर्न नमानेपछि हाकु गाविसका ती गुठियारहरूले लालपूर्जा पाउन सकेका थिएनन् । त्यसबीचमा गुठीका किसानहरूले विभिन्न ढंगबाट आन्दोलन पनि गरे । त्यसपछि सर्वाेच्च अदालतमा भू–स्वामित्वका लागि रिट निवेदन पनि दर्ता गरेका हुन् । तर, सर्वाेच्च अदालतले ‘धार्मिक गुठी’ मास्न नपाउने फैसला सुनायो । त्यसपछि भूमाफियाका दलालहरूमार्फत रैकर बनाउन चलखेल पनि गरे । दलालहरूले किसानहरूलाई लालपूर्जा बनाईदिन्छु भनि गुठियार किसानबाट लाखौं रुपैया“ ठगी गरेको र केही गुठीका जग्गाहरू रसुवा जिल्ला मालपोत अड्डास“गको मिलेमतोमा रैकरमा दर्ता पनि गर्न पनि सफल भए । तर त्यसको पर्दाफास पनि भयो ।
हाल रसुवा जिल्ला मालपोत कार्यालयले(भूमिसुधार) ती गुठियार मोहियाहरूलाई जग्गा धनी स्वयम्भू घ्याङ उल्लेख गरी ६० धुरीलाई लालपूर्जा वितरण गरेको समाचार छ । हाकु गाविसको ९ वडामध्ये ७ वडाको जग्गाहरू स्वयम्भू घ्याङ गुठी(काठमाडौं)को राजगुठीमा दर्ता भएको जग्गा हो । हाल ६० धुरीले गुठी मोहियाको लालपूर्जा पाएतापनि अन्य मोहीयाहरूले पाईसकेको अवस्था छैन ।
नेपालको भूमिसुधार ऐनले गुठी जग्गा मास्ने अधिकार दिएको छैन । गुठी सम्बन्धी ऐनहरूले गुठीको वर्गीकरण गरेको छ । नेपालको गुठी परम्परा लिच्छवी मल्ल र खस साम्राज्यको पाला देखिनै हो । यो सामाजिक परम्परा पनि हो । राजगुठी, सार्वजनिक गुठी, छुट गुठी वा निजी गुठीहरू पनि छन् । राज्य वा निजी क्षेत्र अनि समुदायले पनि मठ–मन्दिर तथा घ्याङ गुम्बाको चीरपर्यत्नकालसम्म नित्य तथा बार्षिक तिथी मितिको पूजापाठ सञ्चालन गर्न गुठीको व्यवस्था गरेको देखिन्छ । त्यस्तो गुठीको व्यवस्था राजा महाराजा वा राज्यले व्यवस्था गर्दा पनि कुनै सार्वजनिक सन्धिसर्पन वा निजी जमिनलाई हस्तक्षेप गरेका होइनन् । राज्यको पर्दी जग्गालाई तोकी गुठियार किसानलाई व्यवस्थापन गरेका हुन् । निजी क्षेत्रले आफ्नो हकभोगको जग्गा र समुदायले सार्वजनिक जग्गाहरू गुठीमा राखेका हुन् ।
रसुवाका हाकु गाविसका गुठीका मोहियाहरूले लालपूर्जाको अभावमा भूकम्पपीडितहरूले पाउने पुनर्निर्माण कार्यको सरकारी अनुदान लिन नसक्ने भएका थिए । मुख्य कारण ती गुठीका मोहियाहरूले बर्षाैं–बर्षदेखि गुठीको कुत बुझाउन इन्कार गर्दै आएका हुन् । त्यो हिसाब किताब अहिले बुझाउन नसक्ने स्थिति देखेर जम्मा जम्मी पा“च हजार सरदरमा बुझाएर गुठी मोहियाको लालपूर्जा दिलाएको देखिन्छ ।
स्वयम्भू घ्याङ गुठीको व्यवस्था वडामहाराज पृथ्वीनारायण शाह, प्रतापसिंह शाह, रणबहादुर शाह, गीर्वाणयुद्ध विक्रम शाह, सुरेन्द्र विक्रम शाह, राजेन्द्र विक्रम शाहहरूबाट व्यवस्था गरेको र श्री ३ महाराज जंगबहादुर राणा र श्री ३ चन्द्र शमशेर समेतले थमौतीको आदेश जारी गरेका हुन् । तर, श्री ३ जंगबहादुर राणाकालमा धेरै घ्याङ गुठीको जग्गा काभ्रे जिल्लाको पनौति भगवती मन्दिर, सिन्धुपाल्चोकको तौथलीमाईको मन्दिर र दोलखाको भीमेश्वर(महादेव) मन्दिर र रामेछापको आलम्पुर भीमेश्वर मन्दिरम गाभिएको पनि मानिन्छ । तर रामेछापको आलमपुर भीमेश्वर गुठीमा स्वयम्भु घ्याङ गुठीको जग्गा समावेश गरेको भन्ने कुरा तथ्यपरक नभएको भन्ने गरिन्छ । किन कि त्यो गुठी वडामहाराजधिराज पृथ्वीनारायण शाहले नेपाल खाल्डोभन्दा पूर्वतर्फ एकीकरणको गोर्खा अभियान सञ्चालन गर्दै व्यवस्था गरेका हुन् । त्यसैलाई रणबहादुर शाह र गिर्वाण युद्ध विक्रम शाहले पनि थमौति र सदर गरेका हुन् । त्यो लालमोहर दस्तावेज साक्षात प्माणको रुपमा रहेको दाबी पूर्व गुठीका अन्तिम तालुकदार हरि बहादुर थापामगरको छ । जग्गा नापी भएपछि जिल्ला मालपोतले गुठी जग्गाको तिरो पनि मालपोतले उठाउने गरेको छ । तर कतिपय गुठी जग्गा निजीकरण गर्दै ‘रैकर’ मा परिणत गराई सकेका छन् । उता दोलखा जिल्लाको चरिघ्याङका गुठीहरू भीमेश्वरमा गाभिएका छन् । रामेछापको डोग्मे घ्याङ र १२ तेमालको गुठी भने धर्मका लामा(देवधर्म)को निजी खुवामा दर्ता भएको थियो ।
समाजमा आलम्पुर भीमेश्वर रामेछाप गुठी र दोलखा भीमेश्वर गुठीलाई बोलिचालीमा ‘भीमसेन गुठी’ भन्ने भ्रम पनि फैलिएको छ । नेवार पूजारीहरूले आफ्नो ‘कुल देवता’ भन्ने गरेको ‘भीमसेन महाराज’लाई दोलखाको भीमेश्वर(महादेव) र रामेछापको आलम्पुर भीमेश्वर(महादेव) मन्दिरको बगलमा स्थापना गरी रा“गा, बोका र कुखुरा, हा“स समेतको पूजाआजा चलाउने परम्परा बसालेका पनि छन् । बडादशैंमा ती भीमेश्वर(महादेव)को नजिक कालीका दुर्गादेवी र भीमसेन महाराजको नाम गुठीकै रकम–कलमबाट बलि पूजा पनि चढाउने गरिन्छ ।
स्वयम्भू घ्याङ गुठीको अनेक जग्गा जमिनहरू राणाकालमै भूमिको माटोको हिसाबले बिजन दर्ता गराउ“दा पनि घ्याङका पुजारी लामाहरूले आ–आफ्नै नाममा दर्ता गरि ‘फूलबारी‘ भनि थोरै जग्गा देखाएको पाइन्छ । शाह शासकले भने गुठीको उठौति फरकै किस्तामा राख्नु र त्यो रकम दरबारको खर्चमा नपठाउनु भन्ने कडा आदेश दिएको कुरा दस्तावेजबाट थाहा हुन्छ । किनभने गुठीको रकम मासिएमा सन्तानमा खिया लाग्छ भन्ने मान्यता रहेको थियो । त्यस्तै वर्तमान शासकहरूले पनि गुठीको जग्गामा नजर लगाउनु हु“दैन भन्ने गरिन्छ ।




