काठमाडौं । नेकपाका अध्यक्ष प्रचण्डले अढाई वर्षपछि प्रधानमन्त्रीका लागि गरिएको सहमतिलाई सार्वजनिक गरेर अहिलेबाट नै दाबीविरोध गरिरहेका छन् । बेला न कुबेला रहस्यमय ढंगले प्रधानमन्त्रीको आलोपालोको प्रसंग निकाल्ने प्रचण्डले त्यस्तो समय रोजे जुन समयमा प्रधानमन्त्री केपी ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट गरेर कार्यकाल सफलताका लागि शुभ कामना दिंदै थिए ।
प्रचण्डको यो रणनीतिक कुरा जति बाहिर देखिएको छ र उनी बलियोझै लाग्छ उनको आफ्नै घर (पूर्व माओवादी केन्द्र)मा भने निकै भाँडभैलोको अवस्था रहेको छ । छोरी रेणु दाहाल र वुहारी विना मगरको प्रतिस्पर्धाले घरमा किचलो बढिरहेको छ । आमा सीता दाहालको समर्थन र उक्साहटमा बुहारी विनाले घरमा छोरीहरुलाई कहिल्यै राम्रो मानिनन् ।
कतिसम्म भने, प्रचण्ड प्रधानमन्त्री भएका बेलामा रेणु दाहालहरुलाई कार्यालयमा भेट्न समेत हम्मेहम्मे पर्दथ्यो । पारिवारिक स्रोतका अनुसार, त्यो रोक्ने काम प्रकाश दाहालले गर्थे विना मगरको उक्साहटमा । त्यो गुनासो साथीभाईसंग सेयर गर्दथिन् रेणु दाहाल । अहिले चितवन महानगरको मेयर रहेकी दाहाल घरपरिवारमा प्रभावी बन्न थालेकी छिन् ।
हिजो प्रधानमन्त्रीकालमा बुबा प्रचण्डसंग भेट गर्न समेत धौःधौ पर्ने गंगा दाहाल अहिले स्वकीय सचिव बनेकी छिन् । गंगा अध्यक्ष प्रचण्डको स्वकीय सचिव भएको फाइदा रेणुलाई पनि भएको छ । विना अहिले जसरी पनि पैसा कमाउने ध्याउन्नमा लागेको आरोप खेप्दै आएकी छिन् । मन्त्री विना प्रचण्ड निवास खुमलटारमा रहेपनि राजनीतिक र प्रशासनिकलगायत खानेपानी मन्त्रालय सम्बन्धी अचेल खासै छलफल गर्दिनन् । प्रचण्ड निवास निकट स्रोतका अनुसार, त्यही भएर मेलम्चीको मुद्दामा प्रचण्डले मुख खोलेर नै बोलेका थिए केही दिन पहिला ।
मेलम्चीका ठेकेदारसंग पैसा मागेर मन्त्री मगरले समस्या पारेको कुरा मिडिया छरपस्ट भएको थियो । त्यसपछि भागेको इटालीयन कम्पनीको सन्दर्भमा प्रचण्डलाई समेत अवगाल आइलागेको थियो । केही दिन अघि केही मान्छेहरुले मेलम्ची आउन नदिने षडयन्त्र भइरहेको बताएका थिए । स्रोत भन्छ, घरझगडाको संकेतका रुपमा प्रकट भएको यो कुरामा अहिले प्रचण्ड पनि मन्त्री विनाको ब्यवहार, कार्यशैलीबाट सन्तुष्ट छैनन् ।
यसै कारण पारिवारिक काममा समेत विनाको सहभागिता आवश्यक ठानिएको छैन भन्ने कुरा प्रचण्ड–सीताको ५० औं विवाह महोत्सवमा उनको नाम निसान राखिएन । जनयुद्धकालमा ज्यान हत्केलामा राखेर लड्ने, भिड्नेहरुलाई पाखा पार्दै विनाको कुनै त्याग, योगदान, हैसियत नभएपनि पार्टीभित्र आलोचना खेप्दै, खतरा मोलेर प्रचण्डले मन्त्री बनाए । निकै मायाँ गरेर जुनियर भएपनि आफ्नो कोटामा मन्त्री बनाएपछि विनाको अहंपनले सीमा नाघेको महसुस प्रचण्ड परिवारले गर्ने गरेको स्रोत बताउछ ।
प्रचण्डले राजनीतिमा पनि छोरीहरुलाई अगाडि सार्ने प्रयास गरिरहेका छन् । त्यसैले प्रचण्डले छोरा प्रकाशकी श्रीमती सिर्जना त्रिपाठीको व्यवस्थापनमा पनि ध्यान दिन थालेको स्रोत बताउछ । स्रोतका अनुसार, प्रचण्डले सिर्जनालाई लाजिम्पाटको घरमा बस्न आग्रह समेत गरिसकेका छन् । सिर्जनाका एक मात्र छोरा प्रचण्डसंगै बस्छन् भने सिर्जना बाहिर डेरा गरेर बस्छिन् ।
अहिलेसम्म लाजिम्पाटको प्रचण्ड निवास खाली नै छ । तर, सम्पत्तिको भागबण्डा खोजेर सिर्जनाले लाजिम्पाटको घरमा जान मानेकी छैनन् । सिर्जनालाई समर्थन गर्नेमा भने प्रचण्डका दुई छोरी रेणु र गंगा दाहाल रहेको स्रोत बताउछ । माता सीता दाहालको स्वास्थ्य कमजोर भएसंगै विनाको शक्ति पनि प्रचण्ड परिवारमा कमजोर हुँदै गएको छ ।




