काठमाडौं । सवारी दुर्घटनामा मानिसको मृत्यु भएपछि प्रहरीकै मिलेमतोमा नक्कली सवारी चालक खडा गर्ने प्रवृत्ति बढेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसलाई गम्भीरतापूर्वक लिएर छानबिन सुरु गरेको छ । पछिल्लो पटक अख्तियारले १० लाख रुपैयाँ घुस लिएर नक्कली चालक खडा गरी मुद्दा दायर गर्ने क्रममा २०७६ जेठ २२ मा इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी निरीक्षक लोकबहादुर जीसीलाई पक्राउ ग¥यो । सवारी दुर्घटनामा एक जनाको मृत्यु र अर्का गम्भीर घाइते भएको घटनामा इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक जीसीले नै चालक फेरेर दोषीलाई उन्मुक्ति दिएका थिए ।
अख्तियारको केन्द्रीय टोली नै पुगेर प्रहरी निरीक्षक जिसीलाई पक्राउ गरी हिरासतमा लिएर अनुसन्धान थालेको छ । पक्राउ परेका जीसीले नवलपरासीका एसपी रमेश थापा(हाल प्रहरी मुख्यालय सरुवा)कै निर्देशनमा घुस लिएको बयान दिएका छन् । र, एसपी थापालाई पनि अख्तियारले अनुसन्धानको दायरामा ल्याएको छ । इन्स्पेक्टर जीसीले एसपीकै दबाबमा चालक फेरिएको बयान दिइसकेकाले थापा पनि अनुसन्धानमा तानिने भएका छन् ।
ज्यान मुद्दामा चालक फेरेको प्रमाणसहित उजुरी परेपछि अख्तियारको टोली केन्द्रबाटै खटिएको थियो । २०७६ बैशाख ११ मा बोधराज पाण्डेले चलाएको जिपले गंंैडाकोटमा विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
पूर्व–पश्चिम राजमार्गमा राति ११ बजे भएको सो दुर्घटनामा मोटरसाइकल चालक गम्भीर घाइते भएका थिए भने पछाडि बस्ने महिलाको मृत्यु भएको थियो । तर गंैडाकोटका इन्स्पेक्टरले एसपीको दबाबमा चालक नखुलेको भन्दै जीपचालक बोधराज पाण्डेको साटो किसुन महतोलाई नक्कली चालक बनाएर उभ्याएका थिए । महतोलाई नक्कली चालक बनाएर मुद्दा दर्ता गर्ने प्रबन्ध मिलाइसकेपछि पाण्डेका तर्फबाट १० लाख घुस इन्स्पेक्टरलाई दिइएको थियो । जुन घुस लिंदालिंदै इन्स्पेक्टर जीसी पक्राउ परेका थिए । घुस लिएर सवारी चालक फेर्ने क्रम बढेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग गम्भीर भएको स्रँेत बताउछ ।
प्रहरीले यसरी नक्कली चालक खडा गर्ने क्रमलाई निरुत्साहित गर्नुपर्ने निष्कर्षका साथ गैंडाकोट घटनालाई गम्भीरतापूर्वक छानबिन थालेको छ । अख्तियारका एक उच्च अधिकारी भन्छन्–‘निर्मला पन्तको बलात्कारपछि हत्या भयो । तर उनको बलात्कार भएको प्रमाण समेत प्रहरीले सुरक्षित राख्न सकेन । घुस लिएर नक्कली चालक खडा गरी दुर्घटनाका दोषी उम्काउन खोजिन्छ । बलात्कारको शिकार भएका बालिकाको तत्काल प्रमाण सुरक्षित नगर्दा १ बर्ष पुग्न लाग्दा पनि बलात्कारी पक्राउ पर्न सकेको छैन । यी र यस्ता बिषयले प्रहरीको छविमा आघात पुगेको छ, प्रश्न उठिरहेका छन् । गैंडाकोट घटना त्यसको ज्वलन्त उदाहरण हो । जुन कुरालाई अख्तियारले गम्भीररुपमा लिएको छ ।’
गंैडाकोट दुर्घटनाका वास्तविक चालक बोधराज पाण्डेलाई उन्मुक्ति दिनमा प्रहरी निरीक्षक जीसी एक्लैको आँटले मात्र सम्भव नहुने स्रोत बताउँछ । यसमा सरकारी वकिलको मिलेमतो छर्लङ्ग छ । एसपी रमेश थापाको संकेतविना इन्स्पेक्टरको दुर्घटनाका चालक फेर्ने संभावना नभएको प्रहरी स्रोत बताउँछ, जीसीले मात्र त्यत्रो केसमा निर्णय गर्नसक्दैनन् । माथिको दबाबमा उनले गरेका हुनसक्छन् ।
चालक फेर्नेलाई पुरस्कार
नक्कली चालक खडा गर्ने गैंडाकोटका इन्स्पेक्टर जीसी पक्राउ परिसकेका छन् भने एसपी रमेश थापा अनुसन्धानको दायरामा आएका छन् । तर २ बर्षअघि बुटवलमा चालक फेर्ने तत्कालीन डीएसपी (हाल सिन्धुपाल्चोकका एसपी) मुकुन्द मरासिनी भने पुरस्कृत भएकाभयै छन् । उनी केही दिनअघि निर्दिष्ट जिम्मेवारी तदारुकताका साथ पालना गरेकोमा २ हजार ५ सय नगदसहित पुरस्कृत भएका छन् ।
नक्कली चालक खडा गरेको आरोप लागेका मरासिनीले एकपछि अर्को मालदार इन्चार्ज पनि पाएकापायै छन् । उनीमाथि इलाका प्रहरी कार्यालय बुटवलको इन्चार्ज हुँदा घुस खाएर चालक फेरेको आरोप लागेको छ । रुपन्देहीमा २०७३ साल चैत १७ गते मोटरसाइकल दुर्घटना भयो । सो घटनामा मंगलापुरबाट पुरानो सडकतर्फ जादै गरेको लु ७ प ७८६४ नम्बरको मोटरसाइकलले एक पैदलयात्रुलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा सवारी चालक र पैदलयात्री दुवै घाइते भए र उनीहरूलाई स्थानीय क्रिमिसन अस्पतालमा प¥याइएको थियो । ट्राफिक प्रहरीको टोली र इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक एवं अनुसन्धान अधिकृत भीमलाल भट्टराई तत्कालै दुर्घटनास्थलमा पुगेका थिए ।
मोटरसाइकल चालक तिलोत्तमा नगरपालिका ९ का १६ वर्षीय दुर्गा केसी थिए भने पैदलयात्री तिलोत्तमा नगरपालिका ७ सुनेनापथका ७५ वर्षीय गुरुप्रसाद आले थिए । आलेको क्रिमिसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
चालक केसी उपचाररत अवस्थामा रहेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेन । तर घटनाको दुई दिनपछि इलाका प्रहरी कार्यालय बुटवलका इन्चार्ज मुकुन्द मरासिनीले घटनाको अनुसन्धान नै नगरी वाग्लुङ, देवीस्थान ९ का मिथुन भण्डारीले चलाएको मोटरसाइकलले दुर्घटना गराएको अभियोग तयार गरे । र, भण्डारीउपर सवारी ज्यानमा मुद्दा चलाएका थिए ।
भण्डारी नातामा चालक केसीको मामा पर्छन् । उक्त घटनालाई थामथुम पार्न पीडक र प्रहरीबीच रकमको लेनदेन भएको बिषय मिडियाले नै सार्वजनिक गरेका थिए ।
मोटरसाइकल चालक केसीसँग लाइसेन्स थिएन । लाइसेन्स नभएको ब्यक्तिले चलाएको सवारीबाट मानिसको मृत्यु भएमा कर्तब्यज्यानमा मुद्दा दायर गर्नुपर्छ । तर मोटो रकम घुस लिएर लाइसेन्स भएको व्यक्तिले चलाएको मोटरसाइकलबाट दुर्घटना भएको पुष्टि गर्नका लागि डीएसपीले भण्डारीउपर मुद्दा चलाउन लगाएका थिए । भान्जालाई जोगाउनका लागि मामा पक्राउ पर्न तयार भएका थिए । यसरी सवारी चालक नै फेर्ने मरासिनी हाल सिन्धुपाल्चोकका एसपी रहेका छन् ।



