काठमाडौं । छुट जग्गा दर्ता खुलाउनुपर्ने भन्दै ब्यवस्थापिका संसदमा सांसदहरूले बहस गरिरहेका छन् । तर, छुट जग्गा दर्ता खुला नगर्दै काठमाडौैं उपत्यकाका करीब ३५ रोपनी भन्दा बढी जग्गा गैरकानूनी रुपमा नामसारी दर्ता गरिएको खुलासा भएको छ । मालपोत कार्यालयका नायबसुब्बास्तरका दुई कर्मचारीले नै बीसौं करोड रुपैया“को जग्गा कीर्ते गरी दर्ता गर्दा पनि मालपोत कार्यालयका प्रमुख पृथबहादुर केसीले रोक्न नसकेको देखिएको छ । उनीलगायत मालपोत कार्यालयका मालपोत अधिकृतहरूलाई पनि थाहा पत्तो नदिई भूमाफिया र कार्यालयका एक कार्यालय सहयोगी र दुई नायब सुब्बाले नामसारी दर्ता गरी लालपूर्जा दिएको खुलेको छ ।
जुन जग्गा कतिपय बिक्रीसमेत भइसकेको मालपोत कार्यालय चावहिलका प्रमुख पृथबहादुर केसीले स्वीकार गरेका छन् ।
कसरी हुन्छ छुट जग्गा दर्ता ?
कार्यालय प्रमुख केसीले २२ रोपनीमात्र कीर्ते गरी छुट जग्गा भनेर नामसारी दर्ता गरेको बताए पनि ३५ रोपनी भन्दा बढी जग्गा कीर्ते गरी ब्यक्तिका नाममा दर्ता गरेको स्रोतको दाबी छ । दर्ता बा“की जग्गा जग्गा दर्ता समितिबाट दर्ता गर्नुपर्नेमा नामसारी दर्ता गरिएको छ । नेपाल सरकारको निर्णय अनुसार राजपत्रमा सूचना प्रकाशित गरेपछि प्रमुख मालपोत अधिकृतको संयोजकत्वमा नापी कार्यालयका प्रमुख रहेको जग्गा दर्ता समिति गठन गरेर त्यस समितिले छुट जग्गा दर्ताको निश्चित म्याद दिएर आवेदन मागी प्रमाण पुगे नपुगेको छानबिन गरेर मात्र त्यस्ता जग्गा दर्ता हुने कानुनी ब्यवस्था छ । छुट जग्गा दर्ता देशभर एकैसाथ खुल्ला हुन्छ । सरकारले निर्णय गरेर राजपत्रमा सूचना प्रकाशित गरी छुट जग्गा दर्ता अन्तर्गत दर्ता हुनुपर्ने जग्गाहरू कानून विपरीत सुटुक्क नामसारी दर्ता गरिएको छ जुन सरासर कीर्ते काम हो, भूमिसुधार मन्त्रालयका एक अधिकारीले भने, करोडौं रुपैया“ घुस खाएर यस्तो कीर्ते काम नायबसुब्बा तहका कर्मचारीले गरेका छन् । छुटजग्गालाई नामसारी दर्ता गरिएका केही जग्गा हकवालाका भए पनि अधिकांश जग्गा नक्कली हकदार खडा गरी दर्ता गरिएको छ ।
चावहिल मालपोत कार्यालयमा कार्यालय सहयोगी राजेन्द्र बस्नेत र नायब सुब्बा सुन्दर कार्कीले खुरुखुरु छुट जग्गा दर्ता अन्तर्गत हुनुपर्नेमा नामसारी दर्ता गरेको खबर छ । र, त्यसरी नामसारी दर्ता गरिएका जग्गा बिक्री बितरण समेत भइसकेको पाइएको छ । यसरी कानून विपरीत कीर्ते गरी ब्यक्तिका नाममा जग्गा दर्ता गर्ने नायबसुब्बा सुन्दर कार्की र कार्यालय सहयोगी बस्नेत निलम्बनमा परिसकेका छन् । यसरी नामसारी दर्ताका क्रममा करोडौं रुपैया“ घुसको कारोबार गरेर भ्रष्टाचार गरेको भए पनि निलम्बन मात्र गरेर अपराध ढाकछोप गर्न भूमि ब्यवस्था विभाग र मन्त्रालयका अधिकारीहरू समेत सक्रिय रहेको स्रोतको दाबी छ ।
मालपोत कार्यालय चावहिलका प्रमुख पृथबहादुर केसीले भने, गोठाटारको २२ रोपनी जग्गा ऐन विपरीत नासुले नामसारी दर्ता गरेको देखिएको छ । जुन उनीहरूलाई अधिकार नै छैन । तर अधिकार नै नभए पनि श्रेस्ता प्रमाणित गरी पूर्जा दिएका छन् । जुन जग्गा बिक्री गर्ने क्रममा गैरकानूनी दर्ता गरिएको खुलेपछि कीर्ते गरिएको खुलासा भएको हो । यसरी ऐनअनुसार अधिकार नै नभएका नासुले कानून विपरीत जग्गा दर्ता गरिएको खुलासा भएपछि भूमिसुधार तथा ब्यवस्था मन्त्रालयले छानबिन समिति बनाएको छ । कानूनतः गर्नै नमिल्ने दर्ता जग्गा दर्ता भएको पाइएपछि मन्त्रालयले विवादस्पद उपसचिव नवीन अधिकारीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको जनाएको छ । समितिलाई तीनवटा मोडालिटीबाट छानबिन गर्न निर्देशन दिइएको छ । अनुसन्धानमूलक, प्रशासनिक र भ्रष्टाचारजन्य के हो त्यसैअनुसार अलग अलग दायराबाट छानबिन गरी प्रतिवेदन बुझाउन समितिलाई भूमिसुधार विभागले निर्देशन दिएको छ । अनुसन्धानमूलक भए प्रहरीमा पठाउने र भ्रष्टाचारजन्य भए अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा छानबिनका लागि पठाउने तयारीमा विभाग छ । सामान्य खालको भए विभागीय कारबाही गर्न अख्तियारले निर्देशन दिएको छ ।
कीर्ते जग्गा दर्तामा संलग्न एक नायबसुब्बा २०७४ असार १२ गतेदेखि अवकाश पाइसकेका छन् । काठमाडौैंको कागेश्वरी मनहरा नगरपालिका(साविक गोठाटार गाविस)का जग्गाहरू यसरी कीर्ते गरी दर्ता गरिएको खुलासा भएको छ । छुट जग्गा दर्ता गर्नुपर्नेमा कार्यालय नायबसुब्बाले नै नामसारी दर्ता गरेको खुलासा भएको छ । सुरुमा फाटफुट यसरी नामसारी दर्ता गरिए पनि पछि दिनदिनै दर्ता गरेको पाइयो, भूमिसुधार मन्त्रालयका अधिकारीले भने, अब यसैगरी गैरकानूनी काम हुने हो भने एउटाको जग्गा अर्काको नाममा दर्ता हुनसक्छ भनेरै निलम्बन गरी छानबिन अगाडि बढाइएको हो । बुढी मरी भन्दा पनि काल पल्क्यो भन्ने चिन्ता चावहिलमा भएको छुट जग्गा अन्तर्गत दर्ता गर्नुपर्ने जग्गालाई नामसारी दर्ता गरिएपछि खुलेको छ । त्यो पनि मालपोत ऐनले दिंदै नदिएको अधिकार प्रयोग गरी नायबसुब्बाले जग्गा दर्ता गरी पूर्जा दिइएको छ ।
त्यतिमात्र होइन, चावहिल मालपोत कार्यालयका कर्मचारीहरूले वारिसनामा दिएका जग्गा वारिसका नाममा दर्ता गरेर समेत बिक्री गरेका छन् । जग्गाधनीका नाममा दर्ता नगरी वारिसका नाममा जग्गा दर्ता गर्ने र बिक्री गरेका छन् । मालपोत प्रमुख केसीले भने, एकदुई वटा फाइलमा त्यस्तो गरेको पाइएको छ । यसरी मालपोतकै कर्मचारीको मिलेमतोमा गैरकानूनी रुपमा जग्गा दर्ता गरिएको पाइएपछि छानबिन समिति गठन गरी दोषी कर्मचारीलाई निलम्बन गरिसकिएको छ ।
छानबिन समितिका संयोजकमाथि नै आशंका
चावहिल मालपोत कार्यालयमा भएको गैरकानूनी जग्गा दर्ताको छानबिन गर्न गठित छानबिन समितिका संयोजक नवीन अधिकारी कलंकी मालपोत कार्यालयका प्रमुख नापी अधिकृत हुन् । उनी शाखा अधिकृत हु“दा करीब ३ बर्षभन्दा बढी समय चावहिल मालपोत कार्यालयमा कार्यरत थिए । उपसचिव बढुवा भएपछि उनी कलंकी मालपोतको प्रमुखमा सरुवा भएका हुन् । चावहिल मालपोत कार्यालयमा लामो समयदेखि कार्यरत कार्यालय सहयोगी राजेन्द्र बस्नेतले उनीमार्फत् धेरै जग्गा दर्ता गरिसकेका छन् । चावहिलमा सरुवा हुन चाहने मालपोतका कर्मचारी बस्नेतको चाहना विपरीत चल्नै नसक्ने भएकाले उपसचिव अधिकारीले पनि विगतमा उनीबाट फाइदा लिएकाले कीर्ते जग्गा प्रकरणमा कारबाही हुने कुरामा आशंका प्रकट गरिएको छ । यो जग्गा दर्तामा संलग्न दोषी कर्मचारीलाई उन्मुक्ति दिनकै लागि बस्नेतकै योजनामा सर्वाधिक ब्यस्त हुने कलंकी मालपोतको प्रमुख अधिकारीलाई छानबिनको जिम्मा दिइएको स्रोतले बताएको छ । छानबिन समितिको जिम्मा पाएका उपसचिव अधिकारी निलम्बनमा परेका मुख्य डिजाइनर तिनै कार्यालय सहयोगी बस्नेतको कारमा २०७४ असार २२ गते सा“झ ६ बजे अन्नपूर्ण होटलभित्र प्रवेश गरेको स्रोतले बताएको छ । मदिरा र युवतीका सौखिन उपसचिव अधिकारीलाई विगतदेखि नै प्रभावमा पार्दैआएका बस्नेतले यो जग्गा प्रकरणमा पनि उन्मुक्ति दिनेगरी प्रतिवेदन दिने भूमिसुुधार मन्त्रालयका अधिकारीले बताएका छन् ।
चावहिलका सबै जग्गा कीर्ते गरी नामसारी दर्ता गर्ने मुख्य डिजाइनर कार्यालय सहयोगी बस्नेत नै हुन् । उनकै मिलेमतोमा यस्तो कीर्ते काम भएको स्रोतको दावी छ । तर उनले कतै हस्ताक्षर नगरेकाले उनी कानूनतः बच्नसक्ने भएकाले दुई नासुमात्र कारबाहीका भागिदार हुने संभावना छ । तर धेरै बाठो हु“दा बस्नेतले कीर्ते गरेको एक जग्गाको बिक्रीमा साक्षी बसेका कारण उनी कानूनी कारबाहीको दायरामा आउनसक्ने चावहिल मालपोतका एक अधिकारीले बताए । सरकारी कर्मचारीले साक्षी बस्न सामान्यतया मिल्दैन, त्यसमा पनि कीर्ते गरी दर्ता गरेको जग्गामा साक्षी बसेकाले बस्नेत कानूनी दायरामा आउने संभावना छ ।




