काठमाडौं । त्रिभुवन विश्वविद्यालयले गतबर्ष लिएको गणित (मानविकी) र गणित(विज्ञान) विषयको उपप्राध्यापक पदको परीक्षामा अनियमितता गर्ने दुई प्राध्यापक विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । परीक्षा अगाडि नै प्रश्नपत्रको उत्तर लेखेर दिने प्राडा. चेतराज भट्ट र प्राडा रामविश्वास साहविरुद्ध मुद्दा दायर गरेको अख्तियारले परीक्षा चाहिं रद्द गरेन । घुस लिएर परीक्षाअगावै उत्तरसमेत लेखेर दिएको अभियोगमा दुई शिक्षकविरुद्ध विशेष अदालतमा मुद्दा दायर भए पनि अख्तियारले परीक्षा रद्द गरेको छैन ।
परीक्षामा अनियमितता गर्ने शिक्षकविरुद्ध मुद्दा चलाएपछि अनियमित रुपमा भएको परीक्षा पनि बदर गरी उपप्राध्यापक पदमा पुनः विज्ञापन गर्नुपर्नेमा अख्तियारले घुस दिएर पास हुने उपप्राध्यापकलाई अन्तर्वार्ता लिने बाटो खुल्ला गरेको थियो । त्रिवि सेवा आयोगका तत्कालीन अध्यक्ष इश्वरचन्द्र दत्त, सदस्य केदार घिमिरेले परीक्षामा अनियमितता गरे पनि उनीहरूलाई भविष्यमा कुनै पदमा नियुक्ति नगर्नु भन्ने बाहेक अरु केही कारबाही अख्तियारले गरेको छैन । अख्तियारले भविष्यमा कुनै पदमा नियुक्त नगर्न निर्देशन दिएका तिनै घिमिरे पुनः सेवा आयोगको अध्यक्ष हुने दौडमा रहेको खबर छ ।
अख्तियारले परीक्षा रद्द नगरी दुई शिक्षकविरुद्ध मुद्दा दायर गरेपछि गणित बिषयको अन्तर्वार्ता लिन प्रक्रिया सेवा आयोगले २०७४ बैशाखबाट सुरु गर्ने सूचना निकालेको थियो । तर परीक्षामा अनियमितता गर्नेलाई मुद्दा चलाएको तर परीक्षा रद्द नगरिएकाले रद्द गर्न माग गर्दै विष्णु गिरीले सर्वोच्च अदालतमा २०७४ बैशाख १७ मा अन्तरिम आदेशको माग गर्दै रिट दर्ता गरेका थिए । त्यो रिटमा न्यायाधीश इश्वर खतिवडाको इजलासले विशेष अदालतमा मुद्दा दायर भएकाले अन्तर्वार्ता यथास्थानमा राख्न २०७४ बैशाख १९ गते आदेश दिएको थियो । सर्वोच्चको आदेशबाट गणितका दुवै बिषयको बिषयको अन्तर्वार्ता रोकिएको छ । गिरीले गणित (मानविकी र गणित(विज्ञान) बिषयको परीक्षामा अनियमितता भएकाले अन्तर्वार्ता मात्र होइन, परीक्षा नै बदर गरी पुनः विज्ञापन गर्न माग गरेका छ्न् ।
दुई शिक्षकविरुद्ध अख्तियारले मुद्दा चलाएपछि परीक्षामा अनियमितता भएको कुरा पुष्टि भएको छ । परीक्षामा अनियमितता गर्ने कारबाहीमा पर्ने तर परीक्षा रद्द नहुने हो भने अनियमिततापूर्वक भएको परीक्षाबाट पास भएकाहरूले भावी पुस्तालाई कस्तो शिक्षा दिन्छन् ? यो प्रश्नमा अख्तियार मौन रहेकाले अदालत गुहार्न पुगेको गिरीको भनाइ छ । निलम्बनमा परेका गणित दोस्रो बिषयका शिक्षक प्राडा. रामविश्वास साहले अख्तियारमा बयान दिने क्रममा सेवा आयोगका सदस्य प्राडा. केदारप्रसाद घिमिरेकै निर्देशनमा उत्तरपुस्तिकामा केरमेट गरेको र नम्बर पटक पटक थपघट गरेको स्वीकार गरेको स्रोतको दावी छ । साहले केदार घिमिरेले पटक पटक बोलाउ“दै यसको नम्बर यति बढाउन र अर्काको यति घटाउन भन्दै दिएको निर्देशन अनुसार केरमेट र थपघट गरेको बयान दिएको स्रोतले बताएको छ ।
सेवा आयोगका पदाधिकारी दत्त र घिमिरे, प्राडा. चेतराज भट्ट र रामविश्वास साह र परशु कोइरालाको मिलेमतोमा प्रति परीक्षार्थी १० देखि २० लाख रुपैया“ घुस मागेको आरोप छ । आफूस“ग पास गराइदिने भनेर १० लाख रुपैया“ सेवा आयोगका सदस्य घिमिरेले मागेको उजुरी सुुरेन्द्र यादवले अख्तियारदेखि सतर्कता केन्द्रमा दिएका थिए । यसरी उपप्राध्यापक पदमा घुसको कारोबार भएको र घुस दिनेलाई परीक्षाअगावै चेतराज भट्टले प्रश्नपत्रको हल लेखेर परीक्षार्थीलाई दिएको कुरा सा“घुले यसअघि नै उजागर गरिसकेको छ ।
गणितमा लिखितमा पास भएका नन्दकिशोर सिंहलगायतका परीक्षार्थीले अन्तरिम आदेश खारेजका लागि दिएको मुद्दामा अदालतले गिरीकै मुद्दामा दुवै पक्षलाई बोलाएर बहस गराउन आदेश दिएको छ ।




