काठमाडौं । राष्ट्रिय सभाको १८ स्थानका लागि २०७६ माघ ९ गते चुनाव सम्पन्न हुँदैछ । यसका लागि पुस २० गते नै सातवटै प्रदेशमा उम्मेद्वारी दर्ता गर्ने काम सम्पन्न भएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले राष्ट्रिय जनता पार्टीसँग गरेर दुई नम्बर प्रदेशमा चार स्थानका लागि हुन गइराखेको चुनावमा तालमेल गरेको छ । यसैगरी प्रतिपक्ष नेपाली काग्रेसले पनि केही दिन अगाडि सरकारबाट बाहिरिएको समाजवादी पार्टीसँग दुई नम्बर प्रदेशको चार स्थानका लागि नै तालेमल गरेको छ ।
तर माघ ९ गते राष्ट्रिय सभाको १८ स्थान लागि हुने निर्वाचनमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले १६ स्थान र राजपाले २ स्थानमा विजय प्राप्त गर्ने निश्चित देखिएको छ । प्रतिपक्ष नेपाली कांग्रेस र समाजवादी पार्टीका निम्ति भने राष्ट्रिय सभाको १८ स्थानका लागि हुने यो निर्वाचन अनुभव बटुल्ने अवसर मात्र हुने देखिएको छ ।
दुई नम्बर प्रदेशमा नेकपा र राजपाका बीचमा भएको सहमतिले दुई स्थान नेकपालाई र दुई स्थान राजपाले फेरि सुनिश्चित गर्ने स्थिति बनेको छ । दुई नम्बर प्रदेशमा नेकपाले प्राप्त गर्ने दुई स्थान र राजपाले प्राप्त गर्ने दुई स्थान यो चुनावी तालमेलको उपलब्धी हुनेछ ।
त्यसैगरी, यो चुनावसँगै नेपाली कांग्रेसले एक र समाजवादी पार्टीले पनि एक स्थान दुई नम्बर प्रदेशमा गुमाउनुपर्नेछ । यसैगरी बाँकी ६ प्रदेशमा १४ स्थानका निम्ति हुने निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी विजय हुने सुनिश्चित छ । बाँकी ६ प्रदेशमा पनि नेपाली कांग्रेसले अनुभव बुटल्नकै लागि मात्र उम्मेद्वारी दिएको छ । राष्ट्रिय सभाको यो निर्वाचनमा नेपाली कांग्रेस शून्यको अवस्थामा पुगेको छ ।




