🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सेनाको इज्जत राख्ने सेनाले नै हो

सेनापति  पूर्णचन्द्र थापाको कार्यकालमा विगतदेखि सेनाभित्र रहेका विसंगतिहरूलाई निर्मूल गर्नेतर्फ धेरै नै प्रयास भैरहेको देखिन्छ । सेनाकै बहालवाला सैनिक भएको हैसियतले प्रधानसेनापतिज्यूमा केही सुझाबहरू राख्न मन लागेको हुँदा थोरै समय लिएर पढी दिनुहुन विनम्र निवेदन गर्दछौं । सैनिक महाविद्यालय सल्लाघारीको अध्यापनको अवस्था ज्यादै नाजुक छ । त्यही स्कूल हो जसले आजभन्दा १० बर्ष अघिसम्म नेपालको नं.–१ स्कूलको छवि बनाउन सफल भएको थियो ।

 
अहिले त्यहाँका प्रिन्सिपल यौन काण्डमा मुछिनु, सम्पर्क अधिकृत कर्सा’ब ठेकेदारसंग घुस खान व्यस्त हुनु । एउटा सम्पर्क अधिकृले मासिक १ लाख रकम र अर्को सम्पर्क अधिकृतले मासिक १५ लाख नगद प्राइभेट फन्डमा जम्मा गर्छन् । यो कस्तो लापरवाही हो ? पढाईमा जिम्मेवार प्रिन्सिपल, सम्पर्क अधिकृत र कल्याणकारी निर्देशक नै बद्मास भएपछि स्कूलको स्तर खस्किने नै भयो, कठै विचरा हाम्रो सैनिक स्कूल । आफ्नो मातहतले हावा खाँदा कल्याणकारी निर्देशक किन सुतेर बसेका होलान ? स्कूलको सम्पर्क अधिकृतलाई मात्र होइन अनुगमन नगर्ने कल्याणकारी निर्देशकमाथि पनि कारबाही हुनु प¥यो,  यही पारा  हो भने त्यहाँको पढाईको स्तर सुधार हुन सक्ने देखिन्न ।  स्कूलको स्तर खस्नु  भनेको नेपाली सेनाको बद्नामी हुनु हो ।

अब अस्पतालका कुरा गरौं 
सेनाको सबैभन्दा ठूलो छाउनी अस्पतालमा विरामीलाई मिति सकिएको ओखति वितरण गरेर लुट्ने काम गर्ने गरिन्छ ।   यसमा ककसको मिलोमतो छ । राम्रा कम्पनीका ओखतिहरू छाउनी अस्पतालमा किन राखिन्नन ? अनि त्यहाँ संधै  डाक्टरहरू बीच कुटपिट, झैँ झगडा अनि यौन काण्डहरू किन भइरहन्छन ? सैनिक महानिर्देशक सुनिल सिंह के हेरेर बसेका छन्, खाली औषधि र सामानको ठेक्कापट्टामा कमिसन खाएर बस्ने हो कि डाक्टर र नर्सहरूलाई तह लगाएर विरामीलाई राम्रो उपचार सेवा र गुणस्तरीय ओखति दिने काम गर्ने हो ।

तपाईहरू एक तारे र दुई तारे जर्नेलहरूले के काम गरिरहनु भएको छ ? सैनिक अस्पतालको  बेथिती सम्हाल्न पनि प्रधानसेनापति नै पुग्नु पर्ने हो ? आफ्नो काम, कर्तब्य र जिम्मेबारी के हो ? कर्तब्य बहन नगर्ने हो भने कारवाही भोग्न वा विदा भएर हिंड्न तपाईहरूका लागि बाटो खुला छ, बिरामीको कुटाई खान नपरोस् तपाईहरूले  ।

छाउनी अस्पतालमा भर्खरै सिओ जर्नेल अरुण न्यौपाने र जर्नेल देबेन्द्र खत्री बीच तुच्छ बचन प्रयोग भई झगडा भएको सुनियो । अरुण न्यौपाने त्यहाँका हाकिम हुन् । जर्नेल अरुणले संगठनकै भलाईको लागि जुनिएर जर्नेललाई केही कुरा भनेका होलान् । त्यत्तिकैमा जुनिएर  जर्नेलले सिनिएरसंग झगडा गर्नु सेनाको अनुशासनभित्र पर्छ ? यही सैनिक अनुशासन हो ? कता गयो चेन अफ कमाण्ड, कता गयो सैनिक अनुशासन । यो तरिकाले संस्था चल्दैन, यस्तो हर्कत कत्ति पनि सह्य हुन सक्दैन । देवेन्द्र खत्री बेसिकदेखि नै घामट अधिकृत हुन् ।

विशेषज्ञ डाक्टर हुँदैमा आफ्नो हाकिमलाई मनपरी भन्न मिल्छ । सेनाभित्र जुनिएरले सिनिएरलाई नमान्ने, रिटायर्डलाई बहालवालाले मनपरी भन्ने, हातपात गर्ने  हो भने सेनालाई कसरी नियन्त्रण गर्ने,  यो त छाडा साँढे जस्तो भयो  नि चीफ सा’ब । सेनाको संस्कार, संस्कृति बिर्सेर अनुशासनहीन काम गर्दै सिनिएरलाई अभद्र व्यवहार गर्ने जति सुकै योग्यता भएपनि,  जो सुकैलाई पनि जागिरबाट बिदा दिने मात्रै  हैन सैनिक नियम अनुसार,  कारवाही नै गर्नुपर्छ, तब थाहा पाउछन् सैनिक अनुशासन ।

सेनाकै  बजेटमा मास्टर डिग्री गर्ने, जर्नेल कर्नेल  हुने, विदेश  भ्रमण  गर्ने, बाहिर  नर्सिङ्ग  होममा काम  गरेर  करोडौं  कमाउने  अनि  सेनालाई नै लात् मार्ने,  यस्ता अनुशासनहीनहरूलाई  ऐन अनुसार, कोर्ट अफ इन्क्वायरी र कोर्टमार्शल गरेर जेल नै हाल्नु  पर्छ  । इमानदारीपूर्वक काम गर, नूनको सोझो गर डाक्टरहरू हो । यिनीहरूले त प्रधानसेनापतिको शुद्धीकरण अभियानलाई चुनौती दिंदै सेनाकै बद्नाम गर्ने भए ।

छाउनी अस्पताललाई ठीक बाटोमा ल्याउनको लागि राम्रो क्यारिएर भएको २ तारे जर्नेलको मातहतमा सबै डाक्टरहरूलाई नराखेसम्म अस्पतालको बेथिती रहिरहनेछ । सैनिक स्वास्थ्य महानिर्देशकले सैनिक डाक्टरहरूलाई कन्ट्रोल र कारवाही गर्न सकेनन् । अनि मास्टर गरेर आउने डाक्टरहरूलाई कम्तीमा १५ बर्ष अनिबार्य सेवा गर्नुपर्ने सर्त राखेपछि मात्र मास्टर गर्न पठाउने प्राबधान राख्नु पर्छ । मास्टर गरेको ५ बर्षमा कुनै पनि हालतमा जागिर छोड्न दिनुहुन्न ।

प्रधानसेनापतिले भ्रष्टाचार गर्ने कर्नेल जर्नेलहरूलाई कारबाही गर्न लागेको प्रयास प्रसंशनीय छ, तापनि ज्यान बनाउनेले बनाइ रहेका छन् । कमान्डरहरूले पल्टनको रकममा आफ्ना नातागोता, भरौटेहरू, गर्लफ्रेन्डहरूलाई पोशेकै छन् ।  प्रधानसेनापतिले मात्रै चाहेर संगठनको सुधारमा केही नहुने रहेछ, सबै स्थानमा प्रधानसेनापतिले चेक गरेर साध्य नहुने रहेछ । पल्टनभित्र कुन कमान्डरले कस्तो काम गरिरहेको छ भनेर गोप्य रुपमा बुझ्ने काम हुनु प¥यो  ।

सेनाको युनिफर्म लगाएर, काँधमा फुली हालेर सरकारी गाडी चढेर सोझा महिलाहरूलाई प्रलोभनमा पारेर खुल्लम खुल्ला यौन शोषण गर्ने जर्नेल कर्नेलहरूको कमि छैन नेपाली सेनाभित्र । जर्नेल कर्नेलहरूको प्रधानसेनापतिको अगाडि नून खाएको कुखुराको जस्तो मुख पारी सोझो छ भन्ने बहाना गर्ने, अनि राम्रा आइमाई(स्टाफ) देखेपछि ¥याल चुहाउनेहरूलाई सख्त कारबाही गर्नुप¥यो चीफ सा’ब । साथीको श्रीमती पनि नभन्ने, आफ्नो महिला सैनिक  पनि नभन्ने,  अनि सोझा स्थानीय महिला पनि नभन्ने । वहुविवाह गरेको छ,  घरमा श्रीमती हुँदा हुँदै भित्रिनी श्रीमती राखेको छ, अनि इमान्दार र अनुशासित भएको बहाना पार्ने ।

 घरको बुढी श्रीमतीलाई हेला गर्ने अनि बाहिरका तरुनी, अधवैंसे महिलाहरूलाई प्रलोभन देखाई चाख्दै हिंड्ने,  चण्डालहरू  सेनामा अलि धेरै नै भए । संस्थाको प्रतिष्ठा जोगाउन त जर्नेल कर्नेलहरू त निष्कलंक र उदाहरणनीय नमुना हुनु प¥यो नि, बल्ल यस्ता नमुनालायक अफिसरलाई हामीले आदर गर्छौं, सम्मान गर्छौं, उनीहरूप्रति सेनाको आस्था उत्पन्न हुन्छ, अधिकृत नै यौन दुराचारी छ, आफैं भ्रष्ट छ, यस्ताबाट सेनाले उपलब्धिको के अपेक्षा गर्न सक्छ ?

कर्नेलले महिला जमदारलाई यौन शोषण गरेको छ,  कप्तानले सिपाहीलाई शोषण गरेको छ,  माथिल्लो दर्जामा बस्ने ले के के गरेका छन्  के के, थाहा भएर पनि भन्दै हिंड्न नमिल्ने ! यस्ता जर्नेल–कर्नेलहरूसंग हामीले कसरी काम गर्ने  हो, कुन हातले यी बद्नाहरूलाई सलाम गर्ने हो, हामीले ? यस्तो भएपछि निजामती सर्कल र अन्य सुरक्षा अंगहरूको अगाडि कसरी मुख देखाउने हो । कतिपय घटनाहरू बारेमा जंगी अड्डालाई जानकारी हुँदाहुँदै पनि सेनाको बद्नाम गर्नेहरू माथि कारबाही हुन नसक्नु दुःख लाग्दो कुरा हो । सेनाकै जागिर खाएर सेनाकै बदनाम गर्न लाज लाग्दैन यस्ता महासयहरूलाई ।

देश विदेशमा नेपालको नाम राख्न सफल व्यक्तिहरूलाई उचित पुरुस्कारको व्यवस्था भएमा सबैको हौसला बढ्न सक्ने देखिन्छ । भर्खरै एकजना कर्सा’बले इंडिया तालिममा प्रथम भएर आउनु भएको सुनियो, हामी नेपालीलाई इन्डियनले हेपेकै छन् । उसको मुलुकको तालिममा प्रथम हुनु भनेको हाम्रो लागि ठूलो उपलब्धि हो । त्यसैगरी बेलायतमा हाम्रो पट्रोल टोली पनि प्रथम भएछ । हामीलाई  कति गौरव लाग्छ  ।  यस्ता बहादुरहरूलाई अनि खेलाडीहरूलाई राम्रो पुरुस्कारको व्यवस्था भएमा हामी जवानलाई असाध्य खुसी लाग्नेछ ।  त्यस्तैगरी शान्ति सेनामा राम्रो काम गर्नेलाई पुरुस्कार एवंम् देशको बद्नाम गर्नेलाई सख्त कारबाही  हुनु पर्ने देखिन्छ ।

प्रधानसेनापतिज्यूको आदेश बमोजिम राखिएका सुझाब पेटिकाहरूलाई समयमा खोल्ने व्यवस्था भएमा सेनाभित्रका गलत अभ्यासहरूमा कमि हुने थियो । गुल्मपति, गणपति, बाहिनीपति, पृतनापति एवंम् निर्देशकहरूले कमाण्ड बुझ्दा पल्टनको अवस्था कस्तो थियो र निजले आफ्नो कार्यकालमा पल्टनलाई कति योगदान दिन सक्यो, त्यस्को पनि मूल्यांकन हुनसके सीमित बजेटको अधिकतम् उपयोग हुन सक्ने थियो । हाकिमहरूको सैनिक अनुशासनहीन गतिविधिमाथि कडा निगरानी राख्नु प¥यो चीफ सा’ब । 
 अफिसरहरूबाट भएका अनुसासनहीन गतिविधिहरू बारेमा उनीहरू विगतदेखि हालसम्म पोस्टिंग  भएका पल्टनका सुवेदार मेजर र पदिक दर्जाहरूबाट गोप्यरुपमा बुझ्ने काम भयो भने सबै कुराहरू जानकारी हुन्छ, समस्या नै छैन ।

अहिले विभिन्न दर्जामा भर्ना खुलेको छ । क्याडेटमा भर्ना खुलेको छ । प्रधानसेनापतिको भिजन बमोजिम स्वस्थ प्रतिस्पर्धा नगराउने कमान्डर एवंम् अफिसरहरूलाईलाई सख्त कारबाही गर्नु पर्दछ । गत वर्ष र यस वर्षको स्टाफ कलेज बोर्डमा त्यही व्यक्तिहरू हुँदा स्वस्थ, स्वच्छ मूल्यांकन हुन्न कि भन्ने आशंका छ ।  उदाहरणको लागि गत वर्ष खाँड थरका मेजर स्टाफ कलेजको प्रवेश परीक्षामा १० नं भित्र पास भएकोमा हाल स्टाफ कलेज तालिममा ५० औं नं. मा आउनु भनेको आश्चर्यजनक नै मान्नु पर्छ । गत वर्षको बोर्डमा आफन्त व्यक्ति भएकोले परीक्षा त पास गरे,  तर, अहिले टोखाको चिसो हावा खाँदै  तालिममा लास्ट भएका छन् ।  हो कि होइन चेक गर्न सकिन्छ ।

सुन्दरीजल आर्सनलमा पनि व्यापक भ्रस्टाचार भएको सुनिन्छ, त्यहाँ पनि छानबिन गर्नु प¥यो । सुन्दरीजलमा घर जान  लागेकालाई होइन, क्यरिएर भएका नयाँ अफिसरलाई पठाउनु प¥यो ।  जसरी नक्कली सर्टिफिकेट वालाहरूको भागाभाग छ, त्यसैगरी भ्रष्टचारी र यौन दुराचारीहरूलाई पनि भागाभाग बनाउनु पर्छ । सेनाको गहना  भनेकै अनुसासन र इमान्दारिता हो । जब संगठनभित्र रहेका व्यक्तिबाट अनुसासन र इमान्दारिता हराउँछ अनि सेनाको छवि गिर्छ र आम नागरिकमा सेनाप्रति घृणा उत्पन्न हुन सक्छ । तसर्थ, सेनाको गरिमालाई कायम राख्दै पेशेवर सेना निर्माणको लागि  यस्ता यौन दुराचारी, भ्रस्टाचारी, विदेशमा सेनाको बद्नाम गर्ने, पल्टन डुबाउने कामचोर, पल्टनको पैसाले निजी घर बनाउने नकावधारी जर्नेल कर्नेलहरूलाई सख्त कारबाही भएमा मात्र सेनाको गरिमा माथि उठ्ने देखिन्छ ।

 विगत वा वर्तमान, जहिलेसुकै होस्, यस्ता गतिविधिहरूमा संलग्न हाकिमहरू क्षमा गर्न लायक हुँदैनन् ।  यिनीहरूलाई कारबाही भए मात्र यस्ता गतिबिधिमा कमि हुन सक्तछ । एक पटकको चोर पनि चोर नै हो, दुई पटकको चोरे पनि चोर नै हो । कलंकित अफिसरलाई माफी दिनु भनेको दण्डहीनताको अवस्थालाई प्रश्रय दिनु हो । अन्तमा सेनाको नाम राख्ने र सेनालाई डुबाउने हामी नै हौँ, अरु कोही होइन ।                                                                                                                  –जंगी अड्डाका सुवेदार कर्मचारीहरू