नवलपरासी । पश्चिम नवलपरासीको सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठिप्रसौनीको कमान्डमा सीमामा खटिएका सशस्त्र प्रहरीले दिन र रातको समयमा लाइन खाएर भारतबाट अवैध रूपमा किराना पसल तथा मल खादहरु तस्करी गराउन सहयाेग गरिरहेको आराेप छ ।
सीमा सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरीनै नेपाल भारतको सीमा छेउछाउ बस्ने स्थानीय तस्करहरुसंग मिलेर भारी मात्रामा किराना पसलको सामान, गुट्का, चिनी र मलखाद जस्ता सामग्री सुस्ता-५ को मुख्य नाका बनकट्टी र प्रतापपुर ५ को बसहिया नाकाबाट गएराती भारततर्फबाट अवैधरूपमा मालसामानहरु नेपाल भित्र्याउने क्रममा ईलाका प्रहरी कार्यालय बेलाटारीले करिब २ लाख बराबरको सामग्री बरामद गरेको छ ।
रामनगर प्रहरी चौकीका इन्चार्ज जनक थापा र ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक खुमानन्द पाण्डेको नेतृत्वमा गएको गस्ती टोलीले सो अवैध सामग्रीहरु सुस्ता ५ बनक्ट्टीको मुख्यनाकामा सुरक्षाका लागि राखिएको सशस्त्र प्रहरीको अस्थाई पोस्टको बाटो हुँदै भारतबाट नेपाल भित्र्याउने क्रममा पोस्टदेखि करिब ५० मिटरको दुरीमा नेपाल प्रहरीले बरामद गर्न सफल भएको खबर छ ।
सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठिप्रसौनीका टिमले सीमा नाकामा खटाएका सशस्त्र प्रहरीहरुलाई रातिको समय २ घण्टाको सीमा खाली गर्ने गरेको स्थानीयहरू बताउछन् । सशस्त्र प्रहरी निरीक्षक सुमन अधिकारी कै संरक्षणमा यसरी सीमामा तस्करी हुन सक्ने आशंका व्यक्त गरिएकाे छ ।
सीमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरीले स्थानीयको सानोतिनो काम वा औषधि जस्ता सामान भने भारतबाट आउन नदिने तर, तस्करहरूकाे सजिलाेका लागि चाहिं रातिको समयमा बोर्डर नै दुई घण्टा खुल्ला गरिदिने गरेको स्थानीयबासीकाे आरोप छ ।
एउटा सीमामा बाक्लो रूपमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरीले तस्करी भएको नदेख्ने सीमादेखि करिब १५ किलोमिटरको दुरीमा रहेको ईलाका प्रहरी कार्यालय बेलाटारीले तस्करी भएको अवैध सामग्री सीमामा रहेको सशस्त्र प्रहरीको पोष्ट नजिकबाटै बरामद हुनु नै सशस्त्र प्रहरीको मिलोमतोमा सीमामा तस्करी भइरहेको आशंका गरिएकाे छ ।
गएराति सुस्ता र प्रतापपुरबाट बरामद गरेको अवैध सामग्री सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठिप्रसौनीको एरियामा पर्ने गर्छ । पछिल्लो समय यता जिल्ला प्रहरी कार्यालय परासीमा आएका एसपी अजय केसीको सक्रियतामा नेपाल प्रहरीले धमाधम अवैध सामग्रीहरु बरामद गरिरहेको खबर छ ।




