🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

उबेलाका कुरा :  लिखु, बाढी र माओत्सेतुङको निधनकाे समाचार !

\"\"

साँघुटारको पुलबाट लिखु सतिदहदेखि खुदुर्कीसम्म देखिन्थ्यो । बर्षायाममा तीब्रगतिमा बगिरहेको लिखुलाई हामी पुलको आडपारेर एकाेहाेराे हेर्थ्यौं । हाम्रो हेराइलाई नदीको बेगले बगाउँथ्यो । त्यसवेला लिखु ठक्क जमेजस्तो हुन्थ्यो र पुल सररर्र उडेको भ्रम हुन्थ्यो । लिखु बाढी आएको बखत हामी त्यसो गर्थ्यौं । निकै मजा आउँथ्यो ।

एकदिन विहानै लिखु बाढी आएछ । नदी किनारामा बगाएर ल्याएका दाउरा समाउन मानिसहरू छेउछेउमा दाैडदै थिए । हामी (सोहनकृष्ण भट्टराई, खेमबहादुर पौडेल, गोमनारायण श्रेष्ठजी लगायत र म) झोलुङ्गे पुलमा चढेर बाढीको दृश्य हेरेर फर्किदै थियौं । त्यसवेला हिमगङ्गा माध्यमिक विद्यालय साँघुटारमा नौ कक्षामा पढ्थें ।

सोहनकृष्ण भट्टराई, खेमबहादुर पौडेल, गोमनारायण श्रेष्ठ, शान्त भट्टराई एउटै कोठामा र कल्याणकुमार वाग्ले, रामप्रसाद कोइराला, श्यामहरि अधिकारी, रमेशहरि अधिकारी, थलमान सुवेदी, द्वारिकालाल श्रेष्ठ एउटै घरमा बस्थ्यौं । डेरा छोटी हुलाक कार्यालय रहेको घरमा थियो ।

हामी कसैसंग पनि रेडियो थिएन । समाचारहरू सुन्न बजारको कुनै बजिरहेको रेडियो नजिकै पुग्नु पर्थ्यो । रेडियाे सुन्न अक्सर ज्ञानबहादुर कर्माचार्यको पसल पायक पर्थ्यो । कतिपय समाचारहरू बजार हल्ला पछिमात्र सुन्थ्यौं । माओत्सेतुङको देहावसान भएको सुन्न पाएका रहेनछाैं ।

त्यस दिन हामी लिखुको बाढी हेरेर फर्किदै थियौं । वि.सं. २०३३ सालको भदौ महिनाको चौबीस पच्चीस गतेतिर बद्रीदास भौकाजी र राजकुमार श्रेष्ठ विपरित दिसाबाट पार हुनैलाग्दा हुलाक अगाडि जम्काभेट भयो ।

हामी पनि त्यहीँ पुग्यौं । बद्री भौकाजीले परैबाट प्रश्न गर्नु’भो- “ए राजकुमार ! चिनिया नेता माओत्सेतुङको त मृत्यु भएछ नि ?” राजकुमारको उत्तर थियो । “मान्छे मरणशील प्राणी हो । जन्म मृत्यू स्वभाविक प्रकृया हो ।”

बद्रीदास भौकाजी र राजकुमार श्रेष्ठ वीचको संवादले हामीलाई निकै दुःखी बनायो । हामीले दुई बर्ष (वि.सं. २०३१ साल) देखि माओत्सेतुङ विचारधारासंग निकटता बनाएका थियौं । माओले विश्वका गरिव मानिसको पक्षमा दिनु भएका नीतिले हाम्रो किशोर मस्तिष्कमा गहिरो प्रभाव जमाएको थियो ।

त्यस यता माओका रचना खोजीखोजी पढ्ने नसा लागिसकेको थियो । विश्व कम्युनिष्ट आन्दोलनको मियो नै माओत्सेतुङ हो, जस्तो लाग्थ्यो । त्यस पछि हामीले पनि रेडियो सुन्यौं । माओको देहावसान पछि चिनिया कम्युनिष्ट पार्टीले कमरेड ह्वाको फेङलाई पार्टी अध्यक्ष चयन गर्‍यो ।

डाँडाखर्कमा विष्णुहरि अधिकारीकाे ठेगानामा सचित्र “आजका चीन” नामको मासिक पत्रिका आउँदो रहेछ । उहाँका छोरा श्यामहरि अधिकारी र रमेशहरि अधिकारीजीहरूले उक्त पत्रिका गाता हाल्न साँघुटार ल्याउनु हुन्थ्यो । हामी त्यस पत्रिकामा छापिएका माओत्सेतुङका तस्विर हेर्थ्यौं ।

माओको च्यूँडामा कोठी भएको तस्विर आकर्षक लाग्थ्यो । अव माओको निधन भयो । उहाँकै आसनमा बस्ने ह्वाको फेङको अनुहार कस्तो होला भन्ने लागिरह्यो । त्यसवेला साँघुटारमा आजजस्तो विजुली थिएन ।

टेलिभिजन हुने कुरै भएन । पत्रपत्रिका पुग्दैनथ्यो । पुगे पनि धेरै दिन पछि पुग्थ्यो । जति बुझ्ने हो;  रेडियो नेपाल, बीबीसी हिन्दी सेवा, अल इन्डिया रेडियो, रेडियो खार्साङबाट विश्व समाचार बुझ्नु पर्ने हुन्थ्यो ।

२०७७ साउन ४