🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सडक पाइलटसँग अन्तरंग : गाडी किनेपछि लकडाउन लाग्यो, बर्बाद भयो : बेदबहादुर चौलागाईँ

(कोरोना भाइरसको महामारीको चपेटामा त सबै क्षेत्र लागेकै छ । त्यसमा पनि दैनिक गाडी चलाएर खानुपर्ने क्षेत्र भने झनै मारमा परेको छ । यात्रु चढे पैसा आउने नचढे रित्तै भइने । त्यतिमात्र हैन गाडी नै थन्क्याएर राख्नुपर्दा के होला । यो पीडाबाट धेरै गाडीलाइनका व्यक्तिहरूलाई पीडा थपिएको छ । त्यही भोकको पीडामा रन्थनिएका छन् सडक पाइलट बेदबहादुर चौलागाईँ । दोलखाका ४० वर्षे युवाले काठमाडौंमा बा १ ख ९०९० नम्बरको लोकल गाडी चलाउँछन् । उनी स्वरोजगार हुन् । स्वरोजगार हुँदा त आम्दानी पनि राम्रै हुँदो हो । तर चोट के हो व्यथा के हो त्यो पीडितलाई भन्दा बढी कसलाई थाहा हुन्छ र ? त्यस्तै भएको छ अहिले उनलाई । आखिर किन यसरी पीडामा रन्थनिए चौलागाइँ ? साँघु प्रतिनिधिसँग यसरी खोलेका छन् लकडाउनपछिको जीवन–सम्पादक)

० कसरी चलिरहेको छ जीवन ?
–बाँच्नै गाह्रो भएको छ । 

० लकडाउनका बेलामा कतै रिजर्भ गरियो कि ?
–गरिएन । घरमै बसियो । यहीं काठमाडौंमै बसियो । 

० के गर्नुभयो त काठमाडौंमा ?
–जग्गा मागेर खेतीपाती गरियो । ज्यालादारी गरियो । खन्न गइयो । खान त प¥यो नि । 

० राहत पनि पाइयो कि ?
–पाइयो अलिअलि । नेपाल यातायात मजदूर संघले दिएको थियो । तर पाँच जनाको परिवारलाई १० किलो चालमले कति दिन पुग्ला । नाममात्रको राहत पाइयो । अरु कसैले दिएनन् । 

० कति जनाको परिवार रे ?
–आमा, दुई वटा बच्चा र हामी बुढाबुढी गरी पाँच जना । 

० अनि बच्चालाई त पढाउनु परे होला नि ?
–बर्बाद भयो नि तिनीहरूको पढाइ । घरमै पढाइरहेको छु । 

० अनलाइन कक्षा पनि भइरहेका छन् नि ?
–खोइ कहाँ हुन्छ त्यस्तो । कतै पठाइएन । छोरी ८ कक्षामा पढ्छिन् । उसलाई उसका अंकलका छोराहरूले पढाउँछन् । छोरा ६ मा पढ्छ । उसलाई दिदीले नै पढाउँछिन् । किताब किनिदिएको छु । त्यसरी नै पढिरहेका छन् । 

० यसरी पढेर भयो त ?
–खै के भयो भयो । त्यस्तै छ । पढाइ बर्बाद भयो । एक वर्ष घाटा भयो । 

० लकडाउन खुलेपछि गाडी चलाइरहनु भएको छ ?
–लकडाउन खुलेपछि चलाएको छु । नचलाएर पनि के गर्ने कर तिर्नुपर्छ । समितिलाई तिर्नुपर्छ । 

० समितिलाई किन नि ?
–समितिले पाँच हजारका दरले पैसा मागेको छ । साउनमा त पूरै दिन गाडी चल्यो भनेर ६ हजार माग्यो । यो बसको बसपार्क मूलपानी, गोठाटार जहाँ भए पनि तिर्नुप¥यो । नत्र रिन्यू गर्दिन भन्छ । के गर्ने । नतिरी भएन । गर्ने भनेको बाँकी काम यही छ । लगानी यसमै छ । 

० अहिले त गाडी नै आफ्नो बनाउनु भयो हैन ?
–हो । लकडाउन अघि आफ्नो बनाएँ । बर्बाद भयो । यस्तो बेलामा गाडी किनिएछ । 

० ऋण छ र ?
–छ नि । अझै तीन लाख रुपैयाँ साहुलाई तिर्नुछ । त्यो पैसा कसरी तिर्ने हो थाहा छैन । 

० सरकारले सुविधा दिएन ?
–केही दिएन खै । 

० आधामात्र मान्छे हालेपछि सुविधा दिने भनेको थियो नि ?
–केही पनि दिएको छैन । ५० प्रतिशत बढी लिने हो भाडा । मान्छे नै छैनन् । कहाँबाट चढ्छन् । गाउँका मान्छे आएका छैनन् । स्कूल कलेज खुले पो यात्रु पाउनु । उनीहरू अब आउलान् जस्तो छैन । 

० कति हुन्छ त कमाई ?
–कसरी हुनु कमाई आधा पनि पुग्दैन । रत्नपार्क पुगेर आउँदा जम्मा रु ३ सय आम्दानी हुन्छ । रु. ६ सयको तेल खर्च हुन्छ । अफिस टाइममा मात्र बढ्ने हुन् यात्रु । नत्र त ३–४ जना बोक्ने हो । के गर्नु बाध्यता । 

० हेल्पर पनि राख्नु भएको होला ?
–हेल्पर त आफ्नै श्रीमती । अर्को कोही राख्यो भने त्यसलाई खुवाउनु प¥यो । २–४ पैसा दिनुप¥यो । पैसा नै बच्दैन । अरु राखेर कामै भएन । त्यसैले बुढाबुढी नै हिँड्छौं सँगसँगै । 

० अनि स्वास्थ्य मापदण्ड त पूरा हुन्छ नि ?
–सबै अपनाइन्छ । मास्क, सेनिटाइजर, पञ्जा सबै हुन्छ । मान्छे नै नभएपछि के स्वास्थ्य मापदण्ड । गाडी खाली खाली कुँदेको छ । हामी भोकभोकै हुन्छौं । 

० तपाईका आफन्त कसैलाई कोरोना भएको छ कि छैन ?
–आफन्त कसैलाई छैन कोरोना । 

० अब के गर्नुहुन्छ नि ?
–खै के भनौ पीडा यिनै हुन् । जे जे होला गर्ने त हो । 

० दशैं आउन थाल्यो घरै जाने हो कि ?
–हैन । सबै यतै छौं । किन जानु र । 

० फेरि लकडाउन होला जस्तो छ नि ?
–घर गए आउन नपाइएला । यहाँ लोकल चाहिँ चलाउन दिने भन्न पनि सक्छ । त्यसैले जे पर्ला यतै बस्ने । 

० विदेश जाने सोच थियो क्यार तपाईँको ?
–अब बुढेसकाल लाग्यो । यतै बस्ने हो । जेसक्यो त्यही गर्ने हो । यो गाडीमा लगानी छ । छाड्ने कुरा भएन ।