काठमाडौं, १५ माघ । नेपाली कांग्रेसले चुनाव सकिएको ५४ दिन बितिसक्दा पनि निर्वाचन प्रचार/प्रसार गरे बापत पत्रकारहरुलाई विज्ञापनको भुक्तानी नदिएपछि अनलाइनका संचालकहरु बिलखबन्दमा परेको गुनासो गरेका छन् । केही चलेका अनलाइनहरुले चुनाव सकिएपछि कांग्रेसले पैसा नदिने अनुमानका साथ प्रिपेड भुक्तानी लिएर मात्र कांग्रेसलाई भोट मागिएका विज्ञापन प्रसारण गरेका थिए । तर, चुनावपछि भुक्तानी नै नदिएपछि धेरै अनलाइनका संचालकहरुको रुवाबासी भएको थाहा भएको छ ।
कांग्रेसलाई मत दिन आह्वान गरिएका विज्ञापनको भुक्तानी माग्दै दैनिकजसो प्रेस युनियन र विज्ञापन एजेन्सीमा कांग्रेस निकट भनिने केही अनलाइन संचालकहरु धाउने गरेका छन् । निर्वाचन परिचालन कमिटीका बालकृष्ण खाँडले पैसा नदिएकाले अनलाइन संचालकहरुले भुक्तानी पाउन नसकेको जिकिर गर्दैआएका छन् । अनलाइनमा नेपाली कांग्रेस पार्टीको निर्वाचन सम्बन्धी विज्ञापन गर्ने जिम्मा पाएका प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीलाई समेत अनलाइनका पत्रकारहरुले विज्ञापनको भुक्तानी मागेर बिहानदेखि राति सुत्न समेत नदिई फोन गर्दै तनाव दिन थालेका छन् । उनी हरबखत मोवाइलमा ‘भुक्तानी हुन्छ, पार्टीले दिन्छ’ भन्दै अनलाइनवालाहरुलाई कन्भिन्स गर्नमै आफ्नो अधिकांश समय ब्यतित गर्न विवश हुँदै आएका छन् ।
अनलाइन संयोजकका हिसाबले कांग्रेसको प्रचार प्रसार समितिले शिवाकोटीलाई आम निर्वाचनमा कांग्रेसलाई मतदान गर्न आव्हान गरिएको विज्ञापनको सिफारिस गर्न जिम्मा दिएको थियो । कांग्रेसलाई मतदान गर्न आव्हान गरिएको भुक्तानी नपाएपछि जिम्मेवारी शिवाकोटी बेकारमा लिएको भन्दै गुनासो गर्दै हिंडेका छन् । पार्टीले पैसा दिंदैन, पैसा नपाएपछि अनलाइनवालाहरु शिवाकोटीको कार्यालयमा धर्ना दिन थालेका छन् । सम्झाउँदा सम्झाउँदा शिवाकोटी थाकिसकेको बताइन्छ । पत्रकारहरुको लागि विज्ञापन दिएर केही राहत दिन खोज्दा शिवाकोटी लज्जित भएको बताइन्छ ।
२०७४ मंसिर १० गते र २१ गतेको निर्वाचनमा कांग्रेसलाई मतदान गर्न आव्हान गरिएको कांग्रेसनिकट अनलाइनका संचालकहरु धर्ना दिन थालेका छन् । बालकृष्ण खा“डले भुक्तानीका लागि विज्ञापन एजेन्सीलाई देखाएपछि अनलाइनवालाहरु एजेन्सीमै धर्ना दिन थालेका छन् । विज्ञापन एजेन्सीले ‘‘पैसा आएको भए म किन राख्थें’’ र भन्दै सम्झाइबुझाई पठाउने गरेको पत्रकारहरु बताउछन् । प्रत्येक अनलाइनलाई कांग्रेसले आफ्नो पार्टीलाई भोट माग्ने विज्ञापन प्रसारण गरेवापत १५ हजारका दरले ५ दिनसम्म मात्र विज्ञापन प्रसारण गर्नेगरी विज्ञापन अर्डर दिएको थियो । कतिपय अनलाइनले दिनको १५ हजारका दरले भन्ने बुझेर ७५ हजार रुपैया“को बिल पेश गरेर भुक्तानीका लागि दवाव दिने गरेका छन् । जम्मा १५ हजार रुपैयाँ मात्र हो भनेपछि ५ दिनको ७५ हजारको बिल पेश गर्ने केही अनलाइन हिस्स परेका छन् ।
कांग्रेसको प्रचार प्रसारको ठेक्का लिएका लिटिल एन्जेल्स स्कूलका साहु तथा पूर्व सांसद उमेश श्रेष्ठ र ठेकेदार बहादुरसिंह लामा हुन् । विज्ञापनदेखि सबै प्रचार प्रसारको खर्चको जिम्मा श्रेष्ठ र लामाले लिएका थिए । तर, श्रेष्ठले अलिअलि रकम निकाले पनि बहादुरसिंह लामाले भने पैसा नदिएपछि कांग्रेसलाई भोट माग्ने विज्ञापन प्रसारण गरेका पत्रकारहरुको बिचल्ली भएको बताइएको छ । बहादुरसिंह लामाले पैसा ननिकाल्दा उमेश श्रेष्ठ ‘‘मैले मात्र कति दिने’’ भन्दै चर्कोफर्को गर्दै आएको प्रेस युनियन निकट स्रोतले बताएको छ ।
नेपाली कांग्रेस पार्टीको निर्वाचनको प्रचारको खर्चको जिम्मा लिएका तर धन चाहिं नदिएका बहादुरसिंह लामा समानुपातिक सांसदको सूचीमा १ नम्बरमा छन् भने कांग्रेसलाई करोडौं लगानी गर्दै आएका उमेश श्रेष्ठ ३ नम्बरमा छन् । उनीहरु दुवै सांसद बन्ने निश्चित छ । अनलाइनहरुलाई विज्ञापनबापतको करीब १५ लाख रुपैयाँ कांग्रेसले भुक्तानी गर्न बाँकी रहेको समाचार छ । चुनावमा पार्टी हारेपछि प्रचार प्रसार समितिदेखि निर्वाचन परिचालन कमिटी पनि विज्ञापनको भुक्तानी दिने दायित्वबाट बिमुख भएको आरोप छ । प्रेस युनियन निकट पत्रकारहरुसंग यसबारेमा बुझ्दा ८० प्रतिशत भुक्तानी भइसकेको र अरु बिल भुक्तानी पनि भुक्तानीको क्रममा रहेको प्रतिक्रिया दिएका छन् ।



