काठमाडौं । प्रधानमन्त्री केपी ओलीले २०७७ पुस ५ गते संसद विघटन गरेपछि सडकमा निस्केका नागरिक समाजका व्यक्तिहरुमाथि विभिन्न प्रश्न उठ्न थालेको छ । २०७२ सालमा संविधान जारी भएपछि भारतको नाकाबन्दीलाई सही भनेर वीरगञ्जलगायतका भारतीय सीमा क्षाेत्रमा पुग्ने टोली नै अहिले \’\’नागरिक समाज\’\’को नाममा आन्दोलनमा जुटेको छ ।
त्यसमा पनि एनजीओ र आइएनजीओमा आवद्ध व्यक्तिहरु नै आन्दोलनमा सक्रिय देखिएपछि नागरिक समाजको भनिएकाे आन्दोलन विवादित बन्न पुगेको हो । त्यसमाथि ती आन्दोलनको गन्तव्य कहाँसम्म हो भन्ने पनि प्रष्ट छैन । नेकपाको प्रचण्ड–माधव समूह संसद पुनर्स्थापना भए पुग्ने अवस्थामा छन् ।
संघीय समाजवादीका नेताहरु पनि त्यही भनिरहेका छन् । तर, नागरिक समाजका नाम लिएर सडकमा निस्केकाहरु संसद पुनर्स्थापनाले नपुग्ने बताइहेका छन् । उनीहरु संविधान पुनर्लेखनको माग गरिरहेका छन् । खगेन्द्र संग्रौला, युग पाठकलगायतका ठूलो पंक्ति पहिले नै संविधानप्रति रुष्ट थिए । संविधान जारी गरेको घटनालाई नै उनीहरुले प्रतिगमन भनिरहेका थिए । अहिले संसद पुनर्स्थापनाले हुँदैन भनिरहेका छन् ।
त्यसैले \’\’नागरिक समाज\’\’को नामकाे आन्दोलन उनीहरुको अन्तिम गन्तव्य कहाँसम्म हो भन्ने खुल्दैन । त्यसैले नागरिक समाजको आन्दोलनले मक्सदमाथि नै प्रश्न उठिरहेको छ । त्यही बेला जातीय प्रश्न उठाएर कमरेड आहुतिले अर्को समस्या खडा गरेका छन् ।
जनै लगाउनेहरुको आन्दोलन भनेर आहुतिले टिप्पणी गरेपछि त्यहाँ अर्को समस्या देखिएको छ । अनि, नागरिक समाजको नाममा भइरहेको आन्दोलनको आर्थिक स्रोत के हो भन्ने पनि प्रश्न उठेको छ । खर्चबर्च कहाँबाट आइरहेको छ भन्ने प्रश्न उठेका कारण उनीहरु बिचमै अहिले विवाद पनि देखिन थालेको छ ।
नागरिक समाजको नाममा अहिले नारायण वाग्लेको एउटा टीम, युग पाठकहरुको अर्को टीम र गोविन्द केसीको अर्को छुट्टै टीम छ । \’\’नागरिक समाज\’\’को नाममा बृहत् नागरिक आन्दोलन गर्न सडकमा निस्किएका तीनवटा समूह बिच कुरा पनि मिलेको र एजेण्डा केही पनि मिलेको छैन । त्यसैले नागरिक समाज अहिले आफै भूमरीमा परेको त हाेइन भन्ने प्रश्न पनि खडा भएकाे छ ।




