काठमाडौं– नेपाल पत्रकार महासंघको केन्दीय समिति, प्रदेश समिति र शाखाहरुको निर्वाचन २०७७ चैत २५ गते गर्ने घोषणासँगै पत्रकारको छाता संगठनको नेता बन्न हानाथाप गर्ने क्रम ह्वात्तै बढेको छ ।
निर्वाचनको चर्चासँगै एकातिर नेपाल प्रेस युनियनसँग कस्को गठबन्धन हुन्छ भन्ने पर्खाई एकातिर देखिन्छ भने अर्कोतिर वाम गठबन्धन गरेर महासंघमा प्रेस युनियनलाई चुनौति दिने गरी चलखेल पनि हुन थालेको छ ।
यी चर्चासँगै नयाँ नयाँउम्मेदवार र गुटबन्दीले आकार लिंदै गएको छ । वाम गठबन्धनबाट शम्भु श्रेष्ठ वा किशोर श्रेष्ठलाई अध्यक्ष बनाउने भनेर चर्चा चलाइएको छ भने कुनै वाम निकट पत्रकारको संगठनले युनियनसँग सहकार्य गरेमा युनियनले नै अध्यक्ष पड्काउने सम्भावना पनि छ ।
युनियनले अध्यक्ष पाउने देखिएपछि अहिले अध्यक्ष पद पड्काउन विभिन्न खेल भएका छन । केही दिनअघि युनियनका अध्यक्ष बद्री सिग्देलले पत्रकार सम्बद्ध संगठनहरुसँग छलफल कार्यक्रम राखेकै समय पारेर बबरमहलको एक होटलमा कांग्रेसीकै अर्को टोलीले छलफल चलाएको थियो ।
रामचन्द्र पौडेल निकट मानिएका विपुल पोखरेलले आफ्नो पक्षमा माहौल सिर्जना गर्न सो भेला गराएको भनिए पनि त्यहाँ उनको पक्षमा माहौल बन्नुको साटो उम्मेदवार थपिएका छन् । विगतमा विपुल दाईलाई छोडिन्छ भन्दै आएका महासंघका अहिलेका उपाध्यक्ष दिलीप थापा मगरले अब विपुललाई पनि नछोड्ने बताएपछि तरंग उत्पन्न भएको छ । खासमा विपुलले टिकट पाए आफू वा विद्रोह गर्न परे विमलेन्द्र निधिको सचिवालयमा कार्यरत रामजी दाहाललाई अध्यक्ष खडा गर्ने गरी चलखेल गरेपछि दिलीप चिढिएको बताइएको छ ।
यस्तै कांग्रेस कै एउटा पक्षले पत्रकार महासंघमा नयाँ रेकर्ड राख्न भन्दै अनिता बिन्दुलाई पनि अगाडि सार्न खोजेको छ । त्यस्तै व्यवसायिक र स्वतन्त्र पक्षधर भन्दै अध्यक्ष पदको उम्मेदवारीका लागि लाग्ने शुल्क रु. १००। का दरले चन्दा संकलन गर्ने घोषणा गर्दै पत्रकार गजेन्द्र बुढाथोकी पनि घोष्णा पत्र सहित मैदानमा देखा परेका छन् ।
युनियनबाटै महासचिव रमेश विष्ट पनि बलियो गरी अगाडि बढिरहेको बताइन्छ । उनलाई कांग्रेस सभापति शेरबहादुर देउवाको आशीर्वाद प्राप्त हुने चर्चा छ । तर देउवा निकट युनियनका अध्यक्ष बद्री सिग्देलले पनि खुट्टा उचालेपछि तरंग उत्पन्न भएको छ । यदि सिग्देल उठ्ने भए म पनि विद्रोह गर्छु भनेर दामोदर दवाडीले पनि मुख खोल्न थालेपछि युनियनमा थप तरंग आएको छ । उता सबै बिच द्वन्द्व भए म वैकल्पिक उम्मेदवार हुन्छु भन्दै महासंघका सचिव रामप्रसाद दाहालले केही पत्रकारसँग गफगाफ दिंदै हिंड्दैछन् ।
प्रेस चौतारीको तर्फबाट उजीर मगर, बालकृष्ण बस्नेत, प्रेस संगठन, युनियनमा अध्यक्षसँगै महासचिव बन्नेहरुको पनि ताती छ । तर गठबन्धन हुँदा महासचिव अर्को संगठनले पाउने भएपछि राजेश मिश्र हिस्स पर्ने अवस्था उत्पन्न हुने बताइएको छ । युनियनले महासचिव नै पाए पनि उनलाई त्यो पद दिने सम्भावना निकै कम रहेको युनियनकै एक नेताले बताए । काठमाडौं जिल्ला र केन्द्रमा समेत गरे पा“च पटक विजयी भएका गोविन्द चौलागाई सचिव वा कोषाध्यक्षका लागि सशक्त उममेदवार भन्दै मैदानमा देखा परेका छन् ।
पत्रकार महासंघमा हाल त्रिपक्षीय(चौतारी, प्रेस संगठन र युनियन) बिच रस्साकसी चलिरहेको छ । वाम पत्रकार संगठनहरुमा चलेको द्वन्द्वका कारण यो पटक पत्रकार महासंघको नेतृत्व युनियनले हात पार्ने सम्भावना बढेको छ । युनियनका उम्मेदवारहरु दुई पक्षीय भएर झगडा गरे जस्तो नाटक गर्ने र वामपन्थी पत्रकारहरुको एउटा खेमासंग दह्रो गठबन्धन गर्ने र अन्तिममा युनियन मिलेर नेतृत्व हात पार्ने रणनीति अख्तियार गर्ने तयारी भइरहेको जानकारी हुन आएको छ । वाम पत्रकारहरु बिच प्रभाविलो छवि बनाएका महासंघका वर्तमान अध्यक्ष गोविन्द आचार्य कुनै पनि उम्मेदवारको पक्षमा नखुल्ने बताउदै आएका छन् । यदि अध्यक्ष आचार्य कतै खुलेनन् भने वाम पत्रकारहरुका लागि अर्को नोक्सानदायी पक्ष हुने छ ।
अन्तिममा उम्मेदवारको चर्चासँगै निर्वाचन समितिले निर्वाचन कार्यतालिका प्रकाशन गरिसकेको छ भने २०७७ चैत ८ गते साँझ ७ बजे यो समाचार तयार पार्दासम्म मतदाता नामावली सार्वजनिक हुन सकेको छैन । यस अनुसार २०७७ चैत १२ गते विहीवार केन्द्रीय समितिको उम्मेदवारी दर्ताको साइत जुरेको छ ।
त्यसअघि नै गठबन्धन र उम्मेदवारहरुको टुंगो लागिसक्नेछ । तर, यस पटक ७७ जिल्ला, प्रतिष्ठान, एशोसियटका लगभग १३ हजार मतदाताबाट प्रत्यक्ष निर्वाचन हुने भएकाले जो पायो त्यही उम्मेदवार मैदानमा टिकेर जीत हात पार्न भने निकै कठिन छ ।(साँघु साप्ताहिक, २०७७ चैत ९)



