काठमाडाैं । २०७ वैशाख ३० गतेका दिन दिनको ३ बजे अन्ततः नेपालको वित्तिय क्षेत्रलाई सबल तथा सक्षम बनाउने उद्देश्यका साथ नेपाल राष्ट्र बैंकले अगाडि सारेको मर्जर/एक्वीजिसन नीतिको अनुसरण गर्दै नेपाल इन्भेष्टमेण्ट बैंक लि. र हिमालयन बैंक लि. बीच एकआपसमा गाभ्न गाभिनको लागि प्रारम्भिक समझदारी पत्रमा नेपाल इन्भेष्टमेण्ट बैंक लि.को तर्फबाट अध्यक्ष पृथ्वी बहादुर पाँडे तथा हिमालयन बैंक लि. को तर्फबाट अध्यक्ष तुलसी प्रसाद गौतमले हस्ताक्षर गरी मर्जरको लागि औपचारिक रुपमा कार्य शुभारम्भ गरेका छन् ।
नेपाल इन्भेष्टमेण्ट बैंक लि.तथा हिमालयन बैंक लि.दुबै वाणिज्य बैंकको क्षेत्रमा अग्रणी बैंकहरुको रुपमा सबल एवम् सक्षम संस्थाको रुपमा सुपरिचित रहेका छन् । बैंकहरु एकआपसमा गाभिए पछि वित्तीय क्षेत्रमा थप उर्जा प्रदान गरी देश कै सबैभन्दा ठूलो वाणिज्य बैंक बन्नुका साथै यसले नेपाल राष्ट्र बैंकको नीतिलाई समेत थप उत्साह प्रदान गरी अन्य बैंकहरुलाई समेत मर्जरको लागि प्रेरित गर्ने दावी मर्जरमा गएकाे यस बैंककाे रहेकाे छ ।
मर्जर पछि बैंकको नाम “हिमालयन एण्ड नेपाल इन्भेष्टमेण्ट बैंक लि.” हुने र संचालक समितिको अध्यक्षको रुपमा पृथ्वी बहादुर पाँडे तथा प्रमुख कार्यकारी अधिकृतको रुपमा अशोक शमसेर राणा रहने सहमति भएको छ । त्यसैगरी मर्जर पछि बन्ने बैंकको संचालक समितिमा दुबै बैंकको तर्फबाट ३/३ जना संचालक नियुक्त हुने र नयॉ संचालक समितिले स्वतन्त्र संचालकको नियुक्ति गरी जम्मा ७ जनाको संचालक समिति रहनेछ ।
नेपाल इन्भेष्टमेण्ट बैंक लि. र हिमालयन बैंक लि. बीच एकआपसमा गाभिएपछि नेपाल इन्भेष्टमेण्ट बैंक लि. मा सन् १९८८ देखि कार्यरत र सन् २०१२ देखि हालसम्म प्रमुख कार्यकारी अधिकृत रहेका ज्याेति प्रकाश पाण्डेका लागि अफापसिद्ध भएकाे छ । नेपाल इन्भेष्टमेण्ट बैंक लि. मा ३३ वर्ष बिताएका प्रमुख कार्यकारी अधिकृत रहेका ज्याेति प्रकाश पाण्डे चाहिं पद मुक्त हुने प्रमुख व्यक्तिमा पर्ने भएका छन् । नेपाल इन्भेष्टमेण्ट बैंक लि. र हिमालयन बैंक लि. बीच एकआपसमा गाभिए पनि संयुक्त काराेवार भने अझै ६ महिना लाग्न सक्छ । संयुक्त काराेवार सुरू भएपछि नेपाल इन्भेष्टमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत रहेका ज्याेति प्रकाश पाण्डे पद मुक्त हुनेछन् । प्रमुख कार्यकारी अधिकृत रहेका ज्याेति प्रकाश पाण्डे पद मुक्त भएपनि उनी उपप्रमुख कार्यकारी अधिकृतकाे पदमा वहाल रहिरहने नेपाल इन्भेष्टमेण्ट बैंक श्राेतले बतायाे ।
हाल नेपाल इन्भेष्टमेण्ट बैंक लि.को चुक्ता पुँजी रु.१६.२६ अरब.तथा हिमालयन बैंक लि. को चुक्ता पू‘जी रु. १०.६८ अरब रहेकोमा दुबै बैंक एक भएपछि बैंकको चुक्ता पुँजी रु.२६.९४ अरब भै सबैभन्दा बढी चुक्ता पुँजी भएको बैंक बन्नेछ ।
त्यसैगरी हाल नेपाल इन्भेष्टमेण्ट बैंक लि.को जगेडा तथा कोष रु. १४.१० अरब र हिमालयन बैंक लि. को रु. ७.६७ अरब, कर्जा लगानी तर्फ हाल नेपाल इन्भेष्टमेण्ट बैंक लि.को रु. १६०.९८ अरब र हिमालयन बैंक लि. को रु. १२७.१४ अरब, र निक्षेप तर्फ नेपाल इन्भेष्टमेण्ट बैंक लि.को रु. १६८.२९ अरब र हिमालयन बैंक लि. को रु. १४३.७० अरब रहेको हुँदा मर्जरपछि हरेक क्षेत्रमा सबैभन्दा सबल र ठूलो बैंक हुनेछ ।
दुबै बैंकहरु एक आपसमा गाभिए पश्चात् संस्थाको पुँजी वृद्धि, कार्य क्षेत्र तथा कार्य क्षमतामा अभिवृद्धि हुनुका साथै मुलुकको एक सबल एवम् सक्षम बैंकको रुपमा वित्तिय बजारमा स्थापित भई ग्राहकवर्गलाई थप उत्कृष्ट सेवा तथा सुविधा प्रदान गर्न तथा लगानीकर्ताहरुलाई राम्रो प्रतिफल दिन सक्षम हुने विश्वास र प्रतिवद्धताका साथ यो मर्जर कार्यमा लागेको दुबै बैंकका अध्यक्षहरुले जानकारी गराएका थिए । उनीहरुले यो रुपान्तरणकारी प्रयासमा हौसला दिने तथा साथ सहयोग पु¥याउने नेपाल सरकार, नेपाल राष्ट्र बैंक लगायत सम्बन्धित सम्पूर्ण क्षेत्र तथा शुभेच्छुकहरुप्रति हार्दिक आभार व्यक्त गरेका छन् ।



