कोरोना भाइरस उत्पत्तिबारे अनुसन्धान गर्ने अमेरिकाको निर्णयप्रति चीनले तीव्र असन्तोष प्रकट गरेको छ ।
अमेरिकाले सुरुदेखि नै चिनियाँ प्रयोगशालाबाट कोरोना भाइरस उत्पत्ति भएको आशंका गर्दै आएको छ । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले त ठोकुवा नै गरेर यसको उत्पत्ति चीनमा भएको दाबी गरेका थिए । यहीबीच अमेरिकाले चिनियाँ प्रयोगशालाबाट कोभिड–१९ उत्पत्ति भएको हो वा होइन भन्नेबारे अनुसन्धान थाल्ने निर्णय गरेको हो । अमेरिकी राष्ट्रपति जो बाइडन भाइरसको उत्पत्तिबारे गुप्तचर निकायले तयार पारेको प्रतिवेदन सार्वजनिक हुने विश्वासमा छन् । जसको चीनले निन्दा गरेको छ ।
चिनियाँ विदेश मन्त्रालयले अमेरिकाले कोभिड–१९ भाइरसलाई राजनीतिक आवरण दिएको आरोप लगाएको छ । यसको मक्सद अरूलाई दोषी देखाउनु रहेको उसको भनाइ छ ।
चिनियाँ विदेश मन्त्रालयले वुहान सहरमा रहेको अनुसन्धान प्रयोगशालाबीच कुनै सम्बन्ध नरहेको पनि दाबी गरेको छ ।
यो भाइरस प्रयोगशालाबाट नभई जनावरबाट मानिसमा सरेको धारणा अग्रणी वैज्ञानिकले राख्दै आएका छन् । चिनियाँ अधिकारीहरूको प्रारम्भिक संक्रमण वुहानको समुद्री खानेकुरा पाइने बजारसँग जोडिएको भनाइलाई पछ्याउँदै वैज्ञानिकहरू यस्तो निचोडमा पुगेको बताइन्छ ।
विश्वमा सबैभन्दा पहिले सन् २०१९ को डिसेम्बर अन्तिम साता कोरोना भाइरस संक्रमण भेटिएको थियो । जसले महामारीको रूप लिँदा विश्व नै आक्रान्त भएको छ । हालसम्म यो भाइरसबाट ३५ लाख बढी मानिसले ज्यान गुमाइसकेका छन् भने १६ करोड ८० लाखभन्दा बढी संक्रमित छन् ।



