काठमाडौँ, १९ जेठ(रासस): राष्ट्रपति विद्यादेवी भण्डारीले युवा राजनीतिकर्मी एवं विवेकशील साझा पार्टीका संस्थापक संयोजक उज्ज्वल थापाको निधनमा दुःख व्यक्त गर्नुभएको छ ।
राष्ट्रपतिले जेठ १८ गते बेलुका ट्वीट गर्दैै दिवङ्गत थापाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारमा समवेदना पनि व्यक्त गर्नुभएको छ ।
प्रमबाट थापाको निधनमा दुःख व्यक्त
प्रधानमन्त्री केपी शर्मा ओलीले विवेकशील साझा पार्टीका संस्थापक संयोजक उज्ज्वल थापाको निधनमा दुःख व्यक्त गर्नुभएको छ ।
जेठ १८ गते साँझ ट्वीट गदै प्रधानमन्त्री ओलीले दिवंगत थापाप्रति श्रद्धाञ्जलि र शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले पनि फरक तरीकाबाट छोटो समयमै आफ्नो ‘राजनीतिक अभियान’प्रति धेरैको ध्यानाकर्षित गर्न सक्षम थापाको असामयिक निधनमा दुःख व्यक्त गर्नुभएको छ ।
उहाँले सामाजिक सञ्जालमार्फत शोकाकुल परिवारजनमा समवेदना पनि व्यक्त गर्नुभएको छ ।
थापाको अभाव नेपाली राजनीतिक क्षेत्रले लामो समय महसुस गर्छ : एमाले
नेकपा (एमाले)ले विवेकशील साझा पार्टीका पूर्वसंयोजक उज्ज्वलबहादुर थापाको निधनले नेपाली राजनीतिक क्षेत्रले लामो समय अभाव महसुस गर्ने बताएको छ । पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङद्वारा जारी विज्ञप्तिमा थापाको राजनीतिक दर्शन नेपाली युवाका लागि प्रेरणाको स्रोत रहेको उल्लेख गर्दै उहाँ नेपालको राजनीतिक क्षितिजमा नयाँ आशा र दृष्टिकोणसहित उदाउँदै गरेको एक राजनीतिक र सामाजिक व्यक्तित्व भएको जनाइएको छ ।
एक असल राजनीतिक मित्र गुमाएको जनाउँदै एमालेले उहाँप्रति श्रद्धाञ्जलिका साथ परिवाजन र पार्टीप्रति समवेदना व्यक्त गरेको छ ।
नेपाली राजनीतिमा ठूलो क्षति पुगेको छःदेउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विवेकशील साझा पार्टीका पूर्वसंयोजक तथा तत्कालीन विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्ज्वल थापाको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । युवा राजनीतिकर्मी थापाको उपचारका क्रममा आज निधन भएको हो ।
सभापति देउवाले आज शोक वक्तव्यमार्फत उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चिरशान्तिको कामनाका साथ पार्टी र आफ्ना व्यक्तिगत तर्फबाट शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । उदीयमान युवा नेताका रुपमा आफूलाई स्थापित गर्न सफल थापाको निधनले नेपाली राजनीतिमा ठूलो क्षति पुगेको सभापति देउवाले जनाउनुभएको छ ।
—




