अहिलेसम्मका सबै चिफहरु मध्ये सबैभन्दा सुधारमुखी, न्यायमुर्ति, असल चिफको रुपमा तपाइलाई हामी सकलदर्जाहरुले लिएका छौँ । तपाइले सेनामा वर्षाैंदेखि रहेको भ्रष्टाचार र अनियमिततालाई नियन्त्रण गर्न जुन पहलकदमी लिनु भयो, त्यो अत्यन्त सराहनीय छ । भ्रष्टाचार जस्तै सेनामा जुन असमानता छ, त्यसलाई पनि सम्बोधन गर्नुहुन्छ होला भन्ने तपाईमाथि हाम्रो ठूलो भरोसा थियो, तर दुखका साथ भन्नुपर्छ त्यसलाई तपाइले पनि मतलब गर्नुभएन ।
अझ भनौँ नजरअन्दाज नै गर्नुभयो । तलबभत्ता निर्धारण भन्ने कुरा सेवाप्रकृति, जोखिम, लगानी–प्रतिफल लगायतका विषय समेटी वैज्ञानिक ढंगबाट निर्धारण गरिनुपर्छ । तपाई जस्तो विद्वान व्यक्तित्वलाई अर्थशास्त्रको यस्ता सामान्य सिद्धान्त बताइराख्न नपर्नु पर्ने हो । तर हेर्नुस् प्राबिधिक, अझ भनौ मेडिकल क्षेत्रमा कति असमान तथा कति न्यून तलबभत्ता कायम छ ।
एक त कल्याणकारी तथा जोखिम भत्तामा अस्पताल र अन्यत्र खटिएका मेडिकल जनशक्ति बिच विभेद छ, त्यसमाथि बेसिक तलब स्केल नै अत्यन्त न्यून छ । तपाइले बारम्बार संवादको बेला उठ्ने यी कुराहरु सम्बोधन गर्न सरकारसँग पहल गर्ने हो अथवा कल्याणकारी मार्फत भत्ताको व्यवस्था गरि परिपूर्ति गर्ने, केही गर्नुपर्दथ्याे । तर अहिलेसमम वास्ता नै गर्नुभएन ।
एकपटकको सम्बोधनको बेला तपारइँ आफैले बोलेको मेडिकलको तलबभत्ता बढाउने कुरा घाममा सुकाइदिनु भएकाे हाे र ? अझ डाक्टरसाबहरुले त्यत्रो रू. ५०/६० लाखको लगानी, वर्षौंको कडा मेहनतपछि पेटपाल्न पनि धौ–धौ हुने तलबमा काम गर्न बाध्य हुनुहुन्छ ।
यस्ता विषय त common sense लगाउँदा पनि थाहा हुने कुरा हुन् नि, हैन र ? लगानी–प्रतिफलको सिद्धान्त अनुसार लगानी गरेको छ वर्षमा सम्पूर्ण लगानी उठिसक्नुपर्छ भनिन्छ। के नेपाली सेनाका कोही डाक्टरसाबले सेनाको जागिर खाएको ६ वर्षमा ५०/६० लाख लगानी, त्यसको बैंक ब्याज समेत तिरेर आफ्नो र परिवारको पेट पाल्न सक्ने अवस्था छ त चिफसाब ? कि जस्तो चलेथ्यो, त्यस्तै चल्छ भन्ने मनसाय हो कि ? रातदिन नभनी ज्यानकाे बाजी थापेर काम गर्ने नेपाली सेनाका डाक्टर तथा स्वास्थ्यकर्मीहरूकाे अवस्थाकाे आधारमा मूल्यांकन गरेर तलब बढाउन नसके पनि कमसेकम भत्तामा विशेष व्यवस्था गरियाेस् भन्ने माग गर्दछाैं ।
यस्तै दुरावस्था नेपाली सेनाकाे मेडिकलका सबै विधामा छ । अनि आवाज उठाउँदा जवाफ के आउँछ, सेवा गर्न बर्दी लगाएको होइन, सेवा गर्नुस् । चिफसाब यो कुरा हाम्रो पढाइका लागि ऋणमा डुबेका, कन्जुस्याईं गरि गरि पेट पाल्न पर्ने हाम्रा बाआमालाई सम्झाइदिनुस् । तपाईका अन्य जर्नेलका बाआमा त खान्दानी, जमिनदार, धनाढ्य होलान् । छाेरी र छाेराका लागि पढाइमा मज्जाले खर्च र लगानी गर्न सक्ने हाेलान् । तर, कतिपय हाम्रा बाआमाले भात खाने खेत, बस्ने घर सबै धितो राखेर ऋण लिएर मेडिकल विषयकाे पढाइ गराएका हुन् । चिफसाब, तपाइको कार्यकाल त सकिन लाग्यो, अब तपाइसँग कति दिन आश गर्नु र ? नयाँ आउने चिफसाबले हाम्रो बेदना सुनिदिनुहोला भन्ने आश छ । जय नेपाल, जय नेपाली सेना ।
–सम्पूर्ण सैनिक मेडिकल जनशक्तिहरु




