काठमाडौं । नेकपा एमाले (समाजवादी) र जनता समाजवादी पार्टी (लोकतान्त्रिक) निर्वाचन आयोगमा दर्ता नहुने भएका छन् ।
सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेश राष्ट्रपतिले प्रमाणीकरण गरेपछि बुधबार एमालेबाट अलग भएर माधवकुमार नेपालले नेकपा एमाले (समाजवादी) र महन्थ ठाकुरले जनता समाजवादी पार्टी (लोकतान्त्रिक) दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए । तर आयोगले सर्वोच्च अदालतको गत फागुन २३ को फैसला र दलसम्बन्धी ऐनको हवाला दिँदै यी दल दर्ता गर्न नमिल्ने जानकारी गराएको छ ।
दलसम्बन्धी ऐनमा कुनै पनि दलको नाममा भ्रम सिर्जना गर्ने गरी अर्को दल दर्ता गर्न नमिल्ने प्रावधान छ । त्यस्तै गत फागुन २३ को फैसलामा पनि दलको नाम र चुनाव चिह्नमा मेल खानेगरी अर्को दल दर्ता गर्न नमिल्ने उल्लेख छ ।
स्रोतका अनुसार, यी दुवै दललाई छुट्टै नाम लिएर आउन जानकारी गराइएको छ ।
माधव नेपाल र महन्थ ठाकुरले अहिले प्रस्ताव गरेको दल दर्ता गर्न नमिल्ने भएकाले अर्को नयाँ नाम राखेर आउन जानकारी गराइएको छ,’ निर्वाचन आयोग स्रोतले भन्यो ।



