काठमाडौं । अक्सर प्रहरीको खोजी र निगरानीमा अपराधी र आपराधिक मानसिकताका व्यक्ति हुने गर्छन् । तर परिस्थितिले कहिलेकाहीँ प्रहरीले प्रहरी नै खोज्नुपर्ने अवस्था बनिदिँदो रहेछ ।
नेपाल प्रहरीमा अहिले यस्तै भएको छ । र, यस्तो परिस्थिति आउनुको कारण छ, कार्यरत प्रहरी बिनासूचना लामो समयसम्म सम्पर्कमा नआउनु ।
आठ प्रहरी बिनाजानकारी लापत्ता भएपछि तिनको सोधीखोजी थालिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । कार्यालयका अनुसार, सुरुमा हाजिर हुन सूचित गरिएकोमा त्यसको बेवास्ता भएपछि सफाइका लागि सान दिने सूचना जारी गरिएको छ ।
प्रहरी नियमावली, २०७१ नियम ११५ को (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस गर्दासमेत सम्पर्कमा नआएको अवस्थामा सफाइका लागि सातदिने समय दिने र चित्तबुझ्दो जवाफ नआएमा सेवाबाट बर्खास्त गर्ने प्रावधान छ ।
विनाजानकारी अनुपस्थित हुने प्रहरी कर्मचारीमा प्रहरी हवल्दार खड्कबहादुर थापा, मानसिंह ठगुन्ना, प्रहरी जवानहरू देवेन्द्र राई, प्रेमचन्द्र गौतम, चन्द्रबहादुर विक, क्षेत्रबहादुर अधिकारी, सज्जन पुन मगर र प्रहरी कार्यालय सहयोगी छविलाल अधिकारी छन् ।
उनीहरूलाई सात दिनभित्र गैरहाजिर हुनुको कारण खोजी स्पष्टीकरण दिन भनिएको छ । चित्तबुझ्दो स्पष्टीकरण प्राप्त नभएमा प्रहरी नियमावली २०७१ को नियम ११३(१) को खण्ड (च) को कसुरमा सोही नियमावलीको नियम १०९ (ख) (१) बमोजिम कारबाही हुने प्रधान कार्यालयले चेतावनी दिएको छ ।
सुरक्षा निकायमा खासगरी तल्लो दर्जाका कर्मचारीले बीचमै जागिर छाड्ने समस्या पेचिलो बन्दै आएको छ । सुरक्षा संगठनमा कार्यरतका लागि वैदेशिक रोजगारीमा राम्रो पारिश्रमिक मिल्ने भएकाले अधिकांश त्यसतर्फ आकर्षित हुने गरेका छन् । पेन्सनको अवधिका कारणले पनि सेवाप्रति विकर्षण अध्ययनहरूको निष्कर्ष छ ।



