काठमाडौं । सामान्य प्रशासन मन्त्रालयले प्रदेशमा सरुवा गरेका कर्मचारीलाई रमाना लिएर हाजिर हुन नगए जागिरबाटै बर्खास्त गर्ने चेतावनी दिएको १९ दिन भइसकेको छ । तर चावहिल मालपोत कार्यालयका कामु प्रमुख बद्रीबहादुर कार्की २०७४ फागुन २६ गतेसम्म पनि खटाएको कार्यालयमा गएका छैनन् । सरकारले फागुन ८ गतेसम्म खटाएको कार्यालयमा नजाने कर्मचारीलाई बर्खास्त गर्ने जानकारी दिएको थियो । बर्खास्त गर्ने चेतावनीका बाबजुद सामान्य प्रशासन मन्त्रालयले पटक पटक ताकेता गरे पनि काठमाडौं उपत्यकाका जनसम्पर्क हुने कार्यालयमा कार्यरत कर्मचारीहरु अटेर गरी खटाएको प्रदेशमा हाजिर हुन गएका छैनन् ।
तिनैमध्येका हुन्, मालपोत कार्यालय चावहिलका कामु प्रमुख कार्की । उनको सरुवा २ नम्बर प्रदेशमा भएको छ । उनी सरुवा भएको कार्यालयमा नजानका लागि धेरै शक्तिकेन्द्र धाए । तर सामान्य प्रशासन मन्त्रालयका सचिव शंकर कोइरालाले शक्तिकेन्द्रको दबाब नमानेपछि उनी सामान्य प्रशासन मन्त्रालयलाई उल्टै चावहिल मालपोत कार्यालयमा सही गर्ने कोही पनि अधिकृत नभएकाले सरुवा रोक्न पत्र पठाएको कर्मचारी स्रोत बताउछ ।
भूमिसुधार तथा ब्यवस्था विभागले कार्कीको चाहनामा सामान्य प्रशासन मन्त्रालयलाई चावहिल मालपोतबाट उनलाई सरुवा नगर्नका लागि पत्र पठाएको छ । विभागको सिफारिसअनुसार मन्त्रालयले उनलाई सरुवा नगर्न सामान्यलाई पत्र पठाएको छ । भूमिसुधार मन्त्रालयका सहसचिव टीकाराम घिमिरेले चावहिल मालपोत कार्यालयमा अधिकृतहरु सबैको सरुवा भएकाले काम गर्न अप्ठेरो भएकाले सामान्यमा सरुवा रोक्न पत्र पठाइएको बताए ।
बद्र्रीबहादुर कार्की शाखा अधिकृत हुन् । तर, उपसचिव प्रमुख हुने चावहिल मालपोत कार्यालयको कामु प्रमुखका रुपमा कार्यरत छन् । उपसचिवहरु पर्याप्त हु“दाहु“दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख दीप बस्नेतको दबाबमा उनी अधिकृत भए पनि कामु कार्यालय प्रमुख छन् । सरकारले कित्ताकाट रोक लगाएको छ । अदालतले पनि त्यो निर्णय सही ठहर गरिसकेको छ । तर मालपोत कार्यालय प्रमुख कार्कीले प्रतिआना डेढ लाख घुस लिएर धमाधम कृषियोग्य जग्गा कित्ताकाट गरिरहेका छन् । उनी मालपोत कार्यालय चावहिलमा सरुवा भएदेखि अहिलेसम्म पू“जीगत लाभकर छली र कित्ताकाटबाट दसौं करोड रुपैया“ घुस असुली गरिसकेको आरोप छ ।
अख्तियारमा कार्यरत कार्की लामो समय मालपोत कार्यालयमा काम गरिसकेका र घुसले नै अरब सम्पत्ति आर्जन गरेका अधिकृत हुन् । उनीविरुद्ध परेका अकूत सम्पत्तिका उजुरी मिलाउन उनी केही बर्षअघि अख्तियारमा सरुवा भए । उजुरी मिलाइसकेपछि पुनः अख्तियारकै प्रमुख आयुक्त र एक सहसचिवलाई राम्रो रकम बुझाएर उनी शाखा अधिकृत भए पनि कार्यालय प्रमुखको रुपमा सरुवा हुन सफल भएका हुन् ।
चावहिल मालपोतमा कृषियोग्य जग्गा कित्ताकाट रोक लगाइसकेपछि पनि उनले अदालतको आदेश विरुद्ध धेरै जग्गा कित्ताकाट गरेका छन् । साविक गोठाटार गाविसको नक्सा नम्बर १०२–११९०–११ को एउटै प्लटिङको जग्गा कित्ताकाट गर्दा कार्कीले ३३ लाख रुपैया“ घुस लिएको आरोप छ । उक्त कृषियोग्य जग्गा परिपत्रको उल्लंंघन हुनेगरी उनले कित्ताकाट गरेका छन् ।
गोठाटार एक उदाहरण हो, मन्त्रालयको परिपत्रपछि चावहिल मालपोत कार्यालयबाट सयौं कित्ता कृषियोग्य जग्गा अदालतको फैसलासमेत उल्लंघन गरी हजारौं टुक्रा गरिएको छ । यसैगरी एउटै कित्तामा ३३ लाख घुस खान पल्किएका कार्कीले सरुवा रोक्न भूमिसुधार मन्त्रालयलाई नै प्रयोग गर्न सफल भएका छन् । भूमिसुधार मन्त्रालयका एक अधिकारीको प्रश्न छ– हेरौ, खटाएको कार्यालयमा नजानेलाई बर्खास्त गर्ने चेतावनी दिएको सामान्य प्रशासन मन्त्रालयले यी डनलाई बर्खास्त गर्छ कि गर्दैन ?
(२०७४ फागुन २८ को साँघु साप्ताहिकबाट)



