काठमाडौँ, ३ चैत : राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले तीव्रता पाउने भएको छ ।
नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले २०७४ चैत २ गते साँझ मन्त्रालयको पदभार सम्हाल्दै देशकै मुख्य प्राथमिकता निजगढ विमानस्थल भएको र यसको निर्माण कार्य तीव्ररुपमा अघि बढाइने बताए।
मन्त्री अधिकारीको पदभारको पहिलो नीतिगत निर्णयमा परेको निजगढ विमानस्थललाई चाँडो प्रक्रिया अघि बढाउन निर्देशन पनि दिए । मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले विभिन्न निर्णय पढेर सुनाउँदै गर्दा मन्त्री अधिकारीले भने, “मुख्य प्राथमिकता निजगढ हो, यो मेरो मात्र भन्ने नठान्नुस् राज्यकै प्राथमिकताको आयोजना पनि हो ।”
त्यसैगरी सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउन ‘भिजिट नेपाल इयर’ एक महिनाभित्र सचिवालय गठन गरी आवश्यक कार्यक्रम तय गरिसक्ने र चीन र भारत केन्द्रीय पर्यटन प्रबर्ध्दनलाई तीब्रता दिने मन्त्री अधिकारीको पहिलो निर्णयमा परेका छन् । सन् २०२० मा १५ लाख पर्यटक पु¥याउने गरी भ्रमण वर्ष मनाउन लागेको हो । सन् २०१७ मा १० लाख पर्यटक नेपाल आएका थिए ।
पदभार ग्रहणपछि मन्त्रालय मातहतका निकायलाई निर्देशन दिदैँ मन्त्री अधिकारीले उच्च मनोवल र उच्च स्वाभिानका साथ परिणाम आउनेगरी काम गर्न निर्देशन पनि दिए ।
को हुन अधिकारी
वि.सं. २०२६ साल वैशाख २२ गते भरतपोखरी–९ कास्कीमा जन्मिएका हुन् । अनेरास्ववियुबाट राजनीति सुरु गरेका अधिकारी एमालेका प्रखर नेताको रुपमा गनिन्छन् । उनी तीन पटक प्रत्यक्ष निर्वाचित सांसद हुन् ।
व्यवस्थापनमा स्नातकोत्तर उत्तीर्ण अधिकारी वि.स. २०६४ सालको संविधानसभा निर्वाचनमा कास्की क्षेत्र नम्बर ३ बाट विजयी भएका थिए यस्तै उनी २०७० सालको निर्वाचनमा कास्की–३ बाटै प्रत्यक्ष निर्वाचित भए भने २०७४ मा कास्की–२ बाट विजयी भएका हुन् ।
( नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्रप्रसाद अधिकारी शुक्रबार मन्त्रालयमा पदबहाली गर्दै । तस्बिरः प्रदीपराज वन्त , रासस)



