काठमाडौं । नेपालका सहकारी हुण्डीको अखडा रहेको भेटिएको छ । अवैध ढंगले विदेशबाट पठाइएका रकममध्ये ८० प्रतिशतको संरक्षक सहकारी रहेको खुलेपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आफ्नो अनुसन्धानलाई तीव्रता दिएको जानकारी हुन आएको छ । नियमतः विदेशी भूमिबाट एक हजार डलरभन्दा बढी रकम रेमिट्यान्समार्फत पठाउनु पर्छ । यदि कसैले त्यसो नगरी चोरबाटो भएर रकम पठाउँछ भने त्यो अवैध हुन्छ ।
अवैधानिक तरिकाले रकम पठाउने कार्यलाई हुण्डी भनिन्छ । विदेशमा यस्तो काममा धेरै नेपाली सक्रिय रहेका छन् । स्रोतका अनुसार, यसरी हुण्डीमार्फत रकम पठाउन अहिले बैंक तथा वित्तीय संस्था प्रयोग भइरहेका छन् । वित्तीय संस्थामा सहकारीमा मात्रै असी प्रतिशत हुण्डीको कारोबार हुने गरेको छ ।
मुलुकको रेमिट्यान्स घटेपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले अहिले यसबारे अनुसन्धान गरिरहेको छ । जसबाट ८० प्रतिशत हुण्डी सहकारीमा आइपुग्ने तथ्य खुलेको छ । ‘नेपालमा अहिले हुण्डीको कारोबार बढेको छ,’ सीआईबी स्रोतले साँघुसँग भन्यो, ‘हुण्डी कारोबारको असी प्रतिशत हिस्सा सहकारीमार्फत हुने गरेको खुलेको छ ।’
अनुसन्धान टुंगोमा पुगिनसकेकाले हुण्डी कारोबारमा संलग्न सहकारीबारे सीआईबीले अहिलेसम्म गोप्य राखेको छ । नेपालमा हाल ३२ हजारको हाराहारीमा सहकारी संस्था रहेको अनुमान छ । नेपाल राष्ट्र बैंकको तथ्यांकले पनि हुण्डीको कारोबार बढेको संकेत गरेको छ । राष्ट्र बैंकका अनुसार, चालु आर्थिक वर्षको पछिल्लो चार महिनामा गत वर्षको सोही अवधिको भन्दा साढे सात प्रतिशतले रेमिट्यान्स घटेको छ । अवैधानिक बाटोबाट रकम भित्रिएकाले यस्तो भएको हुनसक्ने आशंका मात्रै गरेर राष्ट्र बैंक बसेको छ । समस्या पहिचान गर्नेतर्फ उसले कुनै ठोस कदम अहिलेसम्म चालेको छैन ।
विगतमा हुण्डी कारोबार लिने र दिने आमनेसामने भएर गर्नुपर्न बाध्यता थियो । तर अहिले प्रविधि हुण्डी कारोबारीका निम्ति बरदान् भएको छ । स्रोतका अनुसार, मोबाइल बैंकिङको सहायताले उनीहरूले भर्चुअल माध्यममार्फत हुण्डीको कारोबार गरिरहेका छन् । प्रविधि प्रयोग गरेर हुण्डी कारोबार गर्नेमा दक्षिण कोरियामा रहेका नेपाली सबैभन्दा धेरै छन् । यसले अनुसन्धानमा समेत प्रहरीले अप्ठ्यारो परेको छ ।
हुण्डी कारोबारमा संलग्न
अधिकांश एनआरएनएका
विदेशी भूमिमा रहेका नेपालीको हक–हित खातिर काम गर्नु र स्वदेशको समृद्धिमा सघाउनु हो । तर एनआरएनएका केही अधिकारी स्वयं देशलाई नोक्सानी पु¥याउने हुण्डी कारोबारमा संलग्न रहेको स्रोत बताउँछ । विभिन्न देशका एनआरएनएका अधिकारीले पर्दा पछाडिबाट यस्तो काम सञ्चालन गर्ने गरेको आरोप छ । त्यसमा निम्ति उनीहरूले एजेन्ट नै नियुक्ति गरेर काम गर्ने गरेका छन् । एनआरएनएमा संलग्न सदस्य तथा पदाधिकमारीले नेपाली कामदारबीच विज्ञापन नै गर्ने गरेका छन् । जसलाई तलब नै दिने गरिएको छ । जापान, दक्षिण कोरियालगायत नेपाली बढी रहेको स्थानमा यस्ता गतिविधि धेरै छन् । ‘जापानका गल्लीगल्लीमा हुण्डीकारोबारीका एजेन्ट भेटिन्छन्,’ जापानमा रहेको एक नेपालीले भने ।
जानकारहरूका अनुसार, यस्तो कारोबारमा एनआरएनका पदाधिकारीहरूले चलाखीपूर्वक काम गर्ने गरेका छन् । उनीहरूले हुण्डी गर्ने र गराउने आफ्ना एजेन्ट खटाएका हुन्छन् । विभिन्न समयमा एनआरएनका अध्यक्ष, उपाध्यक्ष, सचिवजस्ता पदमा बसेर काम गरेकाहरू हुण्डी कारोबारमा जोडिएको स्रोत बताउँछ ।
स्रोतका अनुसार, दक्षिण कोरियामा मात्रै हुण्डीमार्फत नेपालमा पैसा पठाउन तीन वटा सञ्जाल खडा गरिएका छन् । यस्ता सञ्जालले सुरुमा कामदारसँग रकम संलकन गर्छन् र नेपाल पठाउँछन् । त्यसरी रकम पठाउँदा अधिकांशले सहकारी रोज्ने गरेका छन् । हुण्डी कारोबारका घटना बढे पनि यसमा राज्यले चासो देखाएको छैन । सार्वजनिक भएका घटनाको अनुसन्धान नगर्दा हुण्डी कारोबारीको मनोबल थप बढेको जानकारहरू बताउँछन् । हुन पनि अवस्था त्यस्तै छ । दुई वर्षअघिकै एउटा घटनालाई हेरौं ।
०७६ साउनमा महाबौद्धस्थित प्रणामी बचत तथा ऋण सहकारी संस्था सहकारीमा स्रोत नखुलेको ६१ करोड रूपैयाँ फेला प¥यो । सहकारी विभागले यसबारे खोजबिन गर्दा त्यो रकम पूर्व सञ्चारमन्त्री समेत रहेका नेपाली काग्रेसका नेता मोहनबहादुर बस्नेतको भएको पत्तो लाग्यो । यो प्रकरण सम्पत्ति शुद्धीकरण विभाग पुगेको थियो । यसबारे दुई वर्षअघि नै विभागले छानबिन गर्ने बताए पनि अनुसन्धान कहाँ पुग्यो ? अहिलेसम्म अत्तोपत्तो छैन । हुण्डी कारोबारीका प्रकरण आउँदा यसैगरी पन्छाएर अनुसन्धान फितलो पार्ने गरिएको छ । जसले हुण्डी कारोबारलाई राज्य तहबाटै मलजल पुगिरहेको छ ।
सहकारी विभाग सहकारीहरूको नियामक निकाय हो । मातहतका सहकारीले विधि र पद्धतिअनुसार काम गरे÷नगरेको हेर्ने दायित्व विभागको हो । सिआइबीको दाबी पत्याउने हो भने देशभरका कैयन् सहकारी हुण्डी कारोबारमा अनधिकृत ढंगले जोडिएका छन् । यस्ता सहकारीमाथि अनुसन्धान गरेर विभागले कारबाहीको प्रयास गर्नुपर्ने हो । तर विभाग यसबारे अहिलेसम्म करिब करिब बेखबर जस्तै छ भन्दा हुन्छ । उसलाई सहकारीले हुण्डी कारोबार गरिरहेको जानकारीसम्म छैन । विभागका एक अधिकारी सहकारीले हुण्डीको कारोबार गरिरहे पनि विभागका अधिकारी बेमतलबी बनेर बस्ने गरेको आरोप लगाउँछन् ।
‘देशभरका सहकारीले अहिले हुण्डीको अवैध काममा संलग्न गराएको विभिन्न गुनासा आइरहेका छन्,’ विभागका एक अधिकारीले साँघुसँग भने, ‘तर जिम्मेवार अधिकारी यसबारे अनुसन्धान गर्नतिर लाग्नुको साटो मौन बसेका छन् । यस्तो कार्यले देशभरका सहकारी उद्देश्यविपरीतका काममा इन्गेज हुँदै जाने खतरा बढाएको छ ।’




