काठमाडौं । देशभरिका २ सयभन्दा बढी पालिका प्रमुख प्रशासकीय अधिकृतविहीन भएका छन् । अहिले स्थानीय तहका पदाधिकारीको समयावधि सकिन लागेको र उनीहरुले सम्पन्न गर्ने काममा असहजता नहोस् भन्ने लागेर अहिले निमित्तको भरमा छोडेको मन्त्रालय स्रोत बताउँछ । मन्त्रालय स्रोतका अनुसार, अबको केही महिनामा ती सबै स्थानमा पदपूर्ति हुन्छ, अहिले लोकसेवाबाट तीन सयको हाराहारीमा शाखा अधिकृत र ६० जना उपसचिव आउने तयारीमा रहेका छन् । ती सबैलाई आधारभूत तालिम दिएपछि पठाउने तयारी गरेको छ । त्यहाँ जाने भनेको अब आउने नयाँ कर्मचारी नै हुन् ।
अब स्थानीय तहको पदाधिकारीको पदावधि सकिन तीन महिना बाँकी छ । उनीहरुको पदावधि सकिनु पूर्व नै हाम्रा कर्मचारीहरु त्यहाँ पुगिसक्छन् । अहिले सबैभन्दा धेरै स्थानीय तह, गृहमा एकसय जना जति खाली छ । त्यसैगरी मालपोत र संचार धेरै खाली भएका निकाय हुनु । नयाँ मान्छेले त्यहाँ गएर काम गर्न सक्छ त भन्ने साँघुको प्रश्नमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव एवं प्रवक्ता बसन्त अधिकारी भन्छन् पहिला पनि हामीले तालिम लिंदै गरेको २ सय ८० जनालाई स्थानीय तहमा नै पठाएको हो । लोकसेवा आयोगले क्षमतावान ठानेर सिफारिस गरेको र नेपाल सरकारले अधिकृतको रुपमा नियुक्ति दिएका व्यक्ति भएको हुनाले उनीहरुले काम गर्न सक्छन् भन्ने हो । उनीहरुले राम्रो काम गरिरहेका पनि छन् ।
स्टाफ कलेजले आधारभूत तालिम दिन्छ, त्यसको अलवा आवश्यकताको आधारमा अन्य तालिम पनि दिने व्यवस्था छ । तर, त्यो भने जिम्मेवारी तोकिएपछि अनलाइन माध्यमबाट दिने गरेको अधिकारी बताउनु हुन्छ । अहिले आउने अधिकृतलाई विभाजन गरेर गृह, मालपोत, संघीय मामिलामा खटाइन्छ । उनीहरुलाई जहाँ खटाइन्छ त्यहाँको नीति योजना र काम गर्ने तौर तरिकाबारे त्यहाँ नै तालिमको व्यवस्था हुन्छ । त्यसका लागि आआफ्नै सरोकारवाला निकायले सहयोग गर्छन् । त्यसमा पनि ५० प्रतिशत त पहिला काम गरिरहेका खरदार र सुब्बा नै हुन्छन् भने बाँकी ५० प्रतिशत नयाँ हुन्छन् । यो कुरालाई जिम्मेवारीले पनि धेरै कुरा सिकाउने अधिकारी बताउनु हुन्छ ।
मन्त्रालयले पठाएका कतिपय प्रमुख कार्यकारी अधिकृतलाई पालिका प्रमुखले हाजिर नगराई फिर्ता पठाउने गरेका छन्, यसको कारण के होला भन्ने अर्को प्रश्नमा अधिकारी भन्छन्–‘कतै–कतै यो समस्या देखिएको छ । यसको मुख्य कारण भनेको उनीहरुको मिलेमतो हो हामी यो बेथितीको अन्त्य गर्ने तयारीमा मन्त्रालय लागि परेको छ ।’
नियुक्ति लिन मन्त्रालयमा भीड
भर्खरै नियुक्त भएका तीनसय भन्दा बढी शाखा अधिकृतलाई २०७८ माघ २० गते सरकारले नियुक्ति पत्र दिएको छ । मन्त्रालयमा भित्र राखेर प्रशासन शाखाबाट नियुक्ति दिँदा कोभिडको जोखिम रहेको अवस्थामा बढी भीडभाड हुने भन्दै मन्त्रालयले बाहिर मन्त्रीको गाडी पार्किङ गर्ने ठाउँबाट नयाँ सिफारिस भएका शाखा अधिकृतलाई नियुक्ति पत्र दिएको हो ।




