🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नत्र चन्द्र शमशेरले सती प्रथा हटाउने थिएनन्, सुजितले पनि किताब लेख्ने थिएनन्

 
 
आजभन्दा झण्डै २० वर्षअघि म पाकिस्तान जाँदा एक मुस्लिम महिलाले मलाई सोधेकी थिइन्, 'तिमीहरूकहाँ हिन्दु धर्मअनुसार त श्रीमान् मरेपछि स्वास्नीलाई जिउँदै जलाइन्छ रे नि, हो ?'
 
मलाई कस्तो लाज लागेजस्तो भयो । मैले सानो स्वरले भनेकी थिएँ, 'हो, पहिलेपहिले त्यस्तो थियो रे । तर, १०० वर्षअघि यो प्रथाबाट कानुनी रूपबाट मुक्त भइयो ।'
 
'होइन नि भारतमा त ३०–४० वर्षअघि पनि रूप कुँवर नामकी सती गएकी थिइन् रे । उनको नाममा मन्दिर पनि बनाएको थियो रे ।'
 
मरिनाको कुरा सत्य नै थियो, मैले बोल्ने ठाउँ थिएन । ‘सती’ प्रथा हिन्दु धर्मको कलंक हो भन्ने विचार त मेरो थियो । म प्राय: हिन्दु धर्मका कतिपय गलत रीतिरिवाजको विरोध गर्ने भएकाले नै मरिनाले मलाई ‘धर्म र संस्कार’ का बारेमा सोध्न सकिनन् । ‘सती’ पढ्दाखेरी मलाई त्यही घटनाको याद आयो ।
 
‘महिलालाई उसको श्रीमान् मरेपछि सँगै मार्ने’ क्रूर चलन कसरी आयो ? त्यसको सामाजिक, आर्थिक र मनोवैज्ञानिक पक्ष के थियो ? कसरी यो प्रथा हटाउन कुनै ठूलो आन्दोलन हुनुपरेन ? तर ‘सती’ प्रथा अहिले पनि नजानिँदो तरिकाले हाम्रो समाजमा व्याप्त छ भनेर लेखकले बडो अध्ययन गरेर अनेक इतिहासहरूबारे बुझेर लेखेका छन् ।
 
लेखक बधाईका पात्र छन् र यो किताब महिलावादी आन्दोलनमा चाख राख्ने महिला अधिकारवादीहरूले मात्र होइन, समाजशास्त्रका प्रत्येक विद्यार्थी र इतिहासमा थोरै पनि चाख राख्नेले पढ्नैपर्ने मलाई भान भयो ।
 
मेरी एक काकी बज्यै १० वर्षको उमेरमा भारतमा विधवा हुनुभएको थियो । नेपालमा मेरी एक ठूलीआमा १४ वर्षमा नेपालमा विधवा हुनुभयो । उहाँहरूको कुरा गर्दा घर परिवारका महिलाहरूले 'उहाँहरू त सतीजस्तै हुनुहुन्छ । विधवा भएर कहिल्यै रंगिन लुगा लगाउनुभएन । माछामासु त के लसुन, प्याजसमेत छाड्नुभयो । उहाँहरू तपपूजा गर्न योग्य हुनुहुन्छ' भन्ने कुरा हुन्थ्यो ।
 
यदि चन्द्र शमशेरले १०० वर्षअघि सती प्रथालाई हटाउन कठोर निर्णय नलिएको भए शायद हाम्रा कति बज्यै, काकी, फुपूहरू पनि श्रीमान्‌सँग ‘सती’ जानुपर्थ्यो भन्ने लाग्यो ।
 
मन थरर भयो । ४४ वर्षमा विधवा भएकी मेरी आमा पनि शायद मेरो पिताको मृत्युसँगै चितामा जल्थिन् कि ? मैले धेरै ठाउँमा यो किताब पढ्नुस् भनेर सिफारिस गरेकी छु ।
 
किनभने लेखकले सती प्रथाको मनोवैज्ञानिक र सामाजिक पाटोबारे मात्र स्पष्ट पारेका छैनन्, त्यो क्रूर प्रथा सय वर्षअघि हटे पनि यो प्रथाले पारेका अनेक खराब असर महिलाप्रति गरिने भेदभावको रूपमा अझै समाजमा छन् भनेर छलफल गरिएको छ ।
 
विधवा भएपछि उनलाई समाजमा गरिने व्यवहार कस्तोसम्म हुन सक्छ भनेर वृन्दावनमा बसेका महिलाहरूलाई हेरे पुग्छ । त्यहाँ महिलाप्रति गरिने निकृष्ट व्यवहारले हिन्दु धर्मको खिल्ली उडाउँछ ।
 
कसरी राज्यसत्ताको अनेक तरिकाले उपयोग गर्न राजाको मृत्युपछि रानीहरूलाई ‘सती’ हुन पठाइन्थ्यो भन्ने कुरा यो किताबमा मजासँग वर्णन गरिएको छ । नेपालमा पनि विधवा आमाको सम्पत्ति हत्याउने छोराहरू समाजमा अझै छन् ।
 
'…विधवाहरूलाई पन्छाउने सूक्ष्म चाहनाकै क्रूरतम रूप हो, सती प्रथा' (पेज ६९) भन्ने पढेपछि लाग्यो, अहिले पनि विधवाहरूलाई सकेसम्म रमाइला, धार्मिक कार्यक्रममा सहभागी हुन बन्देज गरिन्छ ।
 
'महाभारतमा ब्युषिताख नामक व्यक्तिको मृत्युपछि उनकी पत्नी भद्रा भन्छिन्, 'पतिबिना युवती निरन्तर दुःखमा डुबिरहने भएकाले उनी वस्तुत बाँचेकी हुँदिनन्, मरेतुल्य भएकी हुन्छिन् । त्यसैले पतिको मृत्युपछि आफ्नो पनि मृत्यु हुनुमै नारीको हित छ ।
'
अर्थात् महिलाको जीवनमा पतिबाहेक केही छैन भन्ने मान्यतालाई यसरी जनजनमा स्थापित गरिएको थियो धर्म र संस्कारको नाममा । ।
 
'चिताभित्र छोरीले चीत्कार गर्दै छटपटाउँदै प्राण त्यागेको सुन्दा आमाको मनोदशा कस्तो हुँदो हो ? आमाको काख नै सधैँलाई खोसिँदै गरेको सन्तानको क्रन्दनले कुनै पुरुष पनि आहत हुँदो हो कि' भनेर लेखकले प्रश्न गर्दा (पेज १२३) मलाई लाग्यो– अवश्य, पुरुष पनि आहत हुँदो हो । नत्र त चन्द्र शमशेरले यो प्रथा हटाउने थिएनन्, अनि सुजित मैनालीले यो किताब पनि लेख्ने थिएनन् ।