🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेपाली सेनाकाे \’प्यारा-डे\’को हार्दिक शुभकामना !

नेपाल इजरायल सम्बन्ध १ जुन १९६० बाट सुरु भयो । दुई देशले एक अर्कालाई सम्मान गरे । इजरायललाई नेपालले एउटा सार्वभौम राष्ट्रको मान्यता दियो । त्यसपछिका दिनहरुमा इजरायलले नेपालको विविध सहयोग गर्दै आएको छ । वास्तवमा सन् १९५८ बाटै नेपालले लेबनानमा शान्ति सेना पठाउन थाले पछिका दिनहरु माझ सम्बन्ध गाडा बनेको छ ।

लेबनान र इजरायलका सिमानामा तैनाथ हुने नेपाली शान्ति सैनिकले कहिले पनि यी दुवै देशलाई हानीपुग्ने काम गरेनन् । परेको बेलामा हाम्रा शान्ति सैनिकहरुलाई स्थान  विशेषमा पनि सहयोग दिंदै आएको छ, इजराजयलले ।

  अर्को कुरा, नेपाली सेनाको विकास क्रममा विशेष गरी सन् १९६५ मा नेपाली सेनालाई इजरायल नै लगेर प्यारा जम्प गर्ने तालिम दिएर पहिलो पटक नेपाली सेनामा छाताधारी फौज (Airborne Troops)  खडा गर्न मद्दत गर्यो । यो सहयोग नै नेपाल–इजरायल सम्बन्धको जीवन्त उपहार हो । इजरायलबाट फर्केको ३ दिनपछि नैनेपाली छाताधारी फौजले नेपालमा पनि प्यारा जम्प गरेको हेर्न राजा महेन्द्रको निम्तोमा इजरायलका राष्ट्रपति जलमान साजार नेपालआएका थिए ।

\"\"
(इज्रायली राष्ट्रपति जलमान साजारले नेपाली नेपाली सेनाका टोली प्रमुखलाई  इज्रायलमा भेटेको ऐतिहासिक क्षण)

नेपाली सेनाको विकास क्रममा सेना भित्रका विभिन्न अंगहरुको ठूलो योगदान रहेको छ । ती मध्ये प्यारा अंग पनि एक हो । जसलाई हालआएर छाताधारी फौज को रुपमा चिनिन्छ । नेपालमा यसको ईतिहासलाई केलाउदा २०२२ साल भदौ ६ गते उपसेनानी (पछि ब्रिगेडियर जनरल) चिनियाबहादुर बस्नेतको नेतृत्वमा ४ जना अधिकृत, ४ जना जमदार र ७ जना बिल्लादार गरी जम्मा १५ जना मित्र राष्ट्र ईजरायलमा गै प्यारा जम्प शिक्षकको तालिम लिएका थिए ।

त्यो टोलीले सुरुमा प्यारा बेसिक र त्यसपछि प्यारा शिक्षक तालिम पाएका थिए । उक्त शिक्षक तालिम गर्ने टोलीमा उपसेनानी चिनियाबहादुर बस्नेत, तुलाबहादुर थापा, उज्वल नारायण शाह र मानबहादुर शाह थिए ।

 जमदारमा ठाकुर राज थापा, रविन्द्र कार्की, शेखर कुमार हमाल र नारायण राज रेग्मी थिए भने बिल्लादारमा पूर्णलाल श्रेष्ठ, भरत मान रञ्जितकार, छान बहादुर गुरुङ्ग, बसन्त गुरुङ्ग, ईन्द्रबहादुर अधिकारी र कृष्ण बहादुर गुरुङ्क तथा पञ्चसिंह गुरुङ्क थिए । बिल्लादार कृष्ण बहादुर गुरुङ्कपछि सुवेदार छदा जम्प मास्टर कार्य गर्दागर्दै २०२९/०५/२९ गतेको हवाई दुर्घटनामा परी मृत्यु भयो भने अमल्दार पञ्चसिंह गुरुङ्क नेपाली सेना छोडेर पछि प्रहरीको डी.एस.पी. हुनु भयो । यो टोलीसंग इजरायलमा प्यारा जम्प सकिए पछि इजरायलको राष्ट्रपति जालमान साजारले भेट गर्नु भएको थियो ।

\"\"

 
(प्यारा तालिमको शिक्षकको लागि गएका नेपाली सेनाकाे टोली)

    पहिलो टोलीले इजरायलमा तालिम गर्दागर्दै नेपाली सेनाबाट थप १०० जनाको एक गुल्म पनि प्यारा जम्पको बेसिक तालिम गर्न इजरायल पठाईयो । जसमा मेजर यदुृवन शम्सेर राणाले नेतृत्व गरी मेडिकलबाट क्याप्टेन डा. खगेन्द्र श्रेष्ठ र ईन्जिनियरबाट मेजर यज्ञ विक्रम राणा पनि सोही टोलीमा गएका थिए । उक्त दुबै टोली तालिम पूरा गरी २०२२ साल चैत्र ४ गते नेपाल फर्कियो ।

नेपाल फर्किएको  ३ दिन पछि उक्त टोलीमध्ये एक सेक्सनले २०२२ चैत्र ८ गते घोडे जात्राको दिन काठमाडौंकोे टुँडिखेलमा प्यारा जम्प गरी पहिलो पटक नेपालमा प्रदर्शन गरेको थियो । यही दिन राजा श्री ५ महेन्द्रबाट इजरायलमै पहिला ईजरायली प्यारा विङ्ग लगाई सकेका ११५ जनालाई नै नेपाली प्यारा विंङ्ग प्रदान भएको थियो भने सो अवसरमा राजा महेन्द्रको निमन्त्रणमा ईजरायलको राष्ट्रपति जालमान साजारको पनि उपस्थिति थियो ।

  प्यारा विङ्ग प्रदान  गर्ने कार्यक्रमको लागि नै उनलाई नेपाल बोलाईएको थियो । नेपाली सेनाको ईतिहासमा उक्त प्यारा जम्प गर्ने टोलीलाई ठूलो महत्व दिएर नेपाल तथा इजरायलका राष्ट्र प्रमुखहरुको उपस्थिति भएको हो । यो घटना नै नेपाल-इजरायल सम्बन्धको जग बनेको थियो । अर्को खुशीको कुरा इजराइलमा बनेको अति भरपर्दो, सर्दार बलिया गलिल राइफल IMI Galil Rifl  पनि पहिलो पटक नेपाली सेनामा यही छाताधारी फौजले प्रयोग गरेको हो । विगतको माओवादी युद्धमा समेत यो राइफललाई माओवादीले “कालो बन्दुक” बोक्ने सेना भन्थे ।
 

\"\"

(काठमाडौंको टुँडिखेलमा पहिलोपटक प्यारा जम्प गर्नेलाई राजामहेन्द्रले प्यारा विङ लगाइ दिंदै)

नेपालमा छाताधारी सैनिक अंगको विकासलाई मूल्यांकन गर्दा इजरायल सरकारको तर्फबाट नेपाल  आएका लेफ्टिनेन्ट कर्नेल मार्शल तुबियालाई किन सम्झिनु पर्छ भने उनको ठूलो योगदान रहेको छ । नेपालमा ७ वर्ष बसेर उनले इजरायल सरकारको सहयोगबाट प्राप्त प्यारा तालिम गराउनको लागि चाहिने सम्पूर्ण ट्रेनिङ इन्स्टलेसनहरुलाई महाराजगंजस्थित लक्ष्मीनिवास दरवार परिसरमा स्थापना गरे । उनको मातहतमा ईजरायली क्याप्टेन खुरे र क्याप्टेन गब्बईले पनि ठूलो भूमिका निभाएका थिए ।

  कर्नेल मार्शलको टोली २०२२ साल असोज महिनामा नै नेपाल आएको थियो । जसले नेपाली सेनामा प्यारा जम्प, प्यारा कमाण्डो, पाथफाइन्डर जस्ता तालिम संचालनमा सहयोग गरी तत्कालीन युवराज श्री ५ वीरेन्द्र तथा अधिराजकुमार श्री ५ धीरेन्द्रलाई पनि प्यारा जम्प तालिम गराएका थिए ।

यसरी भयाे प्यारा गुल्म”काे नामांकरण

   इजरायलबाट तालिम प्राप्त गरी फर्केका ११५ जनाको टोलीलाई काठमाडौं महाराजगंजस्थित मोहन शम्सेर राणाको लक्ष्मीनिवास दरवारमा २०२२ साल चैत्र ४ गतेबाट राखियो । उक्त दरवारमा नेपाली सेनाको अंग बसेको पहिलो पटक थियो । चैत्र ८ गते नै उक्त टोलीलाई “प्यारा गुल्म” नामांकरण गरी जस अन्तर्गत प्यारा ट्रेनिङ स्कूल, डेलिभरी सेक्सन र फोल्डिङ् सेक्सन राखियो । उक्त टोलीलाई नेपाली सेनाको प्रचलित खाई पाई आएको तलव र राशनमा  ३० प्रतिशत थप र राशन स्केलमा दोब्बर सुबिधा दिएर उक्त गुल्म खडा भएको थियो ।

   क्रमिक रुपले विस्तार गर्दै लगिने क्रममा “ओभर अल कमाण्ड” प्रमुख सेनानीले गर्ने गरी प्यारा राइफल गुल्मबाट प्यारा गण र प्यारा तालिम शिक्षालय खडा भए । प्यारा गणलाई पछि गएर भैरवनाथ गणको निशान प्रदान गरी भैरवनाथ नामांकरण भयो । यो गण नै नेपाली सेनाको पहिलो स्पेसल फोर्स प्यारा कमान्डो बटालियन हो  ।

इतिहास मेट्ने हाेइन रक्षा गराैं

अति नै परिश्रम र कडा तालिम गर्ने विशेष फौज (स्पेसल फोर्स) को रुपमा प्यारा गुल्म र पछि विस्तार हुँदै गएका गण समेत रहेका थिए भने अहिले पनि रहेका छन् । यसरी सुरु भएको छाताधारी फौजको हाल बाहिनी नै खडा भैसकेको छ । सुरुमा यो विशेष फौज बाहिनी को नाम "१० बाहिनी " राखियो। संस्थापक बाहिनिपति महासेनानी (पछि सहायक रथी ) चिनिया बहादुर बस्नेत हुन।

जसले यो बाहिनी खडा गरी १ बर्ष जति कमान्ड गरे । उनको नाम १ नम्बर मा १० नम्बर बाहिनीको  अभिलेखमा लेखिएकोमा केही वर्षपछि आएका बाहिनीपतिले हटाउन लगाइ हालसम्म पनि यो बाहिनीले राखेको छैन । यो सरासर कुनै ब्यक्तिको इच्छामा भएको अन्याय र इतिहास मार्ने काम भएकाे थियो । त्यस्तैगरी महासेनानीमा बाहिनीपति भै कमान्ड गरेका ब्यक्तिको  नाम १ बाहिनी , बालाजुमा  अहिले पनि बाहिनीपतिमा महासेनानीको नाम  राखिएको  छ। 

त्यही १० बाहिनी ( हाल विशेष फौज बाहिनी ) अन्तर्गत रहेको युद्ध भैरब गणको गणपति  महासेनानी  हुनुपर्नेमा कुनै प्रधान सेनापतिले  प्रमुख सेनानीलाई  पठाए । ती प्रमुख सेनानीको नाम हाल युद्ध भैरबमा नै गणपतिको  अभिलेखमा राखिएको छ। हो, अभिलेख रहनु पर्छ, मासिनु हुन्न।  यसबारे जङ्गी अड्डाले नै  सोधखोज गरेर के साँच्चै ती नाम हटाएर इतिहास  मेट्ने हो वा  इतिहासकाे संरक्षण गर्न पुन राख्ने भन्ने निर्णय लिनु जरुरी छ।  

  यी हुन् प्याराका राेचक पक्ष

  अर्को रोचक तथ्य के पनि हो भने नेपाली सेनाको मेडिकल अंगमा मात्र महिला कर्मचारी भर्ना गरिने गरिएकोमा यस छाताधारी फौजको लागि प्यारा फोल्डरको रुपमा पहिलाे पल्ट महिलाहरु भर्ना गरिए । कतिपय महिलाहरुले प्यारा जम्प समेत गरिसकेका छन् ।

ती मध्ये पहिलो महिला प्यारा जम्पर उपसेनानी श्रीमती अन्नपूर्ण कुँवर हुनभने पुरुषतर्फ इजरायलमा गै प्यारा जम्प गर्ने पहिलो व्यक्ति उप सेनानी (पछि सहायक रथी) चिनिया बहादुर बस्नेत हुन । त्यसैगरि पहिलो टेन्डम प्याराचुटिङ जम्प गर्ने सेनानीः प्रज्वल बस्नेत हुन जसले सह सेनानी उज्वल थापालाई साथमा लिएर जम्प गरेका थिए ।

  अन्तमा, प्रत्येक वर्ष चैत्र ८ गते नेपाली सेनाले प्यारा डे मनाउदै आएको छ । नेपाली सेनाको विकास र विस्तारमा धेरै मित्र राष्ट्रहरुको सहयोग प्राप्त भएको छ । इजरायल पछि नेपाली सेनालाई स्पेसल फोर्सको तालिम दिने मित्र देश बेलायत हो । त्यसपछि अमेरिका हो ।

नेपाली सेनामा छाताधारी सेना खडा गर्न त्यसको लागि तालिम सामाग्री र तालिम केन्द्र खडा गरी धेरै वर्षसम्म इजरायलले आफ्नो सैनिक अधिकृतहरुलाई शिक्षयकको लागि नेपालमै राखेर जुन सहयोग गर्यो, त्यो मित्रता भित्रको आत्मियता थियो । इजरायलले नेपाली सेनामा विशेष फौज खडा गर्न पछि पनि धेरै सहयोग गरेको छ।

 गैर सैनिक क्षेत्रको सहयोगले नेपालमा ठूलो विकास भएको छ । वास्तवमा, अहिले पनि स्पेसल फोर्सको तालिम, जासुसी तालिम र राष्ट्रिय सुरक्षामा देशबासीको एकताको नमुना हेर्ने हो भने त्यो देश इजरायल नै छ ।

नेपाल–इजरायल सम्बन्ध जीवन्त रहिरहनु पर्छ । नेपाली सेनाका सम्पूर्ण छाताधारी बहालवाला र  पूर्व सैनिकहरुले यो ईतिहास बुझुन र यो लेखमा भएका कमजोरीलाई सुधार गरियोस् भन्ने मनसायले यो लेख पस्किएको छु।

प्यारा जम्प गर्ने कामको  सिलसिलामा वीरगति प्राप्त गर्ने सम्पूर्ण छाताधारी सिपाहीप्रति हार्दिक श्रद्धाञ्जलि र सलाम अर्पण गर्दछु । अन्तमा, नेपाली सेनाको छताधारी  'स्पेसल फोर्सेज'हरु देशको लागि साँच्चिकै  स्पेसल अर्थात विशेष हुनेछन भन्ने कामनासहित सबैमा चैत्र ८ गते 'प्यारा-डे' को हार्दिक शुभकामना समेत  अर्पण गर्दछु ।  

(लेखक भैरवनाथ गण प्यारा कमान्डोमा १२ वर्ष  काम गरेका पूर्व छाताधारी सैनिक र सहायक रथी (अप्रा )  हुन् ।)