गुण्डा नाईके दिपक मनाङेलाई पक्राउ गरेकै कारण प्रहरी अधिकृत अशोक सिंहलाई डीएसपी बढुवामा पछाडि पारिएको थियो । तत्कालीन आइजीपी ओम राणाले मनाङेलाई पक्राउ गरेको कारण सिंहलाई एक व्याज जुनियरसंगै बढुवा गरेका थिए । मनाङेलाई पक्राउ गरेपछि राप्रपा नेता पशुपति राणाले दवाव दिएपछि सिंहलाई बढुवामा पछि पारिएको थियो । महाराजगन्जस्थित चुफाङ रेष्टुरेन्टमा चक्रे मिलनलाई आक्रमण गरि हात छिनाए पछि सोही केसमा सिंहले मनाङे पक्राउ गरेका थिए । सोही केशमा अदालतले मनाङेलाई दोषी ठहर गरेको थियो ।
दोषी ठहर गरिएका मनाङे प्रदेश सभा निवाचनमा मनाङबाट स्वतन्त्ररूपमा चुनाव जितेका थिए । सपथ ग्रहण गर्ने बेलामा पनि अशोक सिंह एसपीकारूपमा कास्कीमा कार्यरत रहेपछि मनाङे पक्राउ पर्ने डरले आउन सकेनन् । फरार रहेको अवस्थामा उनी पक्राउ परेका थिए । आखिर गुण्डा मनाङे समाउनु अशोक सिंहको अपराध थियो र ? सिंह कास्कीमा कार्यरत नभएको भए मनाङेले सपथ लिने अवस्था थियो । फिल्डमा सफल अधिकृतको रूपमा चिनिएका एसपी सिंहलाई अबको बढुवामा अन्याय गर्न नहुने आवाज उठ्न थालेको छ ।
यस्तो थियो घटना
विभिन्न मुद्दामा दीपक मनाङे (राजीव गुरुङ)लाई प्रहरीले पटक–पटक पक्राउ गरेको थियो । उनी पटक–पटक जेल चलान पनि भए । २०७५ वैशाख ६ गते बिहीबार पक्राउ परेका उनी २०७५ वैशाख ७ गते शुक्रबार जेल चलान भएका छन् ।
उनले विगतमा पटक–पटक पक्राउ परे पनि वास्तविकरुपमा पहिलोपटक आफूलाई प्रहरीले पक्राउ गरेको प्रतिक्रिया थिए । ‘पहिला त रेस्टुरेन्टमा खाइरहेको बेलामा प्रहरीले मलाई उठाएर लैजान्थ्यो,’ पक्राउ परेपछि उनले भने, ‘यसपटक चाहिं मैले प्रहरीलाई धेरै छक्याएको थिएँ, भागेकै बेला पहिलोपटक प्रहरीले पक्राउ ग¥यो ।’
स्वयम्भुस्थित एक साथीको डेराबाट महानगरीय प्रहरी परिसर काठमाडौंले उनलाई पक्राउ गरेको हो । १३ वर्षअघिको ज्यान मार्ने उद्योग मुद्दामा उनी पक्राउ परेका हुन् । १३ वर्षअघि मनाङेले अर्का गुन्डा नाइके चक्रे मिलन (मिलन गुरुङ) को हात छिनाएका थिए । उनलाई अदालतले डिल्लीबजार कारागार चलान गरेको काठमाडौं परिसरका डीएसपी मोहन थापाले बताए ।
पुनरावेदनकै सजायलाई सदर हुने २०७४ माघ ३ को सर्वाेच्चको फैसला लगत्तै भूमिगत भएका मनाङे लामो समय भारतमा बसे । २ साताअघि मात्र उनी काठमाडौं आएका थिए । अदालतमा आत्मसर्पण गर्ने कि आफूले पुनरावेदनको म्याद नगुजारेको दाबी गर्दै निवेदन दिने भन्ने विकल्पमा उनले वकिलहरूसंग छलफल गरिरहेका थिए ।
जब २०७५ बैशाख ६ गते बिहीबार साँझ उनी बसेको घरमा प्रहरी पुग्यो उनी चकित भए । किनकि उनले आफ्नो मोबाइल समेत बोकेका थिएनन् । इन्टरपोलले रेड कर्नर नोटिस जारी गरे पनि प्रहरीले पत्ता लगाउन नसक्नेमा उनी ढुक्क थिए ।
प्रहरीलाई झुक्याउन उनले धेरै उपाय अपनाएका थिए । आफ्ना मोबाइलहरू साथीहरूलाई बोक्न लगाएर कहिले हेटौंडा त कहिले काठमाडौंमा राख्न लगाउँथे । प्रहरी उनको मोबाइलको पछि लाग्थ्यो, तर मनाङे भने अर्कै ठाउँमा बस्थे । अपराध महाशाखाले केही समयअघि हेटौंडाबाट उनको मोबाइल बरामद ग¥यो, तर उनलाई पक्राउ गर्न सकेन ।
२०७५ वैशाख ६ गते एक्कासी प्रहरी पुग्दा उनी चकित हुनु स्वभाविक नै थियो । ‘हामीले फरक तरिकाले उनीमाथि निगरानी राखेका थियौं,’ परिसरका एक अधिकारी भन्छन्, ‘सोही कारण उनको चतु¥याँईले लामो समय काम गरेन ।’
मनाङबाट प्रदेशसभामा स्वतन्त्र उम्मेदवारका रुपमा निर्वाचित भएका उनले सपथ भने लिन पाएका छैनन् । उनलाई ज्यान मार्ने उद्योग मुद्दामा ५ वर्ष कैद सजाय भएको थियो । जसमध्ये २ वर्ष उनी जेल बसिसकेका छन् । कारागार नियमावलीअनुसार ४० प्रतिशत कैद भुक्तान गरेपछि सरकारले बाँकी कैद मिनाहा गर्न सक्ने प्रावधान छ । उनको लगभग ४० प्रतिशत कैद भुक्तान भइसकेको छ ।
–वीएस, जुनियर प्रहरी अधिकृत




