काठमाडाैं । वर्षायामसँगै हुन सक्ने सम्भावित विपद्का जोखिमलाई मध्यनजर गर्दै उद्धार कार्यको योजना, फौजको प्रभावकारी परिचालन, उद्धार तथा प्रतिकार्यका निमित्त विपद् प्रतिकार्यमा खटिने सबै सरोकारवाला निकायहरुबीच छलफल एवं समन्वय गर्न आवश्यक भएकाले नेपाल सरकारका विभिन्न सरोकारवाला मन्त्रालयका सचिव, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख तथा सुरक्षा निकायका प्रमुखहरुको सहभागितामा नेपाली सेनाले जङ्गी अड्डामा संचालन गरेको "विपद् प्रतिकार्य सम्बन्धी समन्वयात्मक बैठक-२०७९" २०७९ श्रावण ०३ गते प्रधान सेनापति महारथी प्रभुराम शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियाे ।
बलाध्यक्ष रथी सरोज प्रताप राणाको स्वागत मन्तव्य सहित शुरु भएको उक्त समन्वयात्मक बैठकमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी महानिरीक्षक तथा राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशकले आ-आफ्नो मन्तव्य राखेका थिए । उक्त बैठकको दौरान नेपाली सेना, युद्धकार्य निर्देशनालयले विपद् व्यवस्थापन सम्बन्धी विविध विषयहरुमा प्रस्तुतीकरण गरेको थियो ।
मन्तव्यको क्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले यस प्रकारका विपद् व्यवस्थापनसँग सम्बन्धित कार्यक्रमहरु आयोजना गरेकोमा नेपाली सेनालाई धन्यवाद ज्ञापन गरेका थिए । पोखरेलले, विपद् प्रतिकार्यमा Key Responder को रुपमा मात्र नभई जोखिम न्यूनीकरण गर्ने विविध क्रियाकलापमा समेत नेपाली सेनाले सक्रिय भूमिका निर्वाह गरिरहेको बताउदै प्रशंसा गरेका थिए ।
साथै पोखरेलले, भविष्यमा आइपर्न सक्ने विपद्का दौरान सम्पूर्ण सुरक्षा निकाय एवं सरोकारवाला निकायहरुले एक-आपसमा समन्वयकारी भूमिका निर्वाह गरी सूचनाको आदानप्रदान लगायत Plan Together Work Together को अवधारणा अनुरुप विपद् प्रतिकार्यमा एकजुट भई अघि बढ्न समेत सुझाव दिएका थिए ।
उक्त बैठकमा समापन मन्तव्य राख्दै प्रधान सेनापति महारथी शर्माले विपद् व्यवस्थापन चुनौतीपूर्ण कार्य रहेकोले कसैको एकल प्रयासबाट सम्भव नहुने हुँदा, विपद् व्यवस्थापनमा सबै सुरक्षा अङ्गहरु तथा अन्य सरोकारवाला निकायहरुको भूमिका उत्तिकै महत्वपूर्ण रहेको बताएका थिए ।
सोही क्रममा प्रधानसेनापति शर्माले ले, कोभिड-१९ को नयाँ भेरियन्टको संक्रमण तथा जलवायु परिवर्तन जस्ता चुनौतीहरुका बीच भविष्यमा विपद् व्यवस्थापनमा विशेष ध्यान केन्द्रित गर्नुपर्ने बताउदै सबै किसिमका विपद्मा काम गर्न सक्ने गरी Expertise हरु तयार गर्न राज्य संयन्त्र सजग हुनुपर्ने तथा विपद् सम्बन्धी सूचना आदानप्रदान गर्ने Mechanism लाई थप असरदार बनाउनु पर्ने धारणा राखेका थिए ।
विपद् व्यवस्थापन कार्यमा प्रत्यक्ष वा अप्रत्यक्ष सम्बन्ध राख्ने विभिन्न सरकारी एवं सुरक्षा निकायहरुलाई सहभागी गराई संचालन हुने यस किसिमको समन्वयात्मक बैठकले विपद् प्रतिकार्यमा परिचालन हुने सम्पूर्ण निकायहरुको क्षमता अभिवृद्धि भई विपद् व्यवस्थापन कार्य थप प्रभावकारी हुने विश्वास नेपाली सेनाले लिएको बताएकाे छ ।




