काठमाडौं । २०७९ भदौ १७ गते फ्लाई दुबईको विमानबाट नेपाल आउँदै गरेका ठगी मुद्दाका अभियुक्त रिजवान अन्सारी विमानास्थल प्रहरीकै सामुन्नेबाट उम्केको घटना यतिबेला चर्चासँगै आश्चर्यको बिषयसमेत भएको छ । अदालत र प्रहरीको अभिलेखमा ठगीसम्बन्धी मुद्दामा अन्सारी ‘ब्ल्याक लिष्ट’ मा परेका व्यक्ति हुन् । अध्यागमनको अराइभल छाप नलागेसम्म कुनै व्यक्ति अन्तर्राष्ट्रिय विमानस्थलबाट निस्कन नमिल्ने भए पनि अभियुक्त अन्सारी भने कसरी सहजै उम्कन सफल भए ? दुबईबाट आएका व्यक्तिले रिजवानलाई दोभासेका रूपमा ल्याएको अनुमान गरिएको छ । मुद्दामा फरार रिजवानलाई पक्राउ गर्न नेपाल प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)लाई समेत परिपत्र गरेको थियो ।
स्रोतका अनुसार, अन्सारीलाई विमानास्थलबाट बाहिर निकाल्न मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले सहयोग गरेका थिए । उनीहरुको सम्बन्धबारे चासोको बिषय बनेको छ । उक्त प्रकरणले अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा अवस्थासमेत कमजोर देखाएको छ । ठगी मुद्दामा फरार रिजवान लामो समयदेखि दुबईमा लुकेर बस्दै आएका थिए । विमानस्थलबाट अन्सारी ठाडै मेरियट होटलमा पुगेको बताइन्छ । मेरियटबाट उनी कता वेपत्ता भए भनेर अहिलेसम्म कुनै अत्तोपत्तो छैन । रिजवानविरुद्ध प्रहरीले दर्ता गरेको मुद्दा जिल्ला अदालतमा विचाराधीन रहेको छ । दाउद हुसेनको जाहेरीले सरकार वादी भई ठगी मुद्दा दायर भएको थियो । ठगीमा रिजबानसहित नौजनाविरुद्ध अभियोग दर्ता भएको छ ।
दाउद हुसेनका छोरालाई दुबईमा पाइलट पढाउन पठाइदिने नाममा हुसेनबाट एक करोड ६८ लाख रुपैयाँ बुझेको अभियोगपत्रमा उल्लेख छ । छोरालाई दुबई पठाउनु त परकै कुरा पैसासमेत हजम गरेपछि २०७७ साल कात्तिक १ गते हुसेन ठगीमा जाहेरी लिएर प्रहरीकहाँ पुगेका थिए । त्यसपछि चलेको मुद्दामा अदालतले रिजबानलाई पक्राउ गर्न सोही बर्ष २०७७ को फागुनमा ‘वारेन्ट’ जारी गरेको थियो । फरार अभियुक्तका रूपमा रिजबानविरुद्ध काठमाडौं जिल्ला अदालतमा दायर मुद्दाको अन्तिम फैसला हुन बाँकी छ । यता ठगीसम्बन्धी मुद्दामा रिजवानका बुबा रमाजान मियाँलाई प्रहरीले पक्राउ गरेको थियो । अदालतले मागेको २५ लाख रुपैयाँ धरौटी रकम बुझाएर रमाजानले अदालती तारिख खेपिरहेका छन् । (साँघु साप्ताहिक, भदौ २७)




