एक व्यक्तिले सपनामा देख्यो कि मृत्युले उसको काँधमा हात राखेर केही कुरा भनिरहेको थियो । ‘म तिमीलाई आग्रह गर्न आएको छु कि आज साँझ म तिमीलाई लिएर जानेछु । तिमीलाई मैले यो पूर्वसूचना किन दिएको हो भने तिमी एक महान साधुका भक्त हौ ।’ यस्तो सपना देखेपछि ती व्यक्तिको निदहराम भयो । साँच्चि नै ऊ एक साधुको भक्त थियो । ऊ दौडदै–दौडदै तिनै साधुकोमा पुग्यो र साधुलाई सवै बेलीविस्तारमा कुरा भनी अब म के गरौं भनेर साधुसँग राय माग्यो । साधुले उसलाई मेरो घोडा लिएर टाढा भाग भनेर सल्लाह दिए । त्यो व्यक्ति साधुको घोडा लिएर त्यहाँबाट भाग्यो । ऊ भाग्दै गयो, बाटामा ऊ पानी पिउन र आराम गर्नसमेत कतै रोकिएन । भागेर कैयौं मिल टाढा पुगेपछि एउटा झर्नाको नजिकै पुगेर रोकियो । उसले सोच्यो कि यति टाढा आइपुगें, अब अलिकति पानी खाएर आराम गर्छु । अब मृत्युले मलाई खोज्न सक्दैन भनेर घोडाको पिठ्यूँमा धाप मार्दै मित्र तिमी साह्रै सहासी रहेछौ । दिनभर खानै नखाई मलाई यहाँसम्म लिएर आयौ । यही समयमा एउटा हात उसको काँधमा प¥यो । त्यो हिजो रातिकै हात थियो । मृत्युले हाँस्दै भन्दै थियो–म तिम्रो घोडालाई धन्यवाद दिन्छु । वास्तवमा तिम्रो मृत्यु यही झर्नाको किनारमा हुनुपर्ने थियो । मलाई समस्या यो थियो कि यति चाँडै कसरी तिमीलाई यहाँ ल्याइपु¥याउने ? तिमी र तिम्रो यो दमदार घोडाले मेरो काम सजिलो पारिदियो ।




