काठमाडौं । दोश्रो पटक बीर अस्पतालको नेतृत्व गरेका डा. भुपेन्द्र कुमार बस्नेतको अत्याचारले सीमा नाघेको गुनासो कर्मचारीले गरेका छन । २०७८ असार अन्तिममा वर्तमान देउवा सरकार गठन भएपश्चात पुन दोश्रो पटक अस्पतालको नेतृत्व गर्न आइपुगेका प्रमुख प्रशासकीय अधिकृत बस्नेतले अस्पताल सुधार भन्दा पनि कमाउ धन्दामा बढी जोड दिंदै आएको आरोप कर्मचारीले लगाएका छन ।
अघिल्लो कार्यकालमा उनले अस्पताल सुधारमा राम्रै काम गरेर कर्मचारीको मन जित्न सफल भएका थिए । अस्पताललाई आवश्यक सामग्री खरिददेखि अस्पताल व्यवस्थापनमा राम्रो काम गरेर वावाही कमाएका थिए । सामान खरिद गर्दा पनि पारदर्शितामा जोड दिएका थिए । सामान खरिद गर्दा सप्लायर्स कम्पनीका बीच तीब्र प्रतिस्पर्धा गराएर सरकारी बजेटको सदुपयोगमा जोड दिएका थिए । तर ०७८ साउनमा दोश्रो पटक निमित्त कार्यकारी अधिकृतमा नियुक्ति भएका डा.बस्नेतको भूमिका यतिवेला भने प्रलोभनमा फेरिएको बताइएको छ ।
अस्पतालमा ११ औं तहको वरिष्ठ चिकित्सकको दरवन्दी भए पनि १० औं तहका बस्नेतलाई निमित्तको जिम्मेवारी दिएर खटाइएको छ । खासगरी बस्नेतलाई प्रधानमन्त्री पत्नी डा. आरजु राणाले जोडवल लगाएर अस्पतालमा भित्र्याइएको बताइएको छ । सामान खरिदमा ब्रम्हलुट अस्पतालको लागि आवश्यका कार्यालय सामान, सर्जिकल, हाउस किपिङ्गलगायतका सामग्री खरिद गर्दा बजार भाउ भन्दा पाँच गुणा महंगो शुल्कमा खरिद गरेर अस्पताललाई बस्नेत टोलीले कमाउने थलो बनाएको आरोप कर्मचारीले लगाएका छन । तीन महिनाको लागि करिब सात सय किलो डस्विन प्लाष्टिक भए पुग्नेमा सात हजार किलो खरिद गरेर लाखौ रकम हजम गरिदै आएको छ ।
बजार मूल्य प्रति किलो ३ सय ५० रहेको भएपनि दोब्बर मूल्यमा खरिद गरेर लाखांै रकम घोटाला गरिदै आएको गुनासो कर्मचारीले गरेका छन । त्यति मात्र होइन सर्जिकल, हाउस किपिङ्गका सामान खरिदमा ब्रम्हलुट गरिएको छ । डा. बस्नेतकै भित्री योजनामा सप्लायर्ससँग मिलेमतो गरी मासिक रुपमा करोडौं मूल्यका सामान खरिद गरेको बिल भर्पाइ बनाएर कमिशन चप्काउने गरेको आरोप अस्पतालका कर्मचारीले लगाएका छन ।
अस्पताल प्रमुख कै नेतृत्वमा यस्तो धन्दा खुल्लमखुल्ला रुपमा चलिरहँदासमेत भ्रष्टाचार नियन्त्रणका लागि खडा गरिएका सरकारी राष्ट्रिय सतर्कता केन्द्र, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत निकाय के जोखना हेरेर बसिरहेका छन भन्दै कर्मचारीले गुनासो गरेका छन् ।




