काठमाडौं । स्थानीय विकास मन्त्री फेरिएसंगै काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत समेत फेरिन प्रक्रियाले अहिले काठमाडौं महानगरपालिकाले नयाँ कार्यकारी प्रमुख पाएको छ । काठमाडौं महानगरपालिकामा अहिले कार्यकारी अधिकृतका रुपमा धनीराम शर्मा आएका छन् । धनीराम शर्मा आए लगत्तैै काठमाडौं महानगरपालिकाका विभागीय प्रमुखहरू आफ्नो धन्दालाई नियमित गर्नका लागि सल्बलाउन थालिसकेको खबर छ ।
काठमाडौं महानगरपालिकामा मेयर विद्यासुन्दर शाक्यलाई थाङ्ग्नामा सुताउने अभियानमा विगतदेखि लागेका र मेयरलाई कसरी हुन्छ विवादित बनाएर आफ्नो व्यक्तिगतस्वार्थ लुट्न पल्केका प्रशासन विभागका प्रमुख ज्ञानेन्द्र कार्की यतिखेर नवनियुक्त कार्यकारीको चाकडीमा ब्यस्त हुन थालेको खबर छ ।
विगतदेखि नै राष्ट्रिय सभागृहका भीआईपीका लागि बनाइएको विशेष कक्षमा मेयरले नै विशेष वैठकहरू गर्नका लागि ठाउँ बनाउँदै आईरहेको थिए । जुन विगतमा पनि विशेष बैठकहरूका लागि महानगरले त्यही कक्ष प्रयोग गर्दै आएको थियो । त्यही मेयरका लागि बनाएको कोठामा ज्ञानेन्द्र कार्कीले कार्यकारी अधिकृत धनीरामलाई सुटुक्क लगेर काठमाडौं महानगरपालिकाका कसरी छलछाम गर्न सकिन्छ भन्ने सूत्र सिकाउँदै धनीरामलाई चाकडी गर्न थालिसकेको खबर छ ।
काठमाडौ महानगरपालिकामा पछिल्लो समयमा सबैभन्दा बद्नामको सूचिमा रहेका ज्ञानेन्द्र कार्कीले प्रशासन तथा संगठन विकास विभागमा रहेर आफ्नो पुरानै खान्तेपिन्ती धन्दा चलाईरहेका छन् । विगतमा उनले पेश गरेको टिप्पणी कार्यकारी अधिकृतले नै सदर गरेको भएपनि मेयर आईसकेपछि सदर गर्ने काम मेयरले नै गर्दैछन् । रु. तीन लाखका कोटेशनका काम समेत मेयरले गर्ने सोच बनाएपछि कमाउने नपाउने हो कि भनेर अत्तालिएका कार्कीले उनै कार्यकारी अधिकृतलाई गुमराहमा राखेर विभागीय प्रमुखहरूलाई नै डेढलाखसम्मको काम गर्ने अधिकार प्रत्यायोजन गर्ने काम सफलतापूर्वक गराउन भ्याएका छन् । जसबाट सहज रुपमा साना साना कोटेशनका फाइलमार्फत ४० प्रतिशतसम्म कमिशन मिलेमतोमा खानका लागि सहज बाटो बनाएको चर्चा महानगरमा हुने गरेको छ ।
दाम खानका लागि माहिर मानिएका ज्ञानेन्द्र कार्कीले केही दिन अगाडि कार्यकारी अधिकृतलाई मेयरभन्दा पनि कार्यकारी ठूलो भएको भन्दै सभागृहको मेयर कक्षमा राखिएको मेयर कै कुर्सीमा राखेर गोप्य छलफल गरेको पनि थाहा भएको छ ।
मेयर विद्यासुन्दर शाक्यलाई कार्कीका यस्ता अनगिन्ती कर्तुतहरू सबै थाहा हुँदाहुँदै पनि मौन बस्नुलाई काठमाडौं महानगरपालिकाका एमाले निकट कर्मचारी रुष्ट हुन थालेको खबर छ । मेयर हुनुभन्दा अगाडि दलीय संयन्त्रमा समेत बसेका शाक्यलाई कार्कीको चरित्र स्पष्टरुपमा थाहा हुँदा पनि तह लगाउन नसक्नुलाई कर्मचारीहरूले कार्कीको जालमा मेयर फसिकेको समेत बताएका छन् ।



