काठमाडौं । २०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि सत्तारूढ दलहरू काँग्रेस नेतृत्वमा र विपक्षी दलहरू एमाले नेतृत्वमा गठबन्धन बनाएर चुनावी मैदानमा होमिए । तर, समग्र परिणामले सत्ता गठवन्धनको अनुमान फेल खाएको छ । सत्ता गठबन्धनभित्र गडबडी भएपछि काँग्रेस र माओवादीका नेताबिच संचार माध्यमहरुमा एकअर्कामाथि दोषारोपण गर्ने दोहोरी नै चलेको छ । नेताहरूको अपेक्षाअनुसार मत ‘ट्रान्सफर’ नभएपछि सबैभन्दा बढी चर्को मारमा एकीकृत माओवादी परेको छ ।
विशेषगरी सत्ता गठवन्धनभित्र कांग्रेसका मत र माओवादीका मत एकअर्कामा ट्रान्सफर नभएपछि खटपट देखिएको हो । गठवन्धनबाट सबैभन्दा बढी लाभ नेकपा एकीकृत समाजवादी (एस)ले उठाएको छ । एसले गठवन्धनको बलमा जनआधारविनै धेरै सिट हात पारेको छ । एसलाई मत दिने बिषयमा काँग्रेस र माओवादी इमान्दार देखिएको छ । यो निर्वाचन २०७९ मा प्रत्यक्ष र समानुपातिकको मत परिणामले समग्रमा गठवन्धन नरुचाएको प्रष्ट संकेत गरेको छ । गठबन्धनप्रति असन्तुष्ट स्वतन्त्र, ढुलमुले र परम्परागत मतदाताले नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीमा भोट खन्याएका छन् ।
गठबन्धनका तर्फबाट कांग्रेसले उम्मेदवारी दिएका ९१ सिटमध्ये ६५ देखि ७० सिट जित्ने अनुमान थियो । यस्तै ४६ सिटमा उम्मेदवारी दिएको माओवादीले कम्तीमा ३५ सिट ल्याउने हिसाव थियो । एकीकृत समाजवादीले १९ उम्मेदवारमध्ये कम्तीमा आधाआधी जित्ने आँकलन थियो । राष्ट्रिय जनमोर्चाले उठाएको दुई सिटमै जित निकाल्ने र लोसपाले उम्मेदवारी दिएका सातमध्ये ६ सिटमा ढुक्क भनिएको थियो । तर आशा गरे अनुरुप जित हात नलागेपछि सत्ता गठबन्धनको पूर्व अनुमानले हावा खाएको छ । निर्वाचन आयोगको पछिल्लो मत परिणाम अनुसार काँग्रेसले केबल ५६ सिट, माओवादीले १७, समाजवादीले १०, लोसपाले ४ र राजमोले १ सिटमा मात्र जितेको छ ।
सत्ता गठवन्धनको सानो भोट भएको ठाउँमा ठूलो भोट सार्न मुस्किल भएको मत परिणामबाट देखिन्छ । धेरै मत भएको ठाउँमा थोरै लगेर थप्दा जित सहज भएको तर थोरै भएको ठाउँमा धेरै भोट लगेर थप्दा परिणाम नकारात्मक देखिएको छ । काठमाडौं २ मा माओवादी नेतृ एवम् पूर्व सभामुख ओनसरी घर्ती चौथो स्थानमा पुग्नुलाई गतिलो दृष्टान्तका रुपमा लिन सकिन्छ ।
यसैगरी काठमाडौं ६ मा काँग्रेसका भीमसेनदास प्रधान, ललितपुर ३ मा माओवादीकी पम्फा भुषाल, काठमाडौं ९ मा माओवादीकी कल्पना धमला, लमजुङमा माओवादीका देव गुरुङ, रुपन्देहीमा काँग्रेसका बालकृष्ण खाण, चितवन १ मा काँग्रेसका विश्व पौडेल, काभ्रे २ मा काँग्रेसका शिव हुमागाईं, ताप्लेजुङमा माओवादीका खेलप्रसाद बुढाथोकी, अर्घाखाँचीमा काँग्रेसकी पुष्पा भुसाल, पर्वतमा काँग्रेसका अर्जुन जोशी, सिराहा २ मा काँग्रेसकी चित्रलेखा यादवलगायतको हारलाई सत्ता गठबन्धनभित्र मत ट्रान्सफरमा गंभीर समस्याका रुपमा हेरिएको छ ।
गठबन्धन गर्दा कांग्रेसको उम्मेदवार नभएका स्थानमा नयाँ जन्मेका दलले मत काटेको देखिएको छ । कांग्रेसका उम्मेदवार नभएका स्थानमा समानुपातिकमा पनि कांग्रेसलाई मत कम परेको छ । निर्वाचन परिणामले केन्द्रले निर्णय गर्दैमा पहिलेजस्तो जनस्तरबाट स्वीकार्य हुँदैन भन्ने देखाएको छ । ठुला दलहरुले बुढो पुस्ताको विकल्प दिन नसक्दा पनि जनताले रुचाएनन् । अर्कातर्फ गठवन्धनमा विचारै नमिल्ने विपरीत ध्र‘वका राजनीतिक दल हुँदा मतदाताले सहज रुपमा स्वीकार्न कठिन देखियो ।
निर्वाचनको मत परिणाम आएपछि सबै कोणबाट दलहरुले समीक्षा गरेर सच्चिने कोसिस गरेनन् भने आगामी दिनहरु योभन्दा दुर्भापूर्ण हुने निश्चित मान्न सकिन्छ ।




