काठमाडाैं । परमादेशबाट २०७७ असार २८ गते प्रधानमन्त्री भएका शेरवहादुर देउवाकाे मन्त्रिपरिषदले पूर्णता पाउन ठ्याक्कै तीन महिना लागेकाे थियाे । अब यस पटककाे माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले पूर्णता कहिले पाउँछ ? टुंगो छैन ।
मन्त्रिपरिषद्ले पूर्णता पाउनु अघि नै प्रचण्डले विश्वासको मत लिने भएका छन् । पहिला सरकारको भविष्य टुंगो लगाएपछि उनी मन्त्रीहरु थप्ने र कार्यविभिाजन गर्ने मुडमा देखिएका छन् ।
मन्त्रीका लागि हानथाप गर्ने नेताहरु र मन्त्रालयको भाग धेरै खोज्ने गठबन्धनका सहयात्री दलहरुको कारणले पेचिलो बन्न सक्ने भएकोले उनी विश्वासकोा मतपछि मन्त्रिपरिषद् विस्तार गर्न तयारीमा रहेका हुन् ।
रवि लामिछाने नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीले छ वटा मन्त्रालय मागेपछि यो समस्या देखा परेको हो । एमालेले ८ वटा मन्त्रालय पाउने गरी सहमति भएको थियो ।
अहिले लामिछानेले नै मन्त्रालय धेरै माग्न थालेपछि समस्या भएको छ । एमालेले ८ वटा र माओवादीले ६ वटा मन्त्रालय लिने बाँकी अन्य दललाई भाग लगाउने देखिएको थियो । २५ वटा मन्त्रालयमा १४ वटा मन्त्रालय दुईवटा प्रमुख दलले लिने संभावना थियो ।
बाँकी रहेका ११ वटा मन्त्रालय साना दलको भागमा पर्ने अवरस्था थियाे। तर, अहिले लामिछाने एक्लैले छ वटा दाबी गरेर प्रधानमन्त्री प्रचण्डलाई अप्ठेराे पार्न थालेका छन् । उनले गृह मन्त्रालय पनि धम्क्याएर नै लिएका थिए ।
रविले समर्थन फिर्ता लिनेसम्मको धम्की दिएपछि अन्तिममा एमाले अध्यक्ष केपीकाे जाेडमा प्रचण्ड लामिछानेलाई गृह मन्त्रालय दिन तयार भएका थिए । अहिले मन्त्रालयको संख्यामा पनि बार्गेनिङ बढाउन थालेका हुन् ।
रविकाे पार्टीभित्रको विवाद मिलाउनपर्ने बाध्यताका कारण पनि मन्त्रालयको संख्या बढी दावी गरिएको हो । उनको पार्टीमा मन्त्री बन्न चाहनेको संख्या ठूलो देखिएको छ र विवाद पनि बढेको छ ।
यता, जसपाले आज २०७९ पुस १३ गते संसदीय दलको नेता टुंगो लगाउँदैछ । जसपाकाे संसदीय दलको नेता टुंगो लगाएपछि सरकारमा कसको नेतृत्वमा जाने टुंगो लगाउने तयारी जसपाको तयारी रहेको छ ।
संसदीय दलको नेता अशोक राई चुनिने संभावना रहेको छ । राजकिशोर यादव पनि दावेदारको रुपमा रहेका छन् । मधेशी नेताहरुको बाहुल्यता भएका कारण राजकिशोर यादव निर्वाचित हुने संभावना पनि रहेको छ । त्यसो हुँदा दलको नेता सरकारमा जाने तयारी जसपाले गरेको पनि नेताहरुले बताएका छन् ।
यता, मधेशको मुख्यमन्त्रीमा दावी गरेका कारण सीके राउतको जनमत पार्टीले आफ्नो अध्यक्षलाई सरकारमा पठाएको छैन । उसले उद्योग वा कृषि मन्त्रालयमा दावी गरेको थियो ।
किसान आन्दोलनबाट आएका कारण राउतले कृषि मन्त्रालयमा काम गरेर देखाउने मनसाय राखेका छन् । उनले पनि २ वटा मन्त्रालय दावी गरिरहेका छन् । जसपा पनि मधेशको मुख्यमन्त्रीको दावी गरिरहेको छ ।
एमाले अहिले मधेश प्रदेशमा सबैभन्दा ठूलो दल रहेको छ । जसपा, जनमत र एमालेवीच मुख्यमन्त्रीमा दावी रहेको छ । गठबन्धन भत्काउन कांग्रेसले जसपालाई मुख्यमन्त्रीको अफर भने गरिसकेको छ ।



