केपी ओलीले सम्हालेको प्रधानमन्त्री पदको तथा नेकपाको सरकारले एउटा विशाल चक्र पूरा गरेको छ । यो चक्रलाई चरण भने पनि हुन्छ, एउटा चरण पूरा गरेको छ । नयाँ प्रधानमन्त्रीले भारतको भ्रमण गरेपछि एउटा चक्र पूरा गरेको मानिन्थ्यो । ओलीको हकमा चक्र अलि फरक थियो । केपी ओली प्रधानमन्त्री बन्नासाथ उनले भारत कि चीनको पहिले भ्रमण गर्लान् भन्ने प्रश्न उठ्योे । ओलीले भारत भ्रमण गरे ।
त्यस लगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आए । मोदी नेपाल आएपछि ओलीको चीन भ्रमण के हुने हो भन्ने प्रश्न उपस्थित भयो । ओली २०७५ असार ५ गते चीन भ्रमणमा गए । चीनबाट असार १९ गते नेपाल फर्किइसकेका छन् । भारत र चीन भ्रमण गरेपछि प्रधानमन्त्री ओली तथा उनको सरकारले एउटा चरण पार गरेको मान्न सकिन्छ । र, मान्नु पनि पर्दछ ।
नेपालमा चाहिं नयाँ सरकारको कार्यथालनी विदेश भ्रमणबाटै हुन्छ तथा भारत र चीनको भ्रमणबाटै सुरु हुन्छ भन्ने अघोषित अवधारणा थियो । नभन्दै प्रधानमन्त्री केपी ओलीको पनि त्यस्तै भयो । ओलीले भारत र चीनलाई कसरी सन्तुलनमा राख्छन्, कसरी भ्रमण गर्छन् भन्ने थियो । यी दुवै मुख्य काम सकिएको छ । प्रधानमन्त्री केपी ओलीका यी दुवै मुख्य काम सकिंदा उपलब्धि हात लागेको छ दुवै देशबाट रेल आउने ! भारतबाट नेपालमा रेल आउने भयो, चीनबाट पनि नेपालमा रेल आउने भयो ।
दुई देशबाट नेपालमा रेल आउने योजना बन्नु, सहमति हुनु सामान्य उपलब्धि चाहिं होइन । जन जनको प्रश्न छ, अब रेल चाहिं कहिले आउँछ त ? यसको जवाफ प्रधानमन्त्री केपीलगायत कसैसंग छैन । वाम घोषणापत्रमा पाँच वर्षभित्रै रेल आउने भनिएको छ । जनता समक्ष गरेको बाचा पूरा गर्न पाँच वर्षभित्रै रेल नेपाल आउन सम्भव कति होला ? तर, रेल आउने करीब करीब सुनिश्चित भयो भनेर मानौ । कागजमा रेल आइसक्यो, निर्णयमा रेल आइसक्यो । अब यथार्थमा रेल आउन प्रतिक्षा गर्नुपर्ने भएको छ ।
यो प्रतिक्षा शब्दलाई ओली सरकारले बुझ्नुपर्छ । जनता रेलको प्रतिक्षामा पाँच वर्ष बस्नेछन्, दस वर्ष पनि बस्लान् । त्यो अवधिमा यही हालतमा बस्न चाहिं जनता तयार छैनन् । अब रेलको आश्वाशनले काम चल्नेवाला छैन । रेल महान विकास हो । रेल आउँछ भन्ने नाममा अन्य विकास निर्माण ठप्प भएको हेर्न जनता तयार छैनन् । यो कुरा नेकपाका अध्यक्ष् केपी ओलीको सरकारले राम्रैसंग बुझ्दा हुन्छ ।
देशमा शासकीय÷प्रशासकीय सुधार अनेक गर्नु छ । अर्थतन्त्रमा अनेकौं सुधार गर्नु छ । विकास निर्माणका अनेक काम गर्नु छ । रेलको ब्यग्र प्रतिक्षामा यी सबै विषय गौण बनेका थिए । रेलको निर्णय भयो, अब रेल मुख्य एजेण्डा रहने छैन, अब अन्य विषयहरूले टाउको उठाउने छ । धेरै विषयहरू भारत र चीनको भ्रमणपछि भन्दै सुस्ताएर बसेका थिए । अब ती यावत विषयहरूले टाउको उठाउने छन् । अब महंगी नियन्त्रणको विषयले पनि टाउको उठाउने छ, भ्रष्टाचार नियन्त्रणको विषयले पनि टाउको उठाउने छ ।
विषयकै कुरा गर्ने हो भने अनेकौं विषयहरूले प्रतिक्षा गरिरहेको छ । एउटा अनौठो विषय छ संसदीय समितिहरूको सभापति पद । राज्यमन्त्री सरहको संसदीय समितिको सभापति पद पाइने आशामा मन्त्रिमण्डलमा नपर्नेहरू पनि चुप लागेर बसेका थिए । संसदका समितिहरूको सभापति पद पनि पूर्ति भइसकेपछि पद वितरणको काम लगभग सकिनेछ । त्यसपछि सांसदहरूको असन्तुष्टिले पनि आकार लिन सक्छ । अर्थात्, ओली सरकारले अहिलेसम्म खासै व्यहोर्न नपरेको आन्तरिक चुनौतीहरू पनि भोग्न थाल्नेछ । नत्र त अहिलेसम्म सरकार निष्कंटक छ । कहीँकतैबाट सशक्त विरोध भएको छैन, कतैबाट अवरोध छैन । समर्थन नै समर्थन छ ।
यो अवस्था जारी रहला त ? यो प्रश्नको जवाफ ओली सरकारसंगै छ । यसको जवाफ अरुले दिएर हँुदैन । जनताले रेलको प्रतिक्षा गर्नेछन् तर रेलको प्रतिक्षा गर्ने नाममा विकास र समृद्धिका अन्य एजेण्डाहरूलाई बेवास्ता गरिएको हेरेर बस्ने छैनन् । सरकारले संघीयताको व्यवस्थापन चलाखीपूर्ण ढंगले गर्नु छ । सातै प्रदेशहरूले फिटिक्कै काम गर्न सकेका छैनन् । प्रदेश सरकारहरू सशक्त बन्न सकेन भने संघीय सरकार पनि प्रभावकारी हुने छैन । यो तथ्य आगामी दिनमा उजागर हुँदै जानेछ । रेलको प्रतिक्षाको नाममा लथालिंग प्रदेश सरकार र असफलतातर्फ अग्रसर संघीयता ओझेलमा परिरहेको थियो ।
अब ओली सरकारको चुनौती र समस्या सुरु हुनेछ । किनभने जनता सय दिन भन्दै पर्खिएर बसे, भारत भ्रमणपछि सरकारले ठोस उपलब्धि दिन्छ होला भन्दै चुप लागेर बसे, चीन भ्रमणपछि देशमा केही हुन्छ भन्ने आशले बसे । यी चरणहरू समाप्त भएको छ । अब जनताले उधारो होइन हाताहाती उपलब्धि खोज्नेछन् । अब जनताले भाषण र आश्वासन होइन ठोस काम खोज्नेछन् ।
जनताले भाषण पचाए, भाषण स्वीकार गरे, भाषणमा ताली ठोके । चिनी पनि धेरै खायो भने तीतो हुन्छ, भाषण पनि धेरै भयो भने तीतो हुन्छ । भाषण मीठो पनि हुन्छ, तर, भाषणको साथमा काम हुनुपर्छ । काम बिनाको भाषण झुठको खेती हो । अब जनताले फटाफट काम खोज्नेछन् ।
नेपाली माटोमा रेल कुद्न समय लाग्छ, पर्खनुपर्छ भन्ने जनताले बुझेका छन् । विकासका अन्य उपलब्धि पनि रेलसंगै आउँछ भनेर प्रतिक्षा गराउन मनासिब हुँदैन । रेल आउँदै गर्छ, यता विकास पनि थालिहालौं, सरकारले काम थालिहालोस् भन्ने जनचाहना देखिन्छ । यो जनचाहना ओली सरकारका लागि चुनौती र अवसर दुवै हो । मुख्य कुरा, ओली सरकारले बुझ्नुप¥्यो, अब जनताले रेल पर्खिंदैनन् । सबैलाई चेतना भया ।



