मिति ठ्याक्कै थाहा नभए पनि विक्रम सम्बत २०३० सालको तिरको कुरो हो जस्तो लाग्छ, मेरो जन्मस्थान तेह्रथुम पिप्लेबाट तीन किलोमिटर टाढा रहेको तेह्रथुमको सदरमुकाम म्याङलुङ बजारमा शुक्रबारे हाट लाग्ने गर्दथ्यो ।
उक्त बजार भर्न वरपरका गाउँगाउँबाट मानिस आउने गर्दथे, उनीहरूको उद्देश्य चाहिँ आफ्ना साथीभाइ आफन्तहरूसंग भेटघाट गरी दु:ख सुखको कुरा गर्ने माध्यमको रूपमा हाटलाई लिइएको पाइन्छ ।
देशको विकासभन्दा आफू र आफ्नाको विकास, कुर्सीको लाेभलालच, षडयन्त्रकाे खेल र सत्तालिप्सा, हामी नै सर्वेसर्वा हौं, भन्ने घमण्ड,जनतालाई भेंडा बाख्रा जस्तो केही थाहा हुँदैन भन्ने नेताहरूले ठानेका छन् । एकदिन जनविष्फाेट भयाे भने भ्रष्टनेले हजुर बुबाकाे विहे देख्न बेरछैन
म्याङलुङ बजार जाँदा कसैको उद्देश्य भने उक्त दिनमै आफूले अरूदिन नभ्याउने सरकारी काम समेत भ्याउने गरेका थिए, भने प्रायजसो मानिसहरू भने गाउँघरमा आवश्यक सामग्री नून, तेल,चिनी, मरमसला, लता,कपडाका खरिद गर्न हाटबजार पुग्थे ।
अनि संखुवासभाको मादीबाट ल्याइएको मिठो सख्खर र गाउँघरबाट ल्याइएको ताजा कुराउनी, घिउ, दाल, चामल, साग, सब्जी, सिजन अनुसारको फलफूल अन्नपात, बदाम, सुर्ति खानेले हप्ता भरीलाई चाहिने सुर्ति, दाम्ला ,नाम्ला,नाङ्लो,मान्द्रो ,डोको, डालो, थुन्से, कुखुरा,परेवा, सुँगुरका पाठा आदिको खरिद विक्री गर्ने गर्दथे ।
हप्ताको एक दिन शुक्रवार आसपासका धेरै गाउँका विद्यालय बजार भ्याउनु पर्ने कारणले विहान ७ बजेबाट १० बजेसम्म र सरकारी कार्यालय भने आधादिन या एक बजेसम्म खुल्ने गर्दथे ।
सबैलाई बजार आएर किनमेल गर्न सहज होस् भनेर त्यसो गरेको होला नै, सबै गाउँका मानिसहरू हप्ताको एकदिन लाग्ने शुक्रबारे बजार आउन तछाड मछाड गर्दै हाटमा आएर खुशी साटासाट गर्दथे ।
एक दिनको कुरो हो म पनि १०/११ वर्ष उमेरको भएपनि शुक्रवार बजार जादा बजारमा बेच्न राखेको, बजारका साहुजीले घरमा सख्खरलाई पगालेर लाम्चो लाम्चो सानो आधा पेन्सिल जत्रो गोलो पारेर बनाएको बिच बिचमा बदाम राखेको ठाउँमा केही फुलेको जस्तो देखिने चाक्साला र कुराउनीबाट बनेको बालसाइ खान खुरून्दार गरेर बजार जाने गरिन्थ्यो।
टुँडिखेलमा लाग्ने शुक्रबारे बजारको दिन कुन गाउँबाट हो एकजना ब्यापारीले नौनेघिउ बेच्न भनेर धार्नी र बिसौलीका डल्ला बनाएर बजारमा राखेका रहेछन् । बेलुकी पखसम्म पनि धार्नीको घिउकाे डल्लो चाहिं बिक्री भएन किनकि उनले त्यो घिउको डल्लो फुटाएर बेच्न चाहँदैन थिए, किन्ने मान्छेले आधा बिक्री गर्नुभन्दा नमानेको कारण बिक्री नभएको रहेछ ।
घाम अस्ताउन लागिसकेको कारण उनी हतार गर्दै हड्बढाउन थालेको समयमा एक जना प्रहरी हल्लारले घिउ खोज्दै आए । ती घिउ ब्यापारीको घिउ हेरेर घिउको माेलताेल गरेर पैसा दिएर घिउ उठाउदा एकठाउँमा कालो कालो देखेर ती हवलदारले त्यो घिउको डल्लोलाई कोट्याउन थाले पछि त घिउको डल्लोमा झन कालो आयो ।
के हो यो भनी उनले घिउको डल्लो फुटाएर भित्र हेर्दा घिउको पुरै डल्लोको आधा जत्रो कालोकालो डल्लो देखियो । यो देखेर अचम्म मानेर के रहेछ भनेर नियाल्दा गाई, गोरूको साह्रो गोवर डल्लो पारेर राखेको रहेछ ।
त्यो दृश्य देख्ना साथ बजारका धेरै मान्छे कुद्दै दौडिदै हेर्न जम्मा भए, भिडभाड बढ्दै गयो सबैले अचम्म मानेर त्यस ठगलाई ठोक ठोक भन्न थाले भने, उता त्यो ठग ब्यापारीलाई पुलिसले कुट्दै हतकडी लगाएर जेलमा कोच्यो ।
आखिर त्यो ब्यापारीले गोवरको डल्लोलाई भित्र राखेर लुकाई घिउको डल्लोले वरिपरि छोपेर मान्छे झुक्याएर क्षणिक नाफाको लोभमा परेको परिणामले कुटाइ खाँदै जेलको कस्टडीमा बस्नु पर्यो ,आखिर पाप धुरीबाट कराएर घिउ डल्लोको नै भुँडीफुटेर छताछुल्ल भयाे ।
त्यसरी नै हाम्रा धेरैजसो नेताहरूले आफ्नो स्वार्थको लागि जनतालाई झुटको खेती गरी झुक्याइ कुण्ठामा राख्ने र देशको विकासभन्दा आफू र आफ्नाको विकास, कुर्सीको लाेभलालच, षडयन्त्रकाे खेल र सत्तालिप्सा, हामी नै सर्वेसर्वा हौं, भन्ने घमण्ड,जनतालाई भेंडा बाख्रा जस्तो केही थाहा हुँदैन भन्ने नेताहरूले ठानेका छन् । एकदिन जनविष्फाेट भयाे भने भ्रष्टनेले हजुर बुबाकाे विहे देख्न बेरछैन ।
कुनैदिन यस्तो समय नआवस कि ठग ब्यापारीको घिउको भुँडी फुटेर पाप छताछुल्ल भएर जेलमा कोचिए जस्तै जनताले नेतालाई जेलमा कोच्ने दिन नआउला भन्न सकिन्न ,चेतना भया । धन्यवाद




