काठमाडौं । मुलुकको सबभन्दा ठूलो र सत्ताधारी पार्टीका महामन्त्री शशांक कोइरालाले गुट परिवर्तन गरे भन्दा कसले पो पत्याउला र ? तर, कोइरालाको पुरानो संस्थापन पक्षले भने यस्तै निष्कर्ष निकालेको छ । रामचन्द्र पौडेल अर्थात् पुरानो संस्थापन पक्षका खम्बा मानिएका शशांक कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाका पार्टी विरोधी र जनविरोधी निर्णयहरूमा लगातार साथ दिन थालेपछि पौडेल समूहले यस्तो निष्कर्र्ष निकालेको हो । पौडेल समूहले आफूलाई वीपी कोइरालाको विरासत थाम्ने पार्टीभित्रको संस्थापन पक्ष ठान्छ । तर उनकै पुत्र तथा पार्टी महामन्त्रीले आफ्नो भनिएको संस्थापन पक्षलाई बेवास्ता गर्न थालेपछि पौडेल समूहमा निकै ठूलो छटपटी शुरु भएको छ ।
पौडेल समूहको निष्कर्ष छ कि राष्ट्रिय राजनीति, कार्यनीति, अर्को गुटको षडयन्त्र तथा आफू निकट नेता तथा कार्यकर्ताका भावना नबुझ्ने महामन्त्री कोइरालाको स्वभावका कारण पनि पौडले समूहले हैरानी व्यहोरिरहेको छ । शशांकका यस्तै स्वभावसंग परिचित देउवा समूहले अनेक प्रलोभनमा फसाएर उनलाई उनीहरूकै पक्षमा पारेको पनि देखिएको छ । राम्रा र महंगा अन्तराष्ट्रिय ब्राण्डका मदिराहरू, कतिपय सन्दर्भमा सुन्दरी र नगदको समेत निकै सौखिन महामन्त्री कोइराला मोजमस्ती र भौतिक सुखसुविधामा मात्र लीन रहेर ‘महामानव वीपी’को बद्नाम गरेको नकारात्मक सन्देश आम पार्टी नेता र कार्यकर्तातहसम्म पुगिसकेको छ । यति गरेर पनि कोइराला पार्टीका अभियानहरूमा अग्रपंक्तिमा देखापर्ने र आम कार्यकर्तासंग घुलमिल गरिरहने हो भने उनी सबैतिर स्वीकार्य हुनसक्थे । तर, नेपाली कांग्रेसको संगठन, राष्ट्रिय राजनीति भा“डमै जावोस्को नीति लिएर मोजमस्तीमै रम्ने गरेको आरोप शशांकमाथि लाग्दै आएको छ ।
कोइराला स्थानीय तहको निर्वाचन जस्तो अति नै महत्वपूर्ण अवसर जतिबेला पार्टीलाई स्थापित गराउने र कार्यकर्तामा आफ्नो पहु“च पु¥याउन सक्ने अवसरलाई लत्याएर अमेरिका भ्रमणमा निस्किएकोमा पनि कार्यकर्ताहरूको आक्रोस उत्तिकै रहेको बताइन्छ । शशांकबाट पार्टी र कार्यकर्ताका चाहना समेटेर नेतृत्व गर्ने अवस्था नरहेको बुझेका रामचन्द्र पौडेल समूहका कतिपय नेताले संगठनका लागि मरिमेट्ने, कार्यकर्ताले पनि रुचाउने नेता शेखर कोइरालालाई नेपाली कांग्रेसको नेतृत्व लिएर अघि बढ्न दवाव दिईरहेका बताइन्छ ।
वीपीका सन्तानमध्ये स्वच्छ छवि बनाउन सफल डा. शेखर कोइरालाकै ठूलो मिहिनेत र सक्रियताले विराटनगर महानगरपालिकामा नेपाली कांग्रेस मेयर र उपमेयर जित्न सफल भएको चर्चा पनि कांग्रेसभित्र सुरु भएको छ । विराटनगर महानगरपालिकाको निर्वाचन परिणामले शेखर कोइरालाको उचाई बढाएको र निर्वाचन छाडेर अमेरिका हानिएका शशांक कोइरालाको उचाई पुड्को बनाएको चर्चा पनि कांग्रेसभित्र व्यापक छ ।




