संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे संसद भवनमा बस्नेछ । आजको बैठकमा रक्षा, संघीय मामिला तथा सामान्य प्रशासन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, स्वास्थ्य तथा जनसंख्या, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिंचाई, खानेपानी र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको विनियोजन विधेयक २०८० अन्तर्गत विभिन्न शीर्षकहरूमा मन्त्रालयगत छलफलमा सांसदले उठाएका प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ ।
तीन संसदीय समितिको बैठक बस्दै
आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ । आज विधायन व्यवस्थापन समितिको बैठक ३ बजे बस्दैछ भने प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक मध्यान्ह १२ बजे सिंहदरबारमा बस्दैछ । त्यस्तै राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक सिंहदरबारमा दिउँसो १ बजे बस्नेछ । बैठकमा समितिगत विषयहरुमा छलफल हुनेछ ।
जसपा विधान अधिवेशन आजः समूहगत छलफल हुने
जनता समाजवादी पार्टीको विधान अधिवेशन आज पनि जारी छ । आज समूहगत छलफल हुने बताइएको छ । अधिवेशनको दोस्रो दिन अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेको विधानमाथि सोमवार १० समूहमा विभाजन गरेर छलफल हुनेछ । आईतवार अध्यक्ष यादवले मस्यौदा विधान प्रश्ताव गर्नुभएको थियो । प्रश्तावित विधानमा आजबाट समूहगत रूपमा छलफल हुन लागेको हो ।
आजको मौसम
हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्य बदली रहनेछ ।
कोशी, वागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ–गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी , गण्डकी, लुम्बिनी, कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । मधेस प्रदेशका धेरै भूभागहरू र बांकी तराईका थोरै स्थानहरुमा हावा हुरीको समेत सम्भावना रहेको छ ।
आज राति कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेश सहित देशका पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, वागमती र गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी भू–भागका थोरै स्थानहरुमा मेघ–गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । कोशी प्रदेश र मधेस प्रदेशका धेरै भूभागहरू र बाँकी तराईका थोरै स्थानहरुमा हावा हुरीको समेत सम्भावना रहेको छ ।



