काठमाडौं । केही हप्तादेखि कांग्रेस महामन्त्री गगनकुमार थापा पार्टीमा संसदीय दलको नेता परिवर्तन गर्नुपर्ने पक्षमा बोलिरहेका छन् । संयोग पनि हरेक शनिवारजसो उनले यो कुरा बोलेका छन् । संसदीय दलको नेता परिवर्तन गर्नु आफ्नो प्रमुख ध्येय भएको बताएर सार्वजनिक खपतका लागि बोलिएरहेका छन् कि रणनीतिक चालबाजीमा रहेका छन् ? प्रश्न पनि उठेको छ ।
संसदीय दलको चुनावमा संस्थापन इतर समूहका सांसदहरुको समेत सबै भोट पाउन नसकेका महामन्त्री थापाले अहिले अंकगणित परिवर्तन हुन्छ भन्ने विश्वास किन गर्न थालेका हुन् ? भन्ने प्रश्न पनि उठेको छ । संसदीय दलको चुनामा नेता शेखर कोइरालाको साथ पाउँदा थापाले कांग्रेसका ८९ सांसदमा जम्माजम्मी २५ मत ल्याएका थिए । जबकि इतर समूहसँग ३२ मत थियो । सातवटा मत नै गुमाएका थापाले शेखर कोइरालाको साथ नपाउने अवस्थामा थप मत घुमाउने अवस्था रहेको छ ।
कांग्रेसभित्र पहिलो त सभापति देउवालाई संसदीय दलबाट हटाउन सक्ने अवस्था रहेको छैन । अर्कातिर देउवाको विकल्पमा थापा हुने संभावना पनि रहेको छैन । पछिल्लो विकसित घटनाक्रम अनुसार देउवाको विकल्पमा शेखर कोइराला हुन सक्ने अनुमान चाहिँ गर्न थालिएको छ । राजनीतिक वृत्तमा यो अनुमान हुन थालेपछि थापाले संसदीय दलको नेता परिवर्तनको कुरा गरिरहेका छन् । त्यसैले, थापाको यो रणनीतिक चालबाजीमात्रै भएको बताइन्छ । कोइराला र देउवा दुवैमाथि दबाब राखेर आफ्नो समूह निर्माणका लागि प्रयास गरेको अर्थमा कांग्रेसभित्र विश्लेषण भइरहेको छ । त्यो बाहेक थापासँग आफ्नो बलियो गुट पार्टीभित्र रहेको छैन ।
सार्वजनिक वृत्तमा प्रिय रहेका थापालाई पार्टीभित्र त्यसमा पनि नेतृत्व पंक्तिले स्वीकार गर्ने अवस्था रहेको छैन । हुन त, महाधिवेशन प्रतिनिधिहरुमध्ये अधिकले थापालाई महामन्त्रीमा चुनेका कारण पार्टीभित्र पनि लोकप्रियता रहेको छ भन्न सकिएला तर माथिल्लो तहका नेताहरु थापालाई अगाडि आउन दिने पक्षमा रहेका छैनन् । सोहीकारण यो संस्थापन इतर समूह नै विभाजित हुने अवस्थामा रहेको छ ।
विभाजित भएर कोइरालाको समूह देउवाको साथमा लागेको अवस्थामा देउवासँग जान नसक्ने समूहको आफ्नो गुटमा आउने थापाको विश्लेषण देखिन्छ । कोइराला देउवाको समूहमा गएमा देउवाको समूह पनि विभाजित हुन सक्ने खतरा रहेको छ । त्यो असन्तुष्ट समूह आफ्नो गुटमा समाहित हुनसक्नेमा पनि थापाको विश्लेषण देखिन्छ । त्यसैले, दुवै समूहका असन्तुुष्टलाई जम्मा गरेर बलियो गुट बनाउन सकिने सोचमा रहेका थापाले अहिले संसदीय दलको नेता परिवर्तनको कुरा गरेको चर्चा भएको हो ।
त्यो समूहभित्र नै थापालाई नरुचाउनेको पंक्ति पनि ठूलो भएको र विस्तारै लोकप्रियता पनि घट्ने क्रममा रहेकाले थापाको समूह बलियो हुन्छ भन्ने अनुमान चाहिँ कम नै गरिएको छ । त्यसो त, अन्तिम समयमा विश्वप्रकाश शर्माले पनि थापालाई साथ नदिन सक्ने अनुमान भइरहेको छ । शर्मा अवसरका लागि गुट परिवर्तन गर्न सक्ने नेता हुन् । कुनै बेला कोइराला समूहमा रहेका शर्मा झापा जिल्ला सभापति हुन नपाएपछि देउवा समूहमा लागेका थिए । पछि पार्टी प्रवक्ता हुन पाएपछि देउवा समूहमै रहेका शर्मा महाधिवेशनमा टिकट नपाएपछि विद्रोही भएर महामन्त्रीको उम्मेदवार भए । (साँघु साप्ताहिक, २०८० साउन १)




