काठमाडौं । जब विमान यात्रीहरुले विमानमा टर्बुलेन्स महसुस गर्छन्, तब विमान उपयुक्त नरहेको, पुरानो भएको जस्ता विभिन्न आरोप लगाउने गर्दछन् । केही यात्रुहरुले पाइलट अनुभवहीन भएको समेत आरोप लगाउने गर्दछन् । त्यसैले विमान यात्रीले यात्रा गर्दा जान्नुपर्ने प्रमुख कुराहरुमध्ये एक हो विमान टर्बुलेन्स् । जब विमानमा टर्बुलेन्स हुन्छ, तब जहाज हल्लिने गर्दछ । तर, टर्बुलेन्सका बारेमा जानकारी नभएका विमान यात्रुहरु त्रसित हुने गर्दछन् ।
यसको वास्तविकता भने फरक छ, जुन कुरा विमानमा यात्रा गर्ने यात्रुले बुझ्नै पर्दछ । मौसम कहिलेकाहीँ पूर्वानुमानयोग्य नहुन सक्छ । यस्तै मौसम खराबीका कारण कहिलेकाहीं विमान तलमाथि अथवा हल्लिएको महसुस जहाजमा सवार यात्रुहरुले गर्न सक्छन् । खराब मौसममा यसको सामना गर्दा कहिलेकाहीँ विमान हल्लिनु र तलमाथि गर्नुपर्ने अवस्था हुन्छ र यसलाई विमानको उडान र यात्रामा सामान्य मानिन्छ ।
यस्तो अवस्थामा यात्रुहरुमा धैर्यता हुनुपर्छ र यात्राको आनन्द लिइरहनुपर्दछ । पहिलो पटक यात्रा गरिरहेका विमान यात्रुहरु यस्तो अवस्थामा बढी डराउनु स्वभाविक हुन्छ । हवाई उडानमा अहिलेसम्म टुर्बलेन्सकै कारण दुर्घटना भएको तथ्यांक नभएको दावी एयरलाइन्स व्यवसायीहरु गर्छन् ।
एयरलाइन्स व्यवसायीहरुका अनुसार, विश्वमा शतप्रतिशत टुर्बलेन्समुक्त विमान कुनै पनि छैनन् । खराब मौसम अथवा विपरीत वायुको अवस्थामा टर्बुलेन्सको खतरा हुने स्थानबाट पाइलटहरुले कम खतरातर्फ लैजान रुटहरुसमेत परिवर्तन गरिरहेका हुन्छन् । उदारहणको लागि भद्रपुर अथवा अन्य स्थानबाट काठमाडौं आइरहेको विमान खराब मौसमका कारण उपत्यका प्रवेश गर्न नसक्ने अवस्था भएमा विराटनगर तथा जनकपुर प्रवेश गर्दछन् ।
वायुमण्डल घुमिरहेको हुन्छ र विमानले उक्त वायुलाई उडानको गति नियन्त्रणका लागि समेत प्रयोग गरिरहेको हुन्छ । विमानको विङ्स(पँखेटा)ले वायुको प्रवाहलाई नियन्त्रण गरिरहेको हुन्छ । तर, वायु प्रवाह सँधै एकैनासको हुँदैन, यस्तो अवस्थामा विमानले टर्बुलेन्स महसुस गरेको हुन्छ । सम्भावित टर्बुलेन्सबारे पाइलटलाई अगाडि नै जानकारी भइसकेको हुन्छ ।
नेपालको भौगोलिक अवस्था र मौसमलाई हेर्ने हो भने अधिकांश विमानहरुले यात्राका क्रममा टर्बुलेन्स महसुस गरिरहेका हुन्छन् । अझ भन्नुपर्दा हिमाली क्षेत्रमा दिउँसोको ११ देखि १२ बजेसमम वायुको गति एकदमै बढ्ने भएका कारण विमानलाई नै असर गर्ने भएका कारण साना विमानहरु उड्नलाई प्रतिबन्ध समेत लगाइएको बताइन्छ ।
टर्बुलेन्स कुनै एउटा उडानमा मात्र हुने होइन, हुँदैन पनि । पछिल्लो समय टर्बुलेन्सको प्रभावलाई कम गर्नका लागि अनेक खोज र आविष्कारहरु भइरहेको पनि बताइन्छ । उडानको समयमा विमान हल्लिँदा डराउने यात्रुहरुलाई विहान ११ बजेभन्दा पहिला यात्रा गर्न समेत पाइलटहरुले सुझाव दिने गरेको पाइन्छ । किनकि बिहानको समयमा वायुमण्डलको आद्रताले बादल बनिसक्ने अवस्था नभएकाले विमानलाई टर्बुलेन्स गराउने सम्भावना एकदमै कम रहेको हुन्छ । यो अवस्था नेपालमा हरेक मौसममा लागू भएको पाइन्छ ।




