काठमाडौं । एमालेका हिक्मत कार्की मुख्यमन्त्री भएको कोशी प्रदेशको सरकारले २०८० असोज २० गतेभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता रहेको छ । यो संवैधानिक खड्गो काट्न एमालेलाई निकै सकस परेको छ ।त्यो सकसका कारणले गर्दा सरकार जोगाउने भन्दा पनि त्यसपछि बन्ने सरकारमा कसलाई समर्थन गर्ने भन्नेमा एमालेको चासो र चिन्ता देखिन थालेको छ । राप्रपाले आफै सरकार बनाउने रणनीति लिन थालेको छ । एमालेको साथ खोजेर उसले दावी गर्ने प्रयास गर्ने देखिएको छ । कांग्रेस र माओवादी केन्द्रले पनि आफ्नो मुख्यमन्त्रीका लागि जोड दिने संकेत देखाएका छन् ।
संविधानको धारा १६८ को उपधारा ५ अनुसार गठन हुने सरकार यो संवैधानिक प्रावधान अनुसार अन्तिम सरकार पनि भएकोले धेरैले रणनीतिक चाल देखाउन थालेका छन् । यो धारा अनुसार मुख्यमन्त्री बनेमा लगभग चार वर्षसम्म निरन्तर सरकार चलाउन सकिनेछ । त्यसैले कोशी प्रदेशको राजनीति निकै रोचक परिदृश्यमा प्रवेश गरेको छ । कांग्रेसबाट उद्धव थापा, केदार कार्कीले मुख्यमन्त्रीको लागि आश गरेका छन् । माओवादी इन्द्र आङ्बो र बाबुराम गौतम अनि राप्रपाका भक्ति सिटौलाको प्रयास देखिन्छ । गठबन्धनभित्र कांग्रेसको लफडा र सहमति जुटाउन हुने अप्ठ्यारोका कारण कतै आफ्नो भागमा आईपर्न सक्ने आशमा एसका राजेन्द्र राई पनि रहेका छन् । राजेन्द्र राईलाई एमालेले आलोपालोको आश देखाइसकेको छ । तर, केन्द्रीय गठबन्धन र पार्टी जोगाउनुपर्ने बाध्यताका कारण एसले तत्काल एमालेसँग गईहाल्ने अवस्था भने छैन । त्यसैले अहिले कोशी हरेक नेता मुख्यमन्त्रीको सपना देखेर बसेका छन् ।
यद्यपि, एमालेको हातबाट चाहिँ मुख्यमन्त्री पद खुस्किने खतरा बढेको छ । एमाले गठबन्धन भत्काउन कांग्रेसलाई सहयोग गर्न सकिने संकेत पनि दिन थालेको छ । एमाले र कांग्रेस मिलेर गठबन्धन बनाउनुपर्ने मत एमालेको रहेको छ । त्यसमा कांग्रेसको कार्की समूह सहमत रहेको छ । त्यसैले, अबको कोशी समीकरण निकै रोचक हुन सक्ने देखिन्छ । कार्की पक्ष अहिले जसरी पनि थापालाई मुख्यमन्त्री हुन दिने पक्षमा रहेको छैन ।
कृष्ण प्रसाद सिटौला समूहका थापालाई मुख्यमन्त्री बनाउन पहिलादेखि नै उनीहरुले रोक्ने प्रयास गरेका थिए । तर, पार्टीभित्रको समीकरण मिलाउन सकेनन् र थापा संसदीय दलको नेता भए । त्यही आधारमा दुुईपटक मुख्यमन्त्री भए । भलै ती दुवै अवैधानिक थिए । अहिले थापा काम गर्न नपाएको भनेर फेरि मुख्यमन्त्रीको दावीमा रहेका छन् । तर, रोक्ने खेलमा प्रदेशभन्दा माथि शेखर कोइराला पनि लागेका छन् । अन्य प्रदेशको मुख्यमन्त्री पनि आफ्नो समूहले नपाएको भन्दै कोइराला अहिले थापालाई रोकेर कार्कीलाई बढाउन कस्सिएका छन् ।
शेखर सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री प्रचण्डसँग आक्रमक भएर प्रस्तुत हुनुको कारण पनि कोशी प्रदेशमा आफ्नो समूहको मुख्यमन्त्री बनाउन लागि भएको चर्चा विराटनगरमा भइरहेको छ । तर, सिटौला समूहको व्यवस्थापनका लागि थापालाई मुख्यमन्त्री बनाएका कारणले देउवा सजिलै कोइरालाको पक्षलाई दिन सहमत होलान् भन्ने अनुमान गरिएको छैन ।
यता, माओवादीभित्र पनि आङ्बोलाई रोक्न एउटा समूह सक्रिय भएको छ । त्यो समूहले सभामुख छोडेका गौतमलाई मुख्यमन्त्री बनाउनुपर्ने तर्क गरिरहेको छ । पदका लागि नैतिकता गुमाएका गौतममाथि संवैधानिक प्रश्न उठिरहेको छ । उनले पार्टीको निर्देशनमा गठबन्धन जोगाउने नाममा सभामुखको हैसितयमा सरकार बनाउन हस्ताक्षर गरे । त्यसमा प्रश्न उठेपछि सभामुखबाट राजीनामा दिएलगत्तै मन्त्री हुन गए ।
यस्तो नैतिकहीन र गैरसंवैधानिक बाटो समाएका गौतम आफैंले चाहिँ मुख्यमन्त्रीको दावी गरेका छैनन् । आङ्बोलाई रोक्ने समूहले गौतमलाई अगाडि सार्न खोजेको माओवादी स्रोतको भनाइ छ । आङ्बोले मुख्यमन्त्री दावी गरिहाले पनि कांग्रेस सहमत हुने र सरकार बन्ने स्थिति भने देखिइहालेको छैन् । (साँघु साप्ताहिक, २०८० असोज १५)




