काठमाडाैँ । विगत केही समययता युद्धको कारण विश्वव्यापी रुपमा आर्थिक गतिविधिहरु प्रभावित भएकाले विश्व अर्थतन्त्रको वृद्धिदरमा कमी आउने चुनौती रहेको छ । विश्व अर्थतन्त्रमा आएको परिवर्तनको प्रत्यक्ष र अप्रत्यक्ष प्रभाव नेपाली अर्थतन्त्रमा पनि परेको छ ।
समीक्षा अवधिमा बैकिङ्ग क्षेत्रमा तरलताको सुधार सँगै कर्जा प्रवाहमा समेत उल्लेख्य सुधार भएकोले आगामी दिनहरुमा समग्र बैंकिङ्ग क्षेत्रको व्यापार व्यवसायमा सुधार हुने अपेक्षा गरिएको छ ।
प्राइम कमर्सियल बैंकले समीक्षा अवधिमा गत वर्षको सोही अवधिभन्दा २३.३९ प्रतिशतले बृद्धि गरी कुल रु. २ खर्ब १६ करोड निक्षेप संकलन गरेको छ । बैंकले पहिलो त्रैमासको अवधिमा मात्रै रु. २१ अर्ब ६० करोड अर्थात १२.०९ प्रतिशत निक्षेप बृद्धि गरेको छ । यसैगरी कर्जा लगानीतर्फ, बैंकले गत वर्षको सोही अवधि भन्दा १४.१२ प्रतिशतले बृद्धि गरी कुल रु. १ खर्ब ७६ अर्ब कर्जा प्रवाह गरेको छ ।
यस समीक्षा अवधिमा बैंकले गत वर्षको सोही अवधिको भन्दा ३१.३५ प्रतिशतले संचालन मुनाफामा बृद्धि गरी रु १ अर्ब ६५ करोड आर्जन गरेको छ । साथै बैंकले समीक्षा अवधिमा गत वर्षको सोही अवधि भन्दा ३४.२१ प्रतिशतले बृद्धि गरी कुल रु. ६५ करोड गैरकोष आम्दानी आर्जन गरेको छ ।
गत वर्षको सोही त्रैमास भन्दा ३१.७३ प्रतिशतले खुद मुनाफा बृद्धि गरी बैंकले रु. १ अर्व १५ करोड खुद मुनाफा आर्जन गरेको दावी गरेकाे छ ।
गत वर्ष बैंकले मुलुकको वर्तमान अर्थतन्त्र एवं उद्योग व्यबसायहरुमा परेको नकारात्मक प्रभावलाई मूल्यांकन गर्दै आफ्नो आर्थिक अवस्थालाई मजबुत बनाउन यथेष्ट कर्जा नोक्सानी व्यवस्था गरेकाले समीक्षा अवधिमा कर्जा असुलीमा सुधार भई खुद मुनाफामा सकारात्मक सुधार देखिएको छ ।
गत त्रैमासको अवधिभन्दा यस त्रैमासमा वितरण योग्य मुनाफामा उल्लेख्य सुधार गर्दै रु. ४२ करोड ३१ लाख संचित मुनाफामा थप योगदान गर्दै कुल ६२ करोड ८६ लाख पु¥याउन बैंक सफल भएको बताएकाे छ ।
साथै बैंकको निष्कृय कर्जाको अनुपात गत आर्थिक वर्षको अन्त्यमा ४.२३ प्रतिशत रहेकोमा यस समीक्षा अवधिमा ३.६७ प्रतिशतमा घट्न गएको छ । यसैगरी प्रति शेयर आम्दानी गत आर्थिक वर्षको अन्त्यमा रु. ११.६६ रहेकोमा समिक्षा अवधिमा रु. २३.७४ मा बृद्धि भएको पनि दावी गरेकाे छ ।



