काठमाडौं । भूमिब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले नापी कार्यालय ललितपुरका प्रमुख उमेशकुमार साहलाई २०८० असोजमा धनुषामा सरुवा गरेको थियो । प्रमुख नापी अधिकृत(उपसचिव)कै दरबन्दी रहेको धनुषामा सरुवा भएका साहले खटाएको ठाउँमा जानुको साटो मन्त्रालयका विरुद्ध अदालतमा रिट दर्ता गरी सरुवा रोकाए । ललितपुर नापी कार्यालयमा सेवाग्राहीलाई अति नै दुःख दिएका साहका बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गम्भीर प्रकृतिका उजुरी परेको स्रोत बताउछ । सरकारी जग्गा गैरकानूनी रुपमा ब्यक्तिका नाममा दर्ता गरेको विषयमा उनका विरुद्ध अख्तियारमा उजुरी परेकोले मन्त्रालयले उनलाई ललितपुरबाट धनुषा सरुवा गरेको थियो ।
ललितपुरमा सरकारी जग्गा दर्ता गर्दा लाखौं लाख घुस खान पल्किएका र सेवाग्राहीसँग जग्गाको हालसाविकमा आनाको लाख लिने बानी परेका उनले अदालतमा रिट हाली वरिष्ठ कानून ब्यवसायीलाई राखेर अन्तरिम आदेश ल्याई सरुवा रोकेका छन् । र, भूमि प्रशिक्षण केन्द्र धुलिखेलबाट ललितपुरमा सरुवा भएका रमेश ज्ञवाली यता न उता भएका छन् । उनले धुलिखेलबाट रमाना बुझेर आए, तर ललितपुरमा उमेशकुमार साहले सबैतिर लाखौं लाख खर्च गरेर प्रभावित पारेर सरुवा रोकेपछि ज्ञवाली चाहिं अलपत्र परेका छन् । सरकारी वकिलदेखि अदालत मिलाएर अन्तरिम आदेशका भरमा सरुवा रोकेका उपसचिव साहका बारेमा राष्ट्रिय सतर्कता केन्द्रले पनि छानबिन सुरु गरेको खबर छ । सतर्कताले दसैँअघि ललितपुर नापी कार्यालयमा गएर उमेशकुमार साहले गरेका जग्गाको कित्ताकाटमा गरेको अनियमितताका बारेमा छानबिन सुरु गरेको केन्द्रका एक अधिकारीले बताए ।
ललितपुर नापी कार्यालयमा एक बर्षको बीचमा उमेशकुमार साहले सरकारी जग्गा दर्ता गरेको प्रमाणसहितको कित्ता नम्बर समेत उल्लेख भएको उजुरी अख्तियारमा छँदैछ । कार्यालय प्रमुख साहले ललितपुरको नख्खु खोला करिडोरमा पर्ने नगर १३ सिट नम्बर १०२–१२६४–०३ कि.न. ३४७८ को सरकारी जग्गा घुस असुलेर ब्यक्तिको नाममा हालसाविक(अद्यावधिक) गरेको आरोप छ ।
साविक भैंसेपाटी गा.वि.स. वडा नं. ६ ‘क’ कि.न.४६९ को सरकारी जग्गा हाल नयाँ नापीमा कार्यविनायक नगरपालिका वडा नं. ४ कि.न.१३५४ नेपाल सरकारको नाममा हुनुपर्नेमा नापी कार्यालयका प्रमुखसाहले आर्थिक लाभ लिई ब्यक्तिको नाममा हालसाविक गरी सरकारी जग्गा हिनामिना गरेको अख्तियारमा दर्ता भएको उजुरीमा उल्लेख छ ।
साहले ब्यापक भ्रष्टाचार गरी अकूत सम्पत्ति आफ्नो नाममा, श्रीमती तथा आफन्तका नाममा साथै साथीको नाममा काठमाडौँ उपत्यका लगायतका ठाउँमा जग्गा जोडेको उजुरीमा उल्लेख छ । अख्तियारमा २०८० असोज २ गते परेको सी–०१७७८४ दर्ता नम्बरको उजुरीमा उनीमाथि भ्रष्टाचार गरी गैरकानूनी सम्पत्ति आर्जन गरेकाले छानबिन गर्न माग गरिएको छ । उनले २५ करोड भन्दा बढी गैरकानूनी सम्पत्ति आर्जन गरेको देखिएको दावी गर्दै उक्त सम्पत्ति छानबिन गर्न माग गरिएको छ ।
उजुरीमा उल्लेख छ–नापी कार्यालय ललितपुरका कार्यालय प्रमुख साहले ललितपुरको धापाखेल ८ ‘ख’ कि.न. २७५८, २७६३ समेत गरी ३ वटा प्लट(०–१२–०–०) ४–४ आनाको जग्गा २ वटा आफ्नो नाममा किनेको र एक कित्ता साथीको नाममा किनेको सो जग्गा प्रतिआना २२ लाख रुपैयाँका दरले २ करोड ६४ लाखमा किनेका हुन् । उक्त जग्गा आफ्नो नाममा खरिद गर्दा साहले अर्को नापी अधिकृतले थाहा पाउँछ भनेर आफैं प्रमाणित गरेका थिए ।
यसरी साहले आफ्नो नामको लिखत आफैं प्रमाणित गरेका छन् । नियम अनुसार, आफ्नो नामको लिखतमा आफैं हस्ताक्षर गर्न मिल्दैन । यसरी आफ््नो जग्गा आफैं प्रमाणित गरेको बिषयमा अख्तियारमा उजुरी परेको थाहा पाएपछि उनले शनिबार (२०८० असोज ६ गते) सार्वजनिक बिदाका दिनमा पनि कार्यालयमा दिनभर बसेर उक्त कागजात गायब पारेका छन् । सरकारी जग्गा लाखौं घुस लिएर ब्यक्तिको नाममा गरेको बिषयमा पनि प्रमाण मेटाउन उनी शनिबार दिनभर तल्लीन थिए । उनी २०८० असोज ६ गते शनिबार साँझसम्म प्रमाण मेटाउन कार्यालयमै रहेको स्रोत बताउछ ।
साहलेयसअघिनेपाल–भारत सीमानामा नापनक्साको काम गर्दा गाडी, इन्धन, चेनमेन(लेबर) को फर्जी बिल बनाएको, अछाम, अर्घाखाँची नापीमा काम गर्दा चेनमेन(लेबर) तथा सामान बिल फर्जी गरेको, फिल्डमै गएर नक्सा नाप्नुपर्नेमा फिल्डमा नगई पुरानो (साविक) नक्सालाई ट्रेस गरी फर्जी बिल भर्पाई बनाई दसौं लाख रुपैयाँ भ्रष्टाचार गरेको बिषयमा पनि उनी विवादमा परेका थिए ।
भ्रष्टाचारबाट आर्जित सम्पत्तिबाट साहले मनोहरा जग्गा एकीकरण आयोजना भक्तपुर लोकन्थलीमा निजले सा“ढे ३ तला घर ६ आना क्षेत्रफलमा बनाएर बसेका छन् । उक्त घरको हालको न्यूनतम मूल्य ५ करोडभन्दा बढी पर्न आउँछ । ललितपुर नापी कार्यालयका कर्मचारीहरुले कुनै जग्गा कित्ताकाट वा हालसाविक गर्दा नापी अधिकृतले प्रमाणित गराउने गरेको ललितपुर नापीका कार्यालय प्रमुख साहले घुसको कुरा तय गर्ने र आफैंले प्रमाणित गर्ने गरेका छन् ।
कार्यालय प्रमुख साहले दिनभरी बाहिर बाहिर घुमिराख्ने, बेलुका ५ बजे आएर गीता रायमाझी नामका सहयोगीबाट सबै डिटेल ह्वाट्सएप बाट फोटोहरु लिएर कर्मचारीहरुलाई बार्गेनिङ गरी घुस असुल्ने गरेको गुनासो कर्मचारी स्रोत बताउछ ।
उजुरीमा उल्लेख छ–प्रमुख नापी अधिकृत उमेशकुमार साहले २०६४ सालमा सरकारी सेवामा प्रवेश गरेर १५ बर्षमा २५ करोड रुपैयाँ बराबरको सम्पत्ति कसरी आर्जन गरे? यसमा अख्तियारले गम्भीर रुपमा अनुसन्धान गर्ने हो भने सबै खुल्ने दावी गरिएको छ ।
सरकारी जग्गा हिनामिना गर्ने, घुस असुल्नुका साथै कार्यालयका कर्मचारीहरुलाई घुस माग्न बाध्य पारिएको उल्लेख छ । कार्यालय प्रमुख साहलाई मन नपरेका कर्मचारीहरुले दैनिक गर्ने कामहरुको(डकुमेन्ट)को तस्बिर खिची बार्गेनिङ गर्ने गरेको गुनासो छ । (साँघु साप्ताहिक, २०८० मंसिर ४)



