सुर्खेत, २७ भदौ (रासस) : सुर्खेत भेरीगङ्गा नगरपालिका–२ स्थित सत्तरी भन्ने स्थानबाट प्रहरीले आज अवैध काठ बरामद गरेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयको ब्यूरो र इलाका प्रहरी छिन्चुबाट गएको संयुक्त टोलीले सत्तरी निवासी विरोध वलीको घरबाट अवैध काठ बरामद गरेको हो ।
वलीको घरमा छापा मार्दा लुकाई–छिपाई राखेको अवस्थामा ६३ थान (६६.८८) क्यूफिट काठ रितपूर्वक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिए ।
प्रहरीले बरामद गरिएको सालको काठ र वलीलाई सवडिभिजन वन कार्यालय छिन्चु सुर्खेतमा बुझाइएको प्रवक्ता चौधरीले बताए । त्यसैगरी, आज प्रहरीलाई नगद दिने व्यक्तिलाई पनि कारवाही गरिएको उनले बताए ।
“बराहताल गाउँपालिका–७ सुर्खेतका इन्द्रबहादुर मगरले मोटरसाइकलमा तीनजना चढाएर ट्राफिक नियम उल्लङ्घन गरेका थिए,” उनले भने , “वीरेन्द्रनगरस्थित नेताचोकमा प्रहरी निरीक्षक शङ्कर श्रेष्ठले जाँच गर्दा उनले रु ७२५ दिएर प्रलोभन पार्न खोजेको देखियो ।” उनका अनुसार प्रहरीलाई प्रलोभनमा पार्न खोज्ने मगरलाई पक्राउ गरी कारवाही भइरहेको छ ।
–––



