काठमाडौं, भदौ २७ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले एकै व्यक्तिबाट झण्डै साढे ११ करोड वक्यौता उठाउन बाँकी रहेको खुलासा भएको छ ।
कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) को टर्मिनल भवनको आगमन तथा प्रस्थानतर्फ सञ्चालित पसलका सञ्चालक प्रमोद शमशेर जबराबाट यति ठूलो रकम उठाउन बाँकी रहेको खुलेको हो ।
जबराले ०६५ मा दुई ड्यूटी फ्री पसल सञ्चालन अनुमति लिएका थिए । युनिभर्सल सप्लाई एजेन्सी र ग्रिनलाइन इन्टरनेशनल प्रालि नामका दुई पसल सञ्चालन गरेका जबराले यति ठूलो रकम नतिरेर बलबिच्याइँ गरेका हुन् ।
नेपाल उड्डयन प्राधिकरण मातहतको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका कर्पोरेट महाशाखा प्रमुख रामचन्द्र सुवेदी अनुसार, जबराको युनिभर्सल सप्लाइ एजेन्सीले ६ करोड ७१ लाख २४ हजार ७७ र ग्रिनलाइनले १ करोड ३७ लाख २२ हजार ९ सय २८ रुपैयाँ तिरेको छैन । ०७५ जेठ १४ गतेसम्मको यो रकम ४१ प्रतिशत बिलम्ब र सेवा शुल्कबाहेकको हो । यो रकममा ४१ प्रतिशत ३ करोड ३० लाख ५५ हजार ४ सय विलम्ब र सेवा शुल्क जोड्दा ११ करोड ३६ लाख ७८ हजार ३ सय २८ हुन आउँछ ।
सुवेदीका अनुसार ०६५ मा रक्सी र चुरोटको ड्यूटी फ्री पसलको अनुमति लिएर सञ्चालन गरेका जबराले केही महिना भाडाबापतको रकम तिरे पनि त्यसपछि तिर्न आनाकानी गरेका थिए । यद्यपि, उनको ड्यूटी फ्री पसल डा. बाबुराम भट्टराई अर्थमन्त्री र हिसिला यमीको पर्यटन मन्त्रीत्वकालमा बन्द भएको थियो । त्यसयता उनले ड्यूटी पेड पसल भने सञ्चालन गर्दै आइरहेका थिए । तर उड्डयन कार्यालयले ०७५ जेठ १४ गते बक्यौता नतिरेको भन्दै पसल बन्द गरिदिएको छ ।
‘हामीले पटक–पटक वक्यौता रकम असुलीका लागि आग्रह गर्दा पनि उहाँले तिर्नुभएन,’ सुवेदीले भने, ‘०७५ जेठ १४ बाट पसल बन्द गराएर हामीले असुली प्रक्रिया शुरु थालेका छौं ।’
२०७५ जेठ २९ गते वक्यौता रकम चुक्ता गर्न राणाको स्थायी ठेगानामा पत्र पठाएको उड्डयन कार्यालयले यसपछि सार्वजनिक सूचना प्रकाशित गरेर थप प्रक्रिया अघि बढाएको छ ।
जबराले किन गरे अर्घेल्याइँ ?
१० वर्षसम्म करोडौं रकम बक्यौता नउठेपछि जबरासँगै नागरिक उड्डयन कार्यालय नेतृत्वको नियतमाथि गम्भीर प्रश्न उब्जेको छ । तर जबराले भने सम्झौताअनुसार ड्यूटी फ्री पसल सञ्चालन गर्न नदिएकाले आफूले भाडा रकम नतिरेको बताउँदै आएका छन् । उनले यही जिरह पेश गर्दै अदालतमा समेत मुद्दा दायर गरेका छन् ।
टीआईए नागरिक उड्डयन कार्यालयका कर्पोरेट महाशाखा प्रमुख सुवेदी यही अदालतको मुद्दा मामिलाका कारण लामो समयसम्म बक्यौता उठाउन नसकिएको बताउँछन् । ‘२ वर्षअघि म यहाँ सरुवा भएर आएकाले यसबारे उतिधेरै थाहा छैन’, सुवेदीले भने, ‘तर मेरो जानकारीमा आए अनुसार मुद्दा मामिलाका कारण बक्यौता उठाउन अप्ठ्यारो भएको देखिन्छ ।’
टीआईए अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रवक्ता प्रतापबाबु तिवारीसँग हामीले यति लामो समयसम्म किन भाडा रकम नसुलेको ? भनेर राखेको जिज्ञासमा उनले अनविज्ञता जनाए । ‘यसबारेमा मलाई केही थाहा छैन, कर्पोरेट महाशाखामा सोध्नूस्’, तिवारीले भने ।
जबरा कांग्रेस सभापति शेरबहादुर देउवाका नजिकका नातेदार हुन् । स्रोतका अनुसार, देउवापत्नी आरजूका ठूलो बुबाका छोरा हुन्, प्रमोद । यही शक्तिको आडमा जबराले यति ठूलो रकम बक्यौता बाँकी राखेको स्रोतको दाबी छ । ‘देउवाको नातेदार भएकै कारण उनले लामो समयसम्म अर्घेल्याइ गरेर ठूलो रकम बक्यौता राखेका हुन्’, स्रोतले भन्यो ।
जबरासँग यसबारे जानकारी माग्न सम्पर्क गर्दा स्थापित हुन सकेन ।



