काठमाडौं । माओवादी केन्द्रसँग एकताको प्रक्रियामा लागेका नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र नेत्रविक्रम चन्दको विषयमा माओवादी केन्द्रभित्र फेरि झमेला हुन थालेको छ । माओवादी केन्द्रमा बाबुराम भट्टराईलाई वैचारिक नेताको रुपमा स्थापित गर्ने र पार्टीको नीति तर्जुमा गर्ने थलोसहित दोस्रो वरीयता दिन खोजिएको छ । माओवादी केन्द्रका एक नेताका अनुसार, त्यसले गर्दा माओवादीभित्र वैचारिकीको अभाव पूर्ति हुने भएपनि माओवादी नेताहरु नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, जनार्दन शर्मा भने समस्या परेका छन । उनीहरु प्रचण्डको उत्तराधिकारी हुने प्रयासमा रहेका थिए । तर, बाबुरामको प्रवेशसँगै विप्लवको प्रवेश पनि हुन लागेको छ ।
उक्त कुरा अध्यक्ष प्रचण्डले पूर्वी रुकुम पुगेर बताएका हुन् । त्यसपछि यो समूह बाबुरामको प्रवेशभन्दा पनि विप्लवको प्रवेशबाट धेरै तनावमा रहेको स्रोत बताउछ । विगतमा विप्लबलाई रोक्न एक भएर शर्मा र पुनले माओवादीभित्र क्याम्पेन गरेका थिए । उक्त क्याम्पेन माओवादीको इतिहासमा पहिलोपटक थियो । माओवादीभित्र कमरेड पुन र शर्मा जानीदुश्मनको रुपमा रहेका कारण उनीहरु कहिल्यै पनि एकसाथ रहेका थिएनन् । तर, विप्लवलाई रोक्न २०८० असार र साउनमा एक भएका थिए ।
२०८० साउनको केन्द्रीय कमिटी बैठक सकिएपछि पुन र शर्माको अस्थायी एकता पनि सकिएको छ । त्यसैले, फेरि पनि विप्लवलाई रोक्न यो समूह सक्रिय हुन सक्ने आंकलन गरिएको छ । शर्मा भूकम्प प्रभावित रुकुम पश्चिममै सक्रिय रहेका कारण काठमाडौैँमा सक्रिय हुन पाएका छैनन् । अहिले बाबुराम र विप्लव मात्र होइन, उक्त पार्टीका नेताहरुको व्यवस्थापनमा पनि माओवादीभित्र तनाव देखिन थालेको छ । बाबुरामलाई दोस्रो वरीयता दिएपनि अध्यक्षकै हैसियतमा रहेका महेन्द्रराय यादव सहअध्यक्ष रहेका गंगा नारायण श्रेष्ठलाई कुन पद दिने भन्ने समस्या परेको छ ।
श्रेष्ठ माओवादीभित्र जुनियर नेतामा पर्छन् । पार्टी फुटेकै कारण सहअध्यक्ष भएका हुन् । माओवादीमै रहेका भए स्थायी कमिटीसम्म पुग्न सक्थे । अब उनलाई एकताको नाममा पदाधिकारी बनाउनुपर्ने हुनसक्छ । सोहीकारण माओवादीभित्र असन्तुष्टि देखिन थालेको हो । बाबुराम भट्टराईको पार्टीमा लागेकै कारण विश्वदीप पाण्डे पनि केन्द्रीय कमिटीमा रहेका छन् जबकि उनी पनि धेरै जुनियरमा पर्छन् । अनि, केही अधिकारकर्मीहरु पनि बाबुरामको पार्टीमा लागेका कारण अचानक नेता बनेका छन् । उनीहरुलाई कसरी पार्टीको उच्च तहमा समेट्ने भन्नेमा माओवादीभित्र झमेला सुरु भएको पनि माओवादी केन्द्र स्रोतको भनाइ छ ।
नेपाल समाजवादी पार्टीको नेतृत्व तहमा १) डा. बाबुराम भट्टराई (अध्यक्ष), २) महिन्द्र राय यादव (अध्यक्ष), ३) गंगानारायण श्रेष्ठ (सह–अध्यक्ष), ४) हिसिला यमी (उपाध्यक्ष), ५) भक्तबहादुर शाह (उपाध्यक्ष), ६) दुर्गा सोब (उपाध्यक्ष) र ७) रमेशप्रसाद यादव (महासचिव) सहित पदाधिकारीमा रहेका छन् । नेसपाको केन्द्रीय समिति पनि जम्बो नै रहेको छ । नेसपाको जम्बो केन्द्रीय समिति पनि मञ्जु मिक्चन तामा¨ सहित १८८ जनाको रहेको छ । यसैको व्यवस्थापनका लागि माओवादी केन्द्रमा लफडा सुरु भएको स्रोत बताउछ ।
स्रोतका अनुसार, त्यसकारणले प्रचण्डमाथि माओवादी केन्द्रका जुनियर नेताहरु पनि एकताको नाममा नेसपाका जुनियरलाई सिनियर बनाउन नहुने दबाब बढाउन लागेको खबर छ । (साँघु साप्ताहिक, २०८० मंसिर २५)




